काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा मनोनित केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेकाले मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।
उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने, र विना बर्दीका प्रहरी प्रयोग गरी बलजप्ती र गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए ।
ओलीले देशी–विदेशी तथा आन्तरिक–बाह्य सबै शक्तिहरू एकजुट भएर सिद्ध्याउन खोज्दा पनि एमाले मजबुत हैसियत र लोकप्रिय मतका साथ उभिएको धारणा राखे ।
उनले अघिल्लो चुनाव पारदर्शी नभएको र प्रतिगमनको दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै आगामी दिनमा एकता र अनुशासनका साथ अगाडि बढेर जित हासिल गर्नुपर्नेमा जोड दिए ।
पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सैह्य नहुने भन्दै अध्यक्ष ओलीले यसलाई अन्त्य गर्नुपर्ने बताए। आफ्नै पार्टी, नेतृत्व वा नीतिको विरुद्धमा बाहिर सार्वजनिक रूपमा बोल्नु संस्थागत नियम विपरीत भएकाले सचेत रहन उनले आग्रह गरे ।














प्रतिक्रिया