काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा रेबिज एक गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ, जहाँ देशको कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा उच्च जोखिम क्षेत्रमा बसोवास गर्छन् र बालबालिका विशेष जोखिममा रहेका छन् ।
वार्षिक सवा दुई लाखभन्दा बढी टोकाइका घटना
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व रेबिज दिवस २०२६ को अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१ र ८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटनाहरू दर्ता भएका छन् ।
तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ भने नेपालमा हुने मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग नै सम्बन्धित रहेका छन् ।
विश्वव्यापी रूपमा हेर्दा हरेक वर्ष अनुमानित ५९ हजार ९१० जना मानिसको रेबिजका कारण मृत्यु हुने गर्छ । यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत मृत्यु अफ्रिकी मुलुकहरूमा हुने गर्दछ ।
रेबिजबाट ज्यान गुमाउने कुल संख्यामध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् ।
सन् २०३० सम्म शून्य मृत्युको लक्ष्य
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्युलाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य लिएको छ । यस लक्ष्य प्राप्तिका लागि नेपालका सातै प्रदेशमा रेबिज निवारण रणनीति तथा रोडम्याप विकास गरिएको छ ।
रेबिज नियन्त्रणका लागि नेपालले मानव स्वास्थ्य, पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण तथा स्थानीय तहबीच समन्वय कायम गर्दै ‘एक स्वास्थ्य अवधारणा’लाई प्राथमिकतामा राखेर कार्यहरू अघि बढाएको छ। हाल देशभरका २८६ वटा सेवा केन्द्रमार्फत रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराइँदै आएको छ ।
तत्काल सही उपचार र प्राथमिक सावधानी
रेबिज घातक रोग भए तापनि समयमै उचित उपचार पाएमा यसको रोकथाम शतप्रतिशत सम्भव छ । जनावर वा कुकुर र बिरालोले टोकेमा वा चिथोरेमा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनु हुँदैन ।
रेबिजको लक्षण देखिएपछि उपचार सम्भव नहुने र यो शतप्रतिशत घातक हुने भएकाले जनावरको टोकाई लगत्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप तथा उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्छ ।
साथै घरायसी कुकुर तथा बिरालोलाई नियमित रेबिजविरुद्धको खोप लगाउन र बालबालिकालाई जनावरहरूसँग सुरक्षित व्यवहार गर्न सिकाउन पनि महाशाखाले आग्रह गरेको छ ।














प्रतिक्रिया