नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी « Khabarhub

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । 

गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सँगको सहकार्यमा गोरखाको आँपपीपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो । 

स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले एचए र स्टाफ नर्सको पढाइ सञ्चालनका लागि तदारुकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए। 

‘गत वर्ष नै पढाइ सञ्चालन गर्ने तयारी थियो, अनुमति लिने प्रक्रिया लम्बिएकाले सुरु हुन सकेन’, उनले भने, ‘मन्त्रालय र सिटीइभिटीबीच तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ, हामी त्यसमै लागिपरिरहेका छौँ ।’

‘सिटीइभिटी’ गण्डकी प्रदेश कार्यालयका प्रमुख शारदा घिमिरेले परिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्नेगरी तयारी भइरहेको बताए। शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले अनुमति दिने निर्णय गरेपछि पढाइ सञ्चालन हुने उनको भनाइ छ ।

‘प्रस्ताव तयार छ, परिषद्को आगामी बैठकमा पेस हुन्छ’, प्रमुख घिमिरेले भने, ‘स्टाफ नर्स र एचए पढाउन सिटीइभिटी र प्रदेश सरकार तयारी अवस्थामा छ ।’

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री पाठकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालगत्तै सञ्चालन गर्नेगरी प्रदेश सरकारले पूर्वाधार तथा स्रोत व्यवस्थापनको काम गरिसकेको बताए। 

स्वास्थ्य मन्त्रालय र सिटीइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ । परिषद् बैठकबाट अनुमतिप्राप्त भएपछि सिट निर्धारण हुने उनले बताए। 

मन्त्रालयले अनुमति लिने प्रक्रियासँगै पढाइ सञ्चालनका लागि प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको छ । दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई गत वर्ष सय शय्यामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो । 

एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताल पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटीइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको छ । गोरखाको आँपपिपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको जनाइएको छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्रै प्रदेश सरकारमातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको थियो ।

 प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा सिटीइभिटीको उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट भएको पटकपटकको छलफलपछि प्रदेश सरकारले उक्त निर्णय गरेको थियो । 

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिनेगरी तयारी गरिएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययनरअध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ । 
 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : २५ बजे

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा

प्यू सर्भे : विश्वभरमा झन् बदनाम हुँदै इजरायल, मानिसहरूको धारणा नकारात्मक बन्दै

तेलअभिभ- प्यू रिसर्च सेन्टरको एक नयाँ सर्भेअनुसार विश्वका धेरै देशहरूमा

नेपाल प्रहरीलाई भारतले दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट

वीरगञ्ज- भारत सरकारले नेपालका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिका लागि ७

रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्‍यो घटना विवरण

झापा– झापा प्रहरीले दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको

नेपाल-भारत सीमा विवाद हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समाधान हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र