चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा गरे । अधिकारको विषयमा अलमल भएपछि उनले काजी मरिचमान, काजी रत्नमान र मिसु नारायणभक्तलाई बोलाएर सोधे– ‘म कमान्डर ईन चिफ भएपनि मेरो अधिकार चन्द्रशमशेरले नै उपयोग गरे । अब म महाराज भएँ । त्यो अधिकार मैले नै लिने कि कमान्डर ईन चिफलाई दिने ?’ विधिको प्रश्न थियो । काजीहरू अक्क न बक्क परे । रत्नमान काजीले बिन्ती बिसाए– ‘महाराज, यसको जवाफ हामीभन्दा पुराना दरबार जानेका सुब्बा कालिदासलाई सोध्नुपर्छ ।’ महोत्तरीको सुदूर गाउँमा रहेका कालिदास सुब्बालाई झिकाउ भन्ने आदेशानुसार तार गयो । कालिदास काठमाडौँ आएर नयाँ महाराजको दर्शन गरे ।
कालिदासलाई समस्या सुनाइयो । उनले जवाफ दिए– ‘जसको अख्तियार हो, उसैलाई दिनुपर्छ । नीति यही हो महाराज ।’ यसरी जुद्धशमशेरले आफ्नो अधिकार अनुसार काम गर्न पाए । कालिदास तुरुन्तै कौसलका मीर सुब्बा बनाइए । सुशासन भनेको मानिसको शरीरभित्रको रक्तसञ्चारजस्तै हो । मुटु, मिर्गौला, फोक्सो, कलेजोले आफ्नै तरिकाले काम गर्छन्, तर तपाईंको नियन्त्रणमा बस्दैनन् । त्यसलाई कति सक्षम र सबल बनाउने भन्ने मानिसको दायित्व भएजस्तै राज्य सञ्चालकले पनि यो अनुशासनलाई लत्याउनु हुँदैन ।
राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सबैलाई अमृत बाँड्छ । स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ ।
भारतका लोकप्रिय नेता चौधरी चरणसिंहले सत्तामा आएलगत्तै अनियमित काममा संलग्न हजारौँ सरकारी लेखापाललाई पदमुक्त गरे । खोइ, उनको राजनीतिक लोकप्रियतामा कहिल्यै कमी आएन । विहारमै बसेर उनी सम्पूर्ण भारतको शासन चलाउँथे । राम्रो काम गर्न मार्क्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, एउटा कमिलालाई हेरे पुग्छ– जसले आफूभन्दा दसौँ गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ । त्यही अपजसी मुसा जसले समुद्रपारीबाट ल्याएर पृथ्वीमा अन्नको चिनारी गराएको विश्वास गरिन्छ । अझ राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सबैलाई अमृत बाँड्छ । स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ ।
अनुकूलका नेता सत्तामा पुग्दा लोकतन्त्र हाँस्ने, सडकमा पुगेपछि लोकतन्त्रमा ग्रहण लाग्ने मुलुक कुन हो ? कुन भूमिमा क्रान्ति कहिल्यै समाप्त हुँदैन ? जनताको रासनभन्दा नेताको भाषण बिक्ने तन्त्र कुन देशमा छ ? मतदाताभन्दा नेता सस्तो भएको अनौठो राज्य कुन हो ? राजनीतिले सेवा नभएर दलाली र जागिरको मर्यादा कुन देशमा पाएको छ ? गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शव बाहनलाई हतारो हुने देश कुन हो ? लोकसेवाको पाठ्यक्रम परिवर्तन गरेर यी प्रश्न बनाइएको खण्डमा परीक्षार्थीले सग्लो उत्तर दिनेछन्– नेपाल । आफैँले गरेको त्याग र सङ्घर्ष विरुद्ध डेढ दशकमै प्रतिक्रान्तिका लागि जनता उचाल्ने घृणित खेलले राजनीतिलाई सामान्य शिष्टताभन्दा पनि रसातलमा जाकेको छ ।
नयाँ हुन् या पुराना नेताहरूसँग बाँकी रहेको दुई विकल्प छ– सकिने कि सच्चिने ?
