डायस्पोरा साहित्यको उद्गम भनेकै जन्मभूमि « Khabarhub

डायस्पोरा साहित्यको उद्गम भनेकै जन्मभूमि



जीवनमा धेरै मानिसको चाहना उचाइमा पुग्ने, नाम कमाउने र सफलताको शिखर चुम्ने हुन्छ। तर एक स्रष्टाको चाहना भने त्यसको ठीक विपरीत छ। उनी शिखरमा होइन, फेदमा बसेर जीवन बिताउन चाहन्छन्। उनका लागि शिखरमा पुगेर केही समय रमाउनुभन्दा सामान्य मानिससँग घुलमिल भएर सन्तुष्ट जीवन बाँच्नु ठूलो कुरा हो।

‘म चाहिँ फेदमा जिउन चाहन्छु। फेदमा जिउँदा सबै मान्छे भेटिन्छन्। शिखरमा भेटेको मान्छे एकछिन मात्रै हुन्छ,’ उनले भने।

खबरहबसँगको कुराकानीमा उनले आफ्नो साहित्यिक यात्रा, प्रवासको अनुभव, नेपाली साहित्यको अवस्था, समाजसेवाप्रतिको रुचि र जीवनबारेको दृष्टिकोण खुलेर व्यक्त गरे।

भोजपुरमा बाल्यकाल बिताएका उनले सानैदेखि लेख्न थालेका हुन्। पहिलो कविता कहिले लेखे भन्ने उनलाई ठ्याक्कै सम्झना छैन। तर चार–पाँच कक्षामा पढ्दातिरै लेखनमा रुचि जागेको उनको सम्झना छ। ‘आमा’ शीर्षकको कथा पनि उनले सानैमा लेखेका थिए, जुन एउटा पत्रिकामा प्रकाशित भएको थियो।

उनको बाल्यकाल बितेको भोजपुरको पोखरे लाइन साहित्य, राजनीति र सङ्गीतको प्रभाव रहेको ठाउँ थियो। मञ्जुल र प्रदीप नेपालजस्ता व्यक्तित्वको घरपरिवार र परिवेशसँग नजिक रहेर हुर्किने अवसर पाएका उनले त्यही वातावरणलाई आफ्नो सिर्जनात्मक चेतनाको जग मानेका छन्।

‘हाम्रो टोल नै साहित्यिक, सङ्गीतमय र राजनीतिक वातावरण भएको ठाउँ थियो। वरिष्ठ दाइहरूका हातमा सधैँ पत्रपत्रिका देखिन्थे। त्यही पढ्दै जाँदा लेख्न मन लाग्यो,’ उनले सुनाए।

विद्यालयमा हुने साहित्यिक प्रतियोगितामा सहभागी हुँदै उनको लेखन यात्रा अघि बढेको थियो। पछि लेखनसँगै सामाजिक गतिविधिमा पनि उनको संलग्नता बढ्दै गयो।

रहरभन्दा बाध्यताले विदेश पुर्‍यायो

नेपालबाट हङकङ पुगेको उनको यात्रा भने रहरभन्दा बढी बाध्यताको उपज थियो। काठमाडौँमा बसेर लेखन र अन्य गतिविधिमा सक्रिय हुँदाहुँदै पनि आर्थिक अवस्था, बेरोजगारी र तत्कालीन सामाजिक परिस्थितिले उनलाई विदेशिन बाध्य बनायो।

हङकङ जानुअघि उनी साउदी अरब पनि पुगेका थिए। त्यसबेला काठमाडौँको अवस्था अहिलेको जस्तो नभएको उनको अनुभव छ। रोजगारीका अवसर सीमित थिए। बाहिरबाट आएका मानिसलाई कोठा पाउनसमेत कठिन थियो। घरधनीसँग कोठा माग्न र आफ्नो अवस्था बुझाउन निकै सङ्घर्ष गर्नुपर्थ्यो।

’धेरै कुरा बाध्यताले विदेश जानुपर्ने अवस्था थियो। थोरै रहर पनि थियो। त्यसबेला नेपालमा राम्रो लुगा, जुत्ता लगाउन पाउनु पनि ठूलो कुरा हुन्थ्यो। विदेशबाट आएका सामानप्रति आकर्षण थियो,’ उनले विगत सम्झिए।

नेपाल छोडेर विदेश जाँदा आफूलाई निकै पीडा भएको उनले बताए। त्यसबेला उनी लेखन र सिर्जनामा सक्रिय थिए। आफ्ना रचना पत्रपत्रिकामा प्रकाशित हुन थालेका थिए। त्यही समयमा विदेशिनुपर्दा आफूले बनाउँदै गरेको साहित्यिक पहिचान र सिर्जनाको संसार छाड्नुपरेको विषादपूर्ण अनुभूति भएको उनको भोगाइ छ।

