सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी « Khabarhub

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको उत्तरगया र धुन्चे क्षेत्रमा बागमती प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालन गरी स्थलमार्गबाटै राहत सामग्री पुर्‍याएको छ।

संघीय सरकारको उद्धार तथा राहत गतिविधि प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेका बेला बागमती प्रदेश सरकारले सडक मर्मतसँगै राहत ढुवानीलाई अघि बढाएको हो।

प्रदेश सरकारले विभिन्न स्थानमा क्षतिग्रस्त सडक मर्मत गर्दै वैकल्पिक मार्गमार्फत अत्यावश्यक खाद्यान्नसहितको राहत सामग्री रसुवा पुर्‍याएको जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका अनुसार सहयोगी व्यक्ति तथा संस्थाबाट प्राप्त राहत सामग्रीको पहिलो प्याकेज शनिबार टिपर तथा ट्रकमार्फत रसुवा पुर्‍याइएको हो।

‘बिग्रिएका ठाउँमा सडक मर्मत गर्दै उत्तरगयासम्म टिपर र निसान गाडीहरू पुर्‍याएका छौँ,’ मुख्यमन्त्री थापा मगरले भने

प्रदेशका विभिन्न संयन्त्र परिचालन गरेर आफू तीन दिनदेखि रसुवामै उद्धार तथा राहत कार्यमा खटिएको उनले बताए। प्रभावित क्षेत्रमा राहत पुर्‍याउन मुख्य चुनौती बनेको सडक अवरोध हटाउँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

वैकल्पिक मार्गबाट तीन गाडी रसुवा पुगे

बागमती प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेंसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, ० किलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।

यही मार्ग हुँदै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री बोकेका तीनवटा सवारीसाधन शनिबार रसुवा पुगेका हुन्। राहत सामग्री नीलकण्ठ होल्डिङ सेन्टरसम्म पुर्‍याइएको प्रदेश सरकारले जनाएको छ।

सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेका बेला वैकल्पिक मार्ग खुलेपछि ढुवानी सहज भएको मुख्यमन्त्री थापा मगरले बताउनुभयो।

के–के सामग्री पुगे ?

रसुवा पठाइएको राहत सामग्रीमा खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेका छन्।

लक्ष्मण अवालले २० कार