सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै « Khabarhub

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ ।

केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाई आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ । छपाई परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ ।

‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाई सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालय पठाइएको तिमिल्सिनाले जानकारी दिए । विभाग र केन्द्रबिच गत वैशाख ४ गते ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको छपाईको काम सुरु गरिएको हो । तिमिल्सिनाका अनुसार विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो भने त्यसपछि असारमसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो । ‘केही सङ्ख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ’, तिमल्सिनाले भने ।

केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो । गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी निए ।

केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ जना कर्मचारीलाई खटाएको जनाइएको छ । यस्तै केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई छ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो ।

केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिनेछन् । पार्कभित्रै खानेपानीका लागि एक–एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएका छन् । प्रेस पूर्णरूपमा सञ्चालनमा ल्याइए सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब जोगिने अपेक्षा गरिएको छ ।

२०५७ सालमा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ७ : २४ बजे

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न संयुक्त पहल

भोजपुर– भोजपुरको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

सुर्खेत- कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

हुम्ला– हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट किसानले आठ करोड