प्रवासमा नेपाली साहित्य, अलमलको अवस्था

हङकङमा डेढ दशक बढी समय बिताइसकेका उनी त्यहाँको नेपाली साहित्यलाई अझै पनि नेपालकेन्द्रित मान्छन्। प्रवासमा रहेर पनि नेपाली समाज, संस्कृति, पहिचान र नेपालको परिवेशलाई साहित्यमा उतार्ने अग्रज स्रष्टाहरूले महत्त्वपूर्ण काम गरेको उनको मूल्याङ्कन छ।

देश सुब्बा, राजकुमार राई, टङ्क सम्बाहाम्फे, भूपेन्द्र चेम्जोङ, नरेश सुनुवार, किशन राईलगायतका स्रष्टाले हङकङमा नेपाली साहित्यको विकासमा योगदान गरेको उनले स्मरण गरे। उनीहरूका सिर्जनामा नेपालसँगै हङकङको जनजीवन, गोर्खा इतिहास, जनजाति र प्रवासी नेपालीका अनुभवसमेत समेटिएको उनको भनाइ छ।

अहिले भने हङकङको साहित्यिक गतिविधिमा केही अलमल देखिएको उनको टिप्पणी छ। उनका अनुसार साहित्यमा सिर्जनाको गहिराइभन्दा प्रचार र सम्पर्कको प्रभाव बढी देखिन थालेको छ।

‘साहित्य सम्पर्कको आधारमा चल्ने विषय होइन। लेख्ने मान्छेको सिर्जना र अध्ययनको मूल्याङ्कन हुनुपर्छ,’ उनले भने।

उनले साहित्यमा रुचि राख्नु र वास्तविक लेखन क्षमता विकास गर्नु फरक कुरा भएको पनि बताए। उनका अनुसार रहरले लेखनमा आउनेहरू धेरै भए पनि अध्ययन, साधना र विधागत ज्ञानमा पर्याप्त ध्यान दिनेहरू कम छन्।

लेखनभन्दा पहिले अध्ययन र साधना

आफूलाई सबैभन्दा मन पर्ने विधा भने समीक्षा लेखन भएको उनले बताए। तर समीक्षा लेख्न पर्याप्त अध्ययन आवश्यक पर्ने भएकाले यसलाई सहज विधाका रूपमा लिन नहुने उनको बुझाइ छ।

‘मलाई समीक्षा लेख्न साह्रै मन पर्छ। तर त्यसका लागि धेरै अध्ययन गर्नुपर्छ। तपाईंले एउटा समीक्षा गर्नुभयो भने अरूले पनि त्यसलाई हेर्छन्। त्यसैले के लेखियो भन्ने कुराको महत्त्व हुन्छ,’ उनले भने।

उनका अनुसार लेखनका लागि समयभन्दा बढी अध्ययन र साधनाको आवश्यकता हुन्छ। व्यस्तता सिर्जनाका लागि बाधक नभई सिर्जनाको माध्यमसमेत बन्न सक्ने उनको धारणा छ।

‘लेख्ने मान्छेका लागि व्यस्तता नै सिर्जनाको माध्यम हुन सक्छ। अध्ययन छ भने कुनै विषयमा लेख्न त्यति गाह्रो हुँदैन। लेख्नका लागि सबैभन्दा पहिले अध्ययन चाहिन्छ,’ उनले भने।

सङ्घर्षले जन्माएको समाजसेवाको भावना

साहित्यसँगै समाजसेवामा सक्रिय हुनुको कारणबारे उनले आफ्नो बाल्यकालीन सङ्घर्षलाई स्मरण गरे। उनले सानैमा आमा गुमाएका थिए। बुवाले उनलाई खोटाङबाट भोजपुर ल्याएर हुर्काएका थिए। बुवाले अर्को विवाह नगरी छोरालाई पढाउन र हुर्काउन गरेको सङ्घर्ष उनको जीवनको महत्त्वपूर्ण आधार बन्यो।

आफूले जीवनमा भोगेको अभाव र सङ्घर्षले अरूको दुःख बुझ्न सिकाएको उनको भनाइ छ।

‘एक्लै सङ्घर्ष गरेको मान्छेले कहिल्यै एक्लै खाऊँ भन्दैन रहेछ। धेरैबाट लुट्ने मान्छेले एक्लै खाऊँ भन्छ, तर एक्लै जिएको मान्छेले बाँडेर खाऊँ भन्छ,’ उनले भने।

