काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जित हासिल गर्ने सम्भावना देखिएको छ । यसले प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीलाई ठूलो राजनीतिक धक्का दिन सक्ने अनुमान गरिएको छ ।
अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्न रहेको भिक्टोरियामा मध्यवामपन्थी लेबर पार्टीले १२ वर्षदेखि शासन गर्दै आएको छ । तर, निर्वाचनअघि सार्वजनिक भएका मतसर्वेक्षणले लिबरल पार्टीकी नेतृ जेस विल्सनको नेतृत्वमा रहेको कन्जरभेटिभ गठबन्धनले लेबरलाई सत्ताबाट हटाउन सक्ने देखाएका छन् ।
३६ वर्षीया विल्सनले अत्यधिक ऋणमा रहेको राज्यको वित्तीय अवस्था सुधार्न खर्च नियन्त्रण र आर्थिक अनुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सार्वजनिक न्युसपोल सर्वेक्षणले लिबरल–नेसनल गठबन्धनको पक्षमा ठूलो मतान्तर देखाएको थियो ।
वर्तमान मुख्यमन्त्री बेन क्यारोललाई पराजित गर्न सके विल्सन भिक्टोरियाको पहिलो महिला लिबरल मुख्यमन्त्री बन्नेछन्। उनले राज्यको ऋण घटाउन २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिकी डलर) बराबरका आर्थिक सुधारका योजना अघि सारेका छन् । तीमध्ये ढल निकास प्रणाली निजीकरण गर्ने प्रस्ताव विवादमा परेको छ ।
‘यो निर्वाचन मानिसहरूले सोचेभन्दा बढी प्रतिस्पर्धात्मक हुनेछ’, उनले च्यानल सेभेनसँग भनेका छन्।
भिक्टोरियालाई अस्ट्रेलियाको राष्ट्रिय राजनीतिक प्रवृत्तिको सङ्केत दिने राज्यका रूपमा हेरिन्छ । यहाँ लेबर पराजित भएमा दोस्रो कार्यकालको मध्यावधिमा रहेका प्रधानमन्त्री अल्बानिजमाथि थप राजनीतिक दबाब बढ्न सक्नेछ ।
जीवनयापनको बढ्दो लागतप्रति नागरिकको असन्तुष्टिका कारण उनको लोकप्रियता पनि घट्दै गएको छ ।
मध्यपूर्वमा जारी युद्ध र मुद्रास्फीतिको दबाबलाई कारण देखाउँदै अस्ट्रेलियाको केन्द्रीय बैंकले यसै महिना ब्याजदर बढाएर १८ वर्षयताकै उच्च स्तरमा पुर्याएको थियो ।
निर्वाचनका लागि मतदान केन्द्र स्थानीय समयअनुसार बिहान ८ बजे खुलेर साँझ ६ बजे बन्द भएका थिए । यद्यपि, लाखौँ मतदाताले यसअघि नै अग्रिम मतदान गरिसकेका थिए ।
यस निर्वाचनमा आप्रवासनविरोधी ‘वन नेसन’ पार्टीले पनि राज्य संसद्मा पहिलोपटक सिट जित्ने सम्भावना देखिएको छ । राष्ट्रिय स्तरमा पाउलिन ह्यान्सन नेतृत्वको उक्त पार्टी पछिल्लो समय राजनीतिक यथास्थितिप्रतिको असन्तुष्टिका कारण लोकप्रिय बन्दै गएको छ ।
ह्यान्सनले भिक्टोरियामा नयाँ सरकार गठनका क्रममा आफ्नो पार्टी निर्णायक बन्न सक्ने बताए । शनिबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले लेबर पार्टीको सम्भावित पराजयमा वन नेसनको महत्वपूर्ण भूमिका रहेको दाबी गरे।














प्रतिक्रिया