अल्बर्ट आइन्स्टाइनले उसैबेला मानिसभित्र साहस भर्दै भनेका थिए– ‘हिजोबाट सिक, आजका लागि बाँच, भोलिको आशा गर । महत्वपूर्ण यो छ कि प्रश्न गर्न कहिल्यै नछोड ।’ अहंकारले के हुन्छ ? रामायणको सानो अंश ग्रहण गरे पुग्छ । रावणसँग सुनको लङ्का थियो । समुद्रको पानी गुलियो बनाउने, मर्त्यलोक र पाताललोक सुनको सिँढीले जोड्ने योजना थियो । ज्योतिष, तन्त्रमन्त्रमा दक्ष थिए । सङ्गीतका वाचाल बादशाह मानिने यिनले शिव ताण्डव स्तोत्रको रचना गरेको मानिन्छ । भगवान शिवका परमभक्त रावण युद्धकला, राजनीति, प्रशासन, अस्त्रशस्त्रमा निपूर्ण थिए । यस्ता बहुआयामिक व्यक्तित्वको छविलाई एउटा मात्र कमजोरी अहंकारले सिध्यायो । नयाँ हुन् या पुराना नेताहरूसँग बाँकी रहेको दुई विकल्प छ– सकिने कि सच्चिने ? प्रधानमन्त्री निवास खातिर चन्द्रशमशेरले बनाएको सिंहदरबार नेपाली जनताको भाग्य, भविष्य कोर्ने भ्रम बोकेको राज्य संरक्षित अखडा हो । चन्द्रशमशेरले दरबार बनाउने नाममा बज्र निर्माणका लागि गाउँगाउँबाट सुत्केरीको मुखबाट खोसेर कालोमासको दाल सरकारलाई बुझाउन उर्दी जारी गरे । यो भक्तिभावको मुखुण्डो त्यतिबेला उत्रियो, जतिबेला २५ लाखमा बनेको सिंहदरबार उनले एक करोड ७५ लाख नाफा कुम्ल्याएर दुई करोडमा सरकारलाई नै बेचे ।
चन्द्रशमशेरकाे मुखुण्डो त्यतिबेला उत्रियो, जतिबेला २५ लाखमा बनेको सिंहदरबार उनले एक करोड ७५ लाख नाफा कुम्ल्याएर दुई करोडमा सरकारलाई नै बेचे ।
ढुकुटी मजबुत बनाउनुपर्ने दायित्व बोकेका कार्यकारी व्यक्तिले नाङ्गो दोहन गरे । सिंहदरबार बनाउँदा प्रयोग भएका हरेक इँटामा जनताको सपनाको सट्टा भ्रष्टाचार र व्यभिचारको बीउ रोपिएको थियो । जंगबहादुरले ढुकुटीमा ११ करोड छोडेर गएका थिए । रणोद्दीप र वीरशमशेर आर्थिक मामलामा बदनाम भएनन् यद्यपि भोट तिब्बतका लडाइँलाई हतियार किन्न भनेर तिनै चन्द्रशमशेरले २ करोड ५० लाख निकाले । जुद्धशमशेरले १९९० सालको भुइँचालोमा आपतकालीन स्थितिका नाममा एक करोड ५० लाख निकालेर केही खर्च गरी अरु खल्ती भरे । जुद्धशमशेरले राज्य त्याग गरी जाँदा दुई करोड ५० लाख झ्वाम पारे । मौज्दातमा रहेको दुई करोड ५० लाख मोहनशमशेरले उडाए । २००७ सालमा प्रजातन्त्र घोषणा हुँदा ढुकुटी खाली थियो । ११ करोडको हिसाब अझै इतिहासमा बेहिसाब बनेर बसेको छ । त्यसको दायित्वबोध कसैले गरेको छैन ।
२००७ सालमा प्रजातन्त्र घोषणा हुँदा ढुकुटी खाली थियो । ११ करोडको हिसाब अझै इतिहासमा बेहिसाब बनेर बसेको छ । त्यसको दायित्वबोध कसैले गरेको छैन ।
स्याउ काँचै भएपनि तीतो हुँदैन । यो उसको गुण हो । राजनीतिमा परिपक्वता बिनाको लचकताको अर्थ छैन । क्रान्ति भनेको ध्वंश नभई विचारको ताजगी मात्रै हो भन्ने तथ्यलाई हेक्का राख्न जरुरी छ । हिटलर, मुसोलिनी, इदिअमिन, विन लादेन, सद्दाम हुसेनदेखि जंगबहादुरसम्मका पात्र कुनै दिन दालभात डुकू पीडित थिए । यस्तै अवसरवादी र छाते च्याउजस्तो मनोविज्ञानका मानिसहरूको भीडले उनीहरूलाई निर्दयी शासक बनायो । ‘यो राज्ये दुई ढुंङ्गाको तरुल जस्तो रहेछ ।’
साँचो अर्थमा नेताहरू कार्यकर्तामाझ घोडाभन्दा अघि देखिएको बग्गीजस्ता भएका छन् । तर मुखुण्डो फेरेर अनुहार त किन फेरिन्थ्यो र ? आफ्नै चेला चपाटीहरूको नजरमा उनीहरू निर्देशित रोबर्टभन्दा माथि उठ्न सकेका छैनन् । बरु तिनीहरूको चरित्र दूधचोर बिरालाको जस्तो भएको छ । जसले दूध खाएको देखिँदैन तर कुटाई खाएको सबैले देख्छन् ।
यदि राजनीतिमा नैतिकता नामको कुनै पदार्थ जीवित हुन्थ्यो भने समकालीन राजनीतिका सारथीहरूले नाकका चालमा सत्ताको लालचा छोडनु पर्थ्याे । मार्टिन लुथर किङ्ग भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरूको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’