उनका अनुसार समाजसेवाको भावना कुनै एउटा घटनाबाट मात्र जन्मिने होइन। आफूले भोगेको दुःख, अभाव र जीवनका अनुभवले मानिसलाई अरूको पीडाप्रति संवेदनशील बनाउँछन्।

कलमले समाजको गहिराइ बदल्छ

समाज परिवर्तनमा कलम र सेवामध्ये कुन बढी प्रभावकारी हुन्छ भन्ने प्रश्नमा उनले दुवैको भूमिका फरक रहेको बताए।

उनका अनुसार समाजसेवाले मानिसको तत्कालीन आवश्यकता पूरा गर्न र जीवनको सतहमा परिवर्तन ल्याउन सक्छ। तर समाजको गहिराइसम्म पुगेर सोच र चेतना बदल्न अध्ययन र विचार आवश्यक हुन्छ। त्यसका लागि कलमको भूमिका महत्त्वपूर्ण हुने उनको बुझाइ छ।

‘सामान्य मान्छेले सोच्दा सेवाले समाज बदल्छ जस्तो लाग्छ। तर सेवाले सतहसम्म मात्रै बनाउँछ, गहिराइसम्म पुग्न कलम चाहिन्छ, अध्ययन चाहिन्छ,’ उनले भने ।

नेपाल बस्न नसकिने अवस्थामा छैन

विदेशमा बस्ने नेपालीको अनुभव र नेपाल छाड्ने तयारीमा रहेका मानिसको सन्दर्भमा उनले पछिल्लो समय आफ्नो दृष्टिकोण परिवर्तन भएको बताए।

दुई–तीन वर्षअघि सोधिएको भए नेपाल बस्न नसकिने अवस्था आएको छ भन्ने जवाफ दिन सक्ने भए पनि अहिले भने आफूलाई त्यस्तो नलाग्ने उनको भनाइ छ।

काठमाडौँका सडक, सार्वजनिक कार्यक्रम र बदलिँदो वातावरण देख्दा नेपालमा पनि धेरै सकारात्मक परिवर्तन भएको उनले महसुस गरेका छन्।

‘अहिले मलाई गाडी चढ्नभन्दा हिँड्न मन लाग्छ। हामीले पहिले पनि दुःखमा सुख पाएका रहेछौँ। अहिले देश बन्दै छ जस्तो लाग्छ,’ उनले भने।

उनका अनुसार नेपालमा अझै उपकरण, पानी, सरसफाइजस्ता समस्या छन्। तर ती समस्या समाधान हुँदै जाने र देशको अवस्था सुधारिने सम्भावना देखिएको छ।

शिखरको मोहभन्दा सन्तुष्ट जीवनको खोजी

आगामी एक दशकमा आफूलाई कहाँ देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले आफू शून्यतिर जान चाहेको बताए। उनको चाहना अब धेरै तामझाम, प्रचार र सामाजिक प्रतिष्ठाको पछाडि दौडिने होइन।

उनका अनुसार अहिले मानिसहरू हिमालको शिखर चढ्न चाहन्छन्, तर शून्यमा अर्थात् सामान्य जीवनमा रमाउन सक्ने मानिस कम छन्।

‘मलाई कहीँ पुग्नु छैन। सामान्य जिन्दगी चलोस्। घरमा स्रष्टाहरू, लेख्ने मान्छेहरू र वास्तविक मानिसहरू आऊन्। साथीभाइसँग घुलमिल भएर बाँच्न पाइयोस्,’ उनले भने।

उनले आफूलाई पहिलेझैँ सामान्य रूपमा चिन्ने र बोलाउने मानिससँगको सम्बन्धलाई नै जीवनको वास्तविक सम्पत्ति मानेका छन्। उनका लागि ठूलो नाम, पद वा प्रतिष्ठाभन्दा आत्मसन्तुष्टि र मानवीय सम्बन्ध महत्त्वपूर्ण छन्।

‘शिखरमा एक मिनेट बसेर चार मिनेट हल्ला गर्ने अनि जिन्दगीभर हराउने जीवन मलाई मन छैन। ठिक्क जे छु, त्यसैमा जिउन चाहन्छु,’ उनले आफ्नो जीवनदर्शन सुनाए।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १२ : २१ बजे

सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना बनाइने

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित

ढोरपाटन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो, ३५ किलोमिटर लाइन सञ्चालनमा

बागलुङ-  जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको

डायस्पोरा साहित्यको उद्गम भनेकै जन्मभूमि

जीवनमा धेरै मानिसको चाहना उचाइमा पुग्ने, नाम कमाउने र सफलताको

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

नयाँदिल्ली– भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन

मुस्ताङ– मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा