फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड « Khabarhub

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई प्रभावकारी पहल गर्न निर्देशन दिएका छन्।

नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालयमा आयोजित छलफलमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीयवासीका समस्या तथा दीर्घकालीन समाधानका उपायबारे सम्बन्धित निकायसँग छलफल गरेका  हुन् ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधिको सहभागिता रहेको थियो।

छलफलपछि मन्त्री तिमिल्सिनाले फोहर व्यवस्थापनमा नियमित तथा छड्के अनुगमन गर्न, स्थानीयवासीका गुनासा तत्काल सम्बोधन गर्न, बञ्चरेडाँडा पुग्ने सडक सुधार गर्न र वैज्ञानिक प्रणालीमार्फत फोहर व्यवस्थापन गर्न निर्देशन दिए।

उनले फोहर व्यवस्थापनका कारण स्थानीयले भोगिरहेका समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म जाने बाटो निकै खराब छ भन्ने गुनासा धेरै आएका छन्। बाटो निर्माणको काम तत्काल सुरु गर्नुपर्छ। आर्थिक स्रोत व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक छ,’ मन्त्री तिमिल्सिनाले भने।

स्थानीयवासीले बञ्चरेडाँडा जाने सडक जीर्ण रहेको, फोहरबाट दुर्गन्ध फैलिएको, फोहर बोकेका सवारीसाधन ढाकेर नलगिएको, बाटोमा फोहर खस्ने गरेको, फोहर विसर्जनपछि सवारीसाधन नधोइ फर्कने गरेको तथा फोहरमाथि पर्याप्त माटोले छोप्ने (क्यापिङ) कार्य प्रभावकारी नभएको गुनासो गर्दै आएका छन्।

बैठकमा बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत फोहर ल्याइने भए पनि व्यवस्थापनको जिम्मेवारीमा ती स्थानीय तहको सहभागिता प्रभावकारी हुन नसकेको विषय उठाइएको थियो। हाल बञ्चरेडाँडाको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र आर्थिक भार काठमाडौँ महानगरपालिकाले बेहोर्दै आएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले दीर्घकालीन व्यवस्थापनका लागि फोहर संकलन केन्द्रको सङ्ख्या बढाउने, फोहर वर्गीकरण तथा ग्रेडिङ प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए।

उनका अनुसार महानगरले विकेन्द्रित फोहरमैला व्यवस्थापन अवधारणाअनुसार महानगरलाई सात वटा फोहर क्लस्टरमा विभाजन गरी सुक्खा फोहर पुनःप्रयोग ९रिसाइकल० गर्ने योजना बनाएको छ। तर आवश्यक जग्गा प्राप्ति र प्रक्रियागत ढिलाइका कारण योजना कार्यान्वयनमा समस्या देखिएको उनले बताए।

हाल बञ्चरेडाँडा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ। स्रोतमै फोहर छुट्याउने अभ्यास प्रभावकारी हुन नसक्दा वर्गीकरणमा समस्या आएको र त्यसले ल्याण्डफिल साइटमा थप दबाब सिर्जना गरेको महानगरको भनाइ छ।

दैनिक दुई सयभन्दा बढी फोहर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन्। वर्षायाममा कमजोर सडकका कारण सवारीसाधन बाटोमै अड्किने, दुर्गन्ध फैलिने र स्थानीय जनजीवन प्रभावित हुने समस्या देखिएको छ।

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको थियो। यो नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ।

हाल काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत २०० ट्रक फोहर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ। बैठकले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहबीच सहकार्य र साझा जिम्मेवारी आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ६ : २९ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