जिन्दगीमा जब ठूलाठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन ।
विश्वको राजनीतिक ढाँचा कायाकल्प हुँदा एउटै व्यक्ति ढ्याक बनेर उपस्थित छ । सात दशकको अविराम संघर्षपछि प्राप्त संविधान उनीहरूका लागि कपाली तमसुक जस्तो भएको छ । राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का उनीहरूले एकरत्ति राखेका छैनन् । उनीहरूलाई थाहा छैन लाखौँको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ‘ताल्चा’ थियो । जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न विभत्स युद्धको बीउ रोपिएको थियो । त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुइ फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनु मानिएको थियो ।
जिन्दगीमा जब ठूलाठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । चाल्स डिकेन्सले आफ्नो पुस्तक ‘अल द इयर राउण्ड’मा लेखेका छन्– ‘कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउने छन्, जो सानो भन्दा सानो कुरामा ध्यान दिन्छ ।’
अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशूल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो । आत्मअनुशान हो । यो खैँजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरू आफैँ खरानी हुने निश्चित छ ।
साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो ।
अंग्रेजकालिन भारतमा उतिबेलै नेपाली दूतहरूलाई गुप्तचरी गरेको अभियोगमा अंग्रेजहरूले देश निकाला गरेका थिए । सन् १८३९ मा सिम्लाका गभर्नर जनरल जर्जलर्ड अकनन्दले नेपालका महाराज राजेन्द्र विक्रम शाहलाई पठाएको चिट्ठीमा भनिएको छ– ‘….तपाञिका मानिसहरू बसिरहँदा मैले हाम्रा मजिष्टरहरूलाई हुकूम दी. जबर्दस्ति ती मानिसहरूलाइ निकाल्नुपर्याे. तिनहरूले हाम्रा दुवै सर्कारको दोस्ति र षुलासां बेबाहार जो मैले सधै रहोस् भनि इरादा राष्याको थियो. उसैमा षतरा पारिदिया. नेपालबाट वकील् हिन्दुस्थानका दर्बार दर्बारमा जान्या मुनासिब् केही थियेन.जरुरि चाहिन्या पनि केहि होइन. तपाञिका दिल्ले देष्याको मक्सद् गुप्ति षवरसंग बन्दोबस्त होला. जब गुप्तिसंग गयाका तपांञिका मानीस्हरू सबै झिकायापछि तेस काम्लाई मिस्तर हाज्सन्का जवानि तपाञिलाई थाहा हुन्याछ ।.’
साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन । कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । भगवान गौतम बुद्धले भनेका छन्– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ ! न भोलि हुनेछ ।’ बुद्ध वाणी सम्झेर हामी उच नीचबाट माथि उठ्नु आवश्यक छ । त्यही भात थालमा हुन्जेल भात हुन्छ तर थालबाट झरेपछि जुठो । जिन्दावादका हात मुर्दावादमा उठ्न कतिबेर पनि लाग्दैन । नेपाली जनतालाई जनताको परिचयबाट नामेठ गरेर दलका दलाल बनाउने प्रयास जुनसुकै दलले गर्दै आएका छन् । तर हेक्का रहोस्– चिकित्सक संघ हुन्छ तर रोगी संघ किमार्थ हुँदैन ।
मानिसका बोलीका तीन प्रकार हुन्छन्– एकथरि जिब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरू मन र मस्तिष्कले बोल्छन् ।
आवरणमा जे देखिए पनि यथार्थ अलग हुन्छ । जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नाे आकार बनाउने पानी जस्तै हो जनता । जुनबेला कुनै नागरिक एउटा नाङ्गो चक्कु बोकेर हिँड्दा प्रमुख समाचार बन्थ्यो, त्यो समय मोहनचन्द्र अधिकारीले पनि क्रान्तिका नाममा मान्छे ठुन्क्याउने खेती गरेकै हुन् । प्रकारान्तरमा उनले कस्तो नियतिमा आफूलाई ढाल्नु पर्याे ? सबैले देखेकै छ । मानिसका बोलीका तीन प्रकार हुन्छन्– एकथरि जिब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरू मन र मस्तिष्कले बोल्छन् । नेताहरू तेस्रो खाले हुन सके भने मात्र देशमा खाँटी लोकतन्त्रको अभ्यास हुनेछ ।














प्रतिक्रिया