एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास विफल हुने जोखिम बढेको छ ।
गिरोन्ड क्षेत्रका अधिकारीले रातका कारण आगो थप फैलिन नपाएपनि बढ्दो तापक्रम र तीव्र हावाले डढेलो पुनः फैलिन सक्ने चेतावनी दिएका छन् ।
लेजस्थित कमान्ड सेन्टरमा अग्निनियन्त्रकहरूले डढेलोको अवस्थाबारे नक्सामार्फत निगरानी गरिरहेका छन् । उनीहरूले उत्तरी क्याप–फेरेट, मार्चेप्राइम, सेस्टास र सेन्ट–जिन–डिलाक आसपासको वन क्षेत्र तथा मार्टिग्नास नजिकैको सैन्य क्षेत्रलाई उच्च जोखिमकारूपमा पहिचान गरेका छन् । मार्टिग्नासमा आगोको नयाँ प्रकोप देखिएपछि ठूलो सङ्ख्यामा अग्निनियन्त्रक परिचालन गरिएको छ।
फ्रान्सका विभिन्न क्षेत्र तथा युरोपेली साझेदारबाट आएका टोलीसहित दुई हजार २०० अग्निनियन्त्रक र २० भन्दा बढी विमान डढेलो नियन्त्रणमा परिचालन गरिएका छन् ।
‘धुवाँको मुस्लो देखिनासाथ हामी तीव्र र प्रभावकारी रूपमा कारबाही गर्छौँ,’ गिरोन्डका अग्नि नियन्त्रण कमान्डर म्याथ्यु जोमेनले भने ।
डढेलो चरम अवस्थामा पुगेका बेला करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसयता हजारौँलाई घर फर्कन अनुमति दिइए पनि खतरा अझै कायम रहेको अधिकारीले बताएका छन् ।
अत्यधिक गर्मीले वनस्पतिमा रहेको चिस्यान घटाउँदा घाँस, झाडी तथा जङ्गलको भुइँमा जम्मा भएका पातपतिङ्गर छिटो बल्ने इन्धनमा परिणत हुन्छन् । तीव्र हावाले आगो नियन्त्रणका लागि बनाइएका खाली क्षेत्रमा समेत आगोका झिल्का उडाएर नयाँ ठाउँमा डढेलो फैलाउने गरेको अधिकारी बताएका छन् ।
फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवा ‘मेटियो–फ्रान्स’ले बुधबार यस साताकै सबैभन्दा तातो र सुख्खा दिन हुने तथा देशभर डढेलोको जोखिम उच्च रहने जनाएको छ । मुख्य भू–भाग र कोर्सिकामा खडेरीको अवस्था रहेको तथा माटोको सुख्खापन सन् २०२२ को अगस्टमा देखिएको कीर्तिमानी स्तरनजिक पुगेको बताएको छ ।
ल्यान्डेस र वारमा लागेको डढेलो फैलावट नियन्त्रणमा आएपछि गिरोन्डेको फ्रान्समा बाँकी रहेको सबैभन्दा ठूलो डढेलो बनेको गृहमन्त्री लरेन्ट नुनेजले बताए । गिरोन्डे र ल्यान्डेसमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण दुवै क्षेत्रमा वायु प्रदूषणको समस्या देखिएको क्षेत्रीय वायु गुणस्तर अनुगमनकर्ताले बताएका छन् ।
गिरोन्डे अधिकारीले मङ्गलबार एट्लान्टिक तटका पर्यटकीय क्षेत्रबाट थप चार हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएका थिए । यससँगै डढेलोका कारण विस्थापित हुनेको सङ्ख्या थप बढेको छ । यद्यपि, आगोबाट प्रभावित नभएका बोर्डोका तीन उपनगरमा करिब ६० हजार मानिसलाई घर फर्कन अनुमति दिइएको छ ।
गिरोन्डेका प्रिफेक्ट सोफी ब्रोकासले अवस्था अझै जटिल रहेको बताउँदै जोखिम पूर्ण रूपमा नटरेको चेतावनी दिए ।
डढेलोको चरम अवस्थामा फ्रान्स र स्पेनमा गरी करिब तीन लाख ३० हजार मानिसलाई घर तथा पर्यटकीय क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो । स्पेनमा पनि गर्मीको चौथो लहरको सामना गर्ने तयारी भइरहेका बेला धेरै डढेलो अझै नियन्त्रणबाहिर छ।
गिरोन्डेको डढेलो चरम अवस्थामा पुग्दा आगोबाट बनेको कालो बादलभित्र विद्युतीय चमकसहित तीव्र हावा चल्ने र नयाँ स्थानमा समेत आगो फैलिने अवस्था देखिएको थियो । ‘पाइरोकुमुलोनिम्बस’ भनिने यस्तो घटना फ्रान्समा पहिलोपटक अभिलेख गरिएको अधिकारीले बताएका छन् ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार यस वर्ष देशभर एक हजार १६० वर्ग किलोमिटरभन्दा बढी भू–भाग डढेलोबाट प्रभावित भएको छ ।
युरोपेली सङ्घको कोपर्निकस जलवायु सेवाका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश हो । पश्चिमी युरोपले जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको थियो। अत्यधिक गर्मी र व्यापक सुख्खापनले फ्रान्स तथा स्पेनमा डढेलो फैलिन र तीव्र हुन सहयोग पुगेको कोपर्निकसले जनाएको छ ।












प्रतिक्रिया