प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन् « Khabarhub

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन्



काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका ठूला तथा रणनीतिक आयोजनालाई उच्च प्राथमिकता दिने उद्देश्यले गरिएको थियो ।

गौरवका आयोजनाका रूपमा सूचीकृत परियोजनाको अनुगमन, नियमन र प्रगति प्रतिवेदन आयोगमार्फत सिधै प्रधानमन्त्रीसम्म पुग्ने संरचना छ । तर, कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।

उक्त आयोग मातहतका गौरवका आयोजनाअन्तर्गत ६ मुख्य राजमार्ग करिब डेढ दशक बित्दा पनि अधुरा छन् । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति विवरणले पनि ती आयोजनामा चरम ढिलासुस्ती रहेको पुष्टि गरेको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग

सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्षको कार्यप्रगति विवरणमा हालसम्म १ हजार ५५०.६२ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । यो लोकमार्ग २०८५ भित्र सम्पन्न गर्नुपर्ने राष्ट्रिय योजना आयोगको विवरणमा ल्लेख छ ।

यस आयोजनाका लागि चालू आर्थिक वर्षको बजेटमा सरकारले ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट ४०.६२ किलोमिटर सडक कालोपत्रसहित पुल निर्माण गरिएको छ । हालसम्म १ सय १४ पुल बनेका छन्।

पूर्वमा पाँचथरको चियोभञ्ज्याङदेखि सुरू भई बैतडीको झुलाघाटमा टुङ्गिने यो मार्ग एक हजार ८ सय ७९ किलोमिटरको छ ।

गत भदौमा राष्ट्रिय आयोजना आयोगले ‘समय तथा लागत अधिकततासम्बन्धी संक्षिप्त विवरण’ सार्वजनिक गरेको थियो ।

जसअनुसार १७ वर्षअघि निर्माण सुरू गर्दा आयोजनाको लागत ३३ अर्ब ३६ करोड रुपैयाँ आँकलन गरिएको थियो । जुन निर्माण सम्पन्न हुने मिति २०८४/०८५ सम्म ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय यातायात नीति २०५८ अनुसार सरकारले देशको पूर्व-पश्चिम जोड्ने महेन्द्र राजमार्गको विकल्पमा मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको थियो ।

आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएको यस आयोजनाका लागि मन्त्रीपरिषद्को ०६५ फागुन २६ गते बसेको बैकले रेखाङ्कन स्वीकृत गरेको थियो ।

जसलाई सरकारले ०६९/०७० देखि राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्दै प्राथमिकताका साथ सुरू गर्‍यो । तर, निर्माण सुरू भएको १७ वर्ष भइसक्दा पनि सम्पन्न भएको छैन ।

हुलाकी राजमार्ग

तराई-मधेसका जिल्लालाई सडक सञ्जालमा जोड्दै त्यहाँको सामाजिक तथा आर्थिक बढोत्तरीका लागि हुलाकी राजमार्ग आर्थिक वर्ष ०६६/०६७ मा सुरू भयो ।

झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको दैजीसम्म विगतमा हुलाकी सडकका रुपमा प्रयोगमा हुँदै आएको मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत स्तरोन्नति गर्न थालिएको हो ।

जसबाट २१ जिल्लाका करिब ८० लाख जनसंख्या लाभाम्वित हुने अनुमान छ । तर, सरकारको कार्यप्रगति विवरण हेर्दा २०८२ चैतसम्म ३६.९ किलोमिटरसहित १ हजार ३८८.७ किलोमिटर सडक कालोपत्र भएको छ । सरकारले चालु आर्थिक वर्षमा उक्त आयोजनाको लागि तीन अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

राष्ट्रिय योजनाका अनुसार ०८३/८४ मा पूरा गर्नुपर्ने यस आयोजनाको लागत ६५ अर्ब २० करोड रुपैयाँ पुग्ने बताइएको छ । जसको लागत १६ वर्ष पहिले निर्माण सुरु गर्दा ४७ अर्ब २४ करोड रुपैयाँ थियो ।

काठमाडौं-तराई-मधेस द्रूतमार्ग

२०८२/०८३ को बजेट प्रस्तुत गर्दै गर्दा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले काठमाडौँ-तराई-मधेस दू्रतमार्ग २०८४ असारसम्म सम्पन्न गर्ने बताएका थिए । त्यसका लागि सरकारले ३७ किलोमिटर पुलमा सववेश तथा ६० पुल निर्माण सम्पन्न गर्ने वाचा गरेको थियो ।

उक्त लक्ष्य पूरा गर्न २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, गत चैत मसान्तसम्म बजेटको करिब ४ अर्ब ५९ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

उक्त आयोजनाका लागि विभिन्न खण्ड गरी १३ प्याकेजमा काम भएको छ । तीमध्ये हालसम्म एकको ठेक्का प्रक्रियासमेत हुन नसकेको अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।

