काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी बिहे गरेर काठमाडौं आइन् । काठमाडौंमा घर होला भनेर आएकी उनलाई श्रीमानले थापाथलीको सुकुम्बासी बस्तीमा भित्र्याएका थिए । बिहेपछिको उनको पूरै जीवन सुकुम्बासी बस्तीमै बित्यो । उमेरले ५२ लागेकी उनी सरकारले अब आफूलाई बूढेसकालमा घर न घाटको बनाएको बताउँछिन् ।
बिहे गर्दा झूट बोलेपनि श्रीमानको मायाले बस्तीमा टिकेकी उनलाई सुकुम्बासीसँग बिहे गरेकोमा आजकल कताकता पछुतो लाग्न थालेको छ । सोमबार खबरहबको टिम थापाथलीस्थित सुकुम्बासी बस्ती पुग्दा उनी डोजरले भत्काएका टहराको टिन र बाँस बटुल्दै भेटिएकी थिइन् ।
उनी पानीले भिजेका नातिनातिनाका किताब, भाँडाकुडा र लत्ताकपडा टक्टक्याउँदै थिइन् । चुरोटको धुवाँ फुक्दै उनले भनिन्, ‘माइती गएको बेला सरकारले डोजर चलाउने भन्यो । दर्गुदै आएपनि सामान जोगाउन सकिनँ । नातिनातिनाका किताब पनि जोगाउन सकिनँ ।’
कमलाका श्रीमान घरमा रंग लगाउने काम गर्छन् । उनले सुकुम्बासी बस्तीमै चियाखाजा पसल चलाउँदै आएकी थिइन् । उनले पसलको सामान र भाँडाकुडा जोगाउन सकिनन् ।
कमलाकी बुहारी सुत्केरी छिन् । छोरा पनि घरबाहिर छन् । सरकारले डोजर चलाएपछि दुःख गरेर जोडेका सामान यत्रतत्र छरिएका छन् । जीवनभर आर्जेको सम्पत्तिमाथि डोजर चल्दा उनलाई सडकमा गएर छाती पिट्दै रुन मन लागेको छ ।
‘म र मेरो श्रीमानले काठमाडौंमा सानो घर किन्ने पैसा नकमाएको होइन । तर मेरो श्रीमान् समाजसेवी बनेर सबै सिध्याए । सुकुम्बासी बस्तीमा को भोकै सुत्यो ? कसको घरमा आगो बलेन ? कुन सुत्केरीले मासु खान पाइनन् ? मेरो बुढालाई सधै चिन्ता हुने !’ भक्कानिँदै उनले भनिन्, ‘फलानोको घरमा खाना छैन भनेपछि चामल बोकेर पुगिहाल्थे । समाजसेवा गर्यो भनेर दुःख मानेको होइन । तर कमाएको पैसाले लालपुर्जा भएको जमिन जोड्न पर्ने रहेछ । हाम्रो समयमा बुद्धी नआउँदा सडकमा पुग्यौँ ।’
कमला भैँसीपाटीमा कोठा खोज्न पुगिन् । तर, सुकुम्बासी भएको थाहा पाएपछि कसैले कोठा भाडामा दिएनन् । एक दुई कोठा त भेटिए, तर ती कोठाको भाडा तिर्ने ल्याकत थिएन ।

२२ वर्षदेखि जोडेको सामानको मायाले उनले उजाडिएको बस्ती छाड्न सकेकी छैनन् । तर रातिको समयमा उनी सरकारले तोकेको होटेलमा राति सुत्न जान्छिन् ।
सरकारको ढङ्गै पुगेन
‘सुकुम्बासी बस्ती खाली गरेकोमा मलाई दुःख लागेको छैन । सरकारको जमिन हो, लैजाओस् । तर, एक हप्ता अथवा १५ दिन पनि समय नदिइ गरिबको टहरा उजाडेको सरकारले ढङ्ग पुर्याएन ।’ चुरोटको धुवाँ उडाउँदै उनले दुखेसो पोखिन् । ‘सानो बच्चासमेत भएकी बुहारी र यत्रो सामान लिएर एकै दिनमा कहाँ जान सकिन्छ ? कसरी मिलाउन सकिन्छ ?’ उनी सरकारसँग प्रश्न गर्छिन् ।
‘सुकुम्बासीका लागि केही बन्दोबस्त गरेर डोजर चलाउने हो कि पहिले डोजर चलाएर सुकुम्बासीको तथ्याङ्क बटुल्ने हो ? आमाको पेटमा बच्चा उल्टो भयो भने के हुन्छ ? बच्चा र आमाको ज्यानै जानसक्छ । यो सरकार ठ्याक्कै पेटभित्रको उल्टो बच्चा जस्तो लाग्यो ।’ उनले भनिन् ।
होटलमा निद्रा लागेन
सरकारी जग्गामा बनेको टहरै भएपनि कमलाको लागि टाउको लुकाउने छानो थियो । तर होटेलको बास घरजस्तो नहुने उनको भनाइ छ । ‘घरको विस्तरामा सुतेजस्तो अन्त नहुने रहेछ । बच्चाहरु रातभरी रोए । हामी ठूलालाई पनि कत्ति निद्रा परेको छैन । छुट्टी मनाउन, घुम्न गएको बेला होटलमा बसेको जस्तो होइन ।’ उनले भनिन्, ‘घरबार उजाडिएको मान्छे लजको विस्तरामा निदाउन सक्छ ? हामीलाई अहिले फाइभस्टार होटलमा लगेर राखेपनि निद्रा पर्दैन । जीवनको सबै कमाइ सकियो । अबको आधार के हो ? अन्यौलमा छौँ । हामी कसरी निदाउने ?’

