काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ गरिएको छ ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालित अभियानअन्तर्गत शनिबार वाग्मती नदीको मुहान क्षेत्र र गोकर्णेश्वर महादेव मन्दिर आसपास सरसफाइ गरिएको हो ।
वाग्मती नदीको मुहान क्षेत्र नै प्रदूषित हुन थालेपछि उक्त क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती नदी किनार र गोकर्णेश्वर महादेव मन्दिर वरपर सरसफाइ गरिएको थियो ।
सफाइ अभियानमा काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, स्थानीयवासी, वाग्मती माथिल्लो सरसफाइ अभियान तथा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी सहभागी थिए ।
यसैबीच, सफाइ अभियानकर्मी खगेन्द्र कार्कीको जन्मदिनको अवसरमा गोकर्ण ड्याम क्षेत्रमा वाग्मती नदीमा माछाका भुरा छोडिएको छ भने गोकर्णेश्वर महादेव मन्दिर नजिक रुद्राक्षको बिरुवा रोपिएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका सहायक नदी, चक्रपथका विभिन्न खण्ड तथा सम्पदा क्षेत्रमा नियमित सरसफाइ गर्दै आएको छ ।
यस अभियानबाट प्रेरित भएर उपत्यकाबाहिरका मुख्य नदी, सहर तथा सम्पदा स्थलमा पनि सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । हाल देशभर १११ भन्दा बढी स्थानमा सरसफाइ अभियान सञ्चालन भइरहेको जनाइएको छ ।

















प्रतिक्रिया