काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय चिकित्सकहरूमाथि कलेज प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षको ध्यानाकर्षण गराएको छ । संघले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेर पठाएको हो । संघका अनुसार नेसनल मेडिकल कलेजमा अध्ययनरत एमडीरएमएस प्रथम वर्षका चिकित्सकहरू गत भदौ ३१ गतेदेखि आन्दोलनरत रहेका छन् ।
अहोरात्र स्वास्थ्य सेवामा खटिने आवासीय चिकित्सकहरूलाई कलेज प्रशासनले अनावश्यक मुद्दा लगाई मानसिक दबाब दिने, सार्वजनिक बिदाका दिनमा बिदा नदिने र सरकारी आठौँ तह सरह पाउनुपर्ने निर्वाह भत्ता रोक्ने जस्ता कार्य गरेको पत्रमा उल्लेख छ । यसका साथै बिनाकारण गयल कट्टी गरी मानसिक यातना दिने र कारवाही गर्ने गरिएकाले चिकित्सकहरू आन्दोलित हुन बाध्य भएको जनाइएको छ ।
आवासीय चिकित्सकहरूले उठाएका जायज मागका विषयमा कलेज व्यवस्थापन पक्षसँग पटक(पटक छलफल भए तापनि मागको कुनै सम्बोधन नभएको र प्रचलित कानुन तथा श्रम ऐन विपरीत दबाब सिर्जना गरिएको संघले जनाएको छ । त्यसैले चिकित्सकहरूलाई भयरहित वातावरणमा अध्ययन र स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन संघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको छ । यदि कलेज प्रशासनले यी मागहरू तुरुन्त सम्बोधन नगरेमा चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारवाही प्रक्रिया अघि बढाउनसमेत संघले जोडदार माग गरेको छ ।














प्रतिक्रिया