‘होटलमा भात खुवाएर राखेको छ । के गरिबको आत्मसम्मान हुन्न ? हामीमाथिको बज्रपातको अनुमान कसैले गर्न सक्छ ?’ उनको प्रश्न छ ।
लात्तीले भत्किने टहरामा पहाड खन्ने डोजर
लात्ती हान्दा भत्किने टहरामा सरकारले पहाड खन्ने डोजर चलाएकोमा पनि उनलाई चित्त बुझेको छैन । ‘टिन र बाँसले बनेको टहरा मान्छेको एक लात्तीले भत्किन्छ । सरकारले पहाड खन्ने डोजर लगाएर शक्ति प्रदर्शन गर्यो ।’ उनले भनिन्, ‘गरिब र बेसाहारामाथि शक्ति देखाएर के प्रमाणित गर्न खोजेको थाहा छैन ।’
पहिले सुकुम्बासीको पक्ष लिने पत्रकारले समेत यसपाली आफूहरुलाई हुकुमबासी भनेको उनको आरोप छ । ‘पुलिसले प्रधानमन्त्री बालेन शाहको बाहेक अरु मिडियालाई बस्ती पस्न दिएन । पुराना पत्रकारले हामीलाई जोगाउँथे । अहिले त पत्रकारले पनि साथ दिएनन् ।’ उनले दुखेसो पोखिन्, ‘सुकुम्बासीको पक्ष लिने पत्रकार यसपाली कता गए ? पत्रकारहरु आएपछि विरोध गर्ने भनेका थियौँ । तर जो–जो पत्रकार आए, उनीहरुले तिमीहरु हुकुमबासी हौ भन्न थाले । त्यसपछि विरोध गर्न सक्दैनौँ भनेर हामी चुप लाग्यौँ ।’
सरकारले बन्दुक तेर्स्याएर आफूहरुमाथि दमन गरेको उनको बुझाइ छ । ‘सेना-पुलिसले बन्दुक तेर्स्याएपछि विरोध गर्न त परै जाओस्, रुन पनि पाइएन । पीडामा रुन पनि नपाउँदा मुटु फुट्ने रहेछ । घरपरिवारमा एउटाले अर्कोलाई हेर्दै टोलाउनुभन्दा अरु उपाय रहेन । छोरो हेरेको हेर्यै, श्रीमान् हेरेको हेर्यै । केटाकेटीको विचल्ली देख्दा समेत हामीले डाको छाडेर रुन पाएनौँ ।’
खबरहबसँग गफ गरिरहेका बेला कमलाको श्रीमान् टुप्लुक्क आइपुगे । उनी पनि बूढ्यौली उमेरमा प्रवेश गर्दै रहेछन् ।
श्रीमानलाई देख्नासाथ कमलाले प्रश्न तेर्स्याइन्, ‘कोठा भेटियो ?’
छेउमा टुसुक्क बसेर सुस्केरा हाल्दै श्रीमानले जवाफ दिए ‘खोज्दै छौँ ।’
पाकेटबाट अर्को चुरोट झिकेर आगो बालेकी कमलाको मुखबाट एक मुस्लो धुवाँ उड्यो ।
श्रीमानलाई पनि चुरोट दिँदै कमलाले जिस्किएर भनिन्, ‘यही मान्छेले हो काठमाडौंमा घर छ भन्दै मसँग ठगेर बिहे गरेको !’
‘मैले आजसम्म किन झुट बोलेर बिहे गरिस् ? भन्या थिइनँ । भागेर आएपनि बूढाले मलाई मायाले राखे । मलाई त्यसमै सन्तोक थियो । अहिले आएर घरजग्गा नभएको सुकुम्बासीसँग किन बिहे गरेँछु भन्ने लागेको छ ।’ उनले भनिन् ।

सरकारका मान्छे खै ?
आफूहरुको कुरा सुन्न विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकार आएपनि सरकारका मान्छेले बेवास्ता गरेको कमला बताउँछिन् । ‘पत्रकारहरु आउँछन । अरु संस्थाबाट पनि मान्छे आउँछन् । हाम्रो दुःख सुनेर जान्छन् ।’ उनले भनिन्, ‘तर हाम्रो वास्तविक पीडा सुनिदिने सरकारको मान्छे हामीलाई चाहिएको छ । सरकारले हाम्रो कुरो मिडियाबाट मात्रै हेर्दै छ कि यहीँ आएर हेर्छ ?’
कुराकानीको अन्त्यतिर खबरहबसँग उनले आग्रह गरिन्, ‘पत्रकारज्यू, तपाईँले सरकारका मान्छेलाई यता पठाइदिनू है ! उनीहरुसामू धित मरुञ्जेल रुन मन छ ।’
कमलासँग कुरा गर्दागर्दै दुई जना नगर प्रहरी आइपुगे । सायद गस्तीमा आएका थिए । थाहा पाएपनि नपाएजस्तो गरी उनीहरु केही नजिकै गएर बसे ।
नगर प्रहरी देखेर कमला रोकिइन् । उनले सुस्तरी भनिन्, ‘यिनका अगाडी बोल्नु हुन्न ।’












प्रतिक्रिया