उक्त विवरणअनुसार आयोजनाको डिजाइनमा उल्लेख भएका ७ सुरुङमध्ये ४ स्थानमा ‘टनेल ब्रेक थु्र’ भएको छ । यस्तै आयोजनाले निर्माण गर्नुपर्ने ८९ पुलमध्ये हालसम्म कुनै पनि सम्पन्न गरेको विवरणमा उल्लेख छैन ।

‘५६ पुलका लागि फाउन्डेसन, ३८ का लागि सब-स्टक्चर, १६ ठाउँमा पुलको सुपर स्टक्चर सम्पन्न भएको छ,’ विवरणमा उल्लेख छ ।

सरकारले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ साउन २७ गते नेपाली सेनालाई काठमाडौँ-तराई-मधेस दू्रतमार्गको जिम्मेवारी सुम्पिएको थियो ।

जुन सुरुवाती चरणमा विवादित पनि भयो । झण्डै दशक बित्दासमेत गति लिन नसकेको यो आयोजना निर्माण नतिजामुलक छैन। निर्माणमा ढिलासुस्ती हुँदा १ खर्ब १६ अर्ब रुपैयाँ लागतको आयोजना अहिले २ खर्ब ११ अर्ब ९३ करोड पुग्ने अवस्था छ । निर्माणको संशोधित समय ०८६ सालबाट लम्बिए लागत अझै वृद्धि हुने देखिन्छ ।

खोकना क्षेत्रमा स्थानीयको अवरोधको समाधान नहुँदा आयोजना थप पछाडि धकेलिएर लागत बढ्ने देखिएको छ ।

कोशी, कालीकण्डकी र कर्णाली करिडोर

नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत र उत्तरमा चीनसँग सिमाना जोडिएको छ । सरकारले यी दुई छिमेकी राष्ट्रसँग सडक मार्ग विस्तार गर्नेगरी (उत्तर-दक्षिण) कोशी, कालीकण्डकी र कर्णाली तीन करिडोरको परिकल्पना गरेको थियो ।

देशको व्यापार तथा आयात निर्यातमा टेवा पुर्‍याउने उद्देश्यले यि आयोजनालाई उच्च प्राथमिकताका साथ राष्ट्रिय गौरवको आयोजना घोषणा गरियो । तर, सरकारले नै सार्वजनिक गरेको प्रगति विवरणअनुसार यसमा पनि अन्यमा जस्तै ढिलासुस्ती भएको छ ।

सरकारले अन्य वर्षजस्तै गत बजेटमा पनि यी तीनै करिडोर निर्माण तथा स्तरोन्नतिलाई विशेष प्राथमिकतामा राखेको थियो ।

कर्णाली करिडोर हिल्सा-सिमकोट तथा खुलालु-पिलुचौर-तुम्च खण्ड स्तरोन्नतिका लागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिइएको थियो ।

कर्णाली करिडोरका दुई खण्डमध्ये केबल किलोमिटर सडक कालोपत्र भएको छ । यस्तै, क्रमशः पहिलो खण्डमा १० किलोमिटर सडक ग्राभेल तथा दोस्रो खण्डको ४ किलोमिटर नयाँ ट्रयाक खोल्ने काममै आयोजना सीमित भएको विवरण आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

गत भदौमा राष्ट्रिय आयोजना आयोगले ‘समय तथा लागत अधिकततासम्बन्धी संक्षिप्त विवरण’ सार्वजनिक गरेको थियो ।

उक्त विवरण अनुसार उक्त करिडोर २०६५/६६ मा सुरु भई ०८४/८५ सम्म सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । तर, ढिलासुस्ती हुँदा अनुमानित लागत ४ अर्ब १० करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड १९ लाख पुगेको छ ।

यस्तै, कोशी करिडोरको खाँदबारी-दोभानखण्ड र कालीगण्डकी करिडोर स्त्तरोन्नतिका लागि गत बजेटमा मात्रै २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको थियो ।

ढिलासुस्तीका कारण २०६५/०६६ मा सुरु भएको कोशी करिडोरको लागत १२ खर्ब ५४ करोड ९० लाखबाट बढेर गत भदौसम्म १६ खर्ब ८२ करोड ९० लाख पुगेको छ । यो आयोजना २०८३/०८४ भित्र सम्पन्न गर्नेुपर्ने विवरणमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष ०६६/०६७ मा निर्माण सुरु भएको कालीगण्डकी करिडोरको ३० खर्ब लागत बढेर गत भदौसम्म ३५ खर्ब पुगेको देखिन्छ । सरकारले यो करिडोर यसै वर्ष सम्पन्न गर्ने उक्त विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ७ : ०९ बजे

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले

‘होल्डिङ सेल्टरमा बिजोग छ’

काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन्

काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत

काठमाडौं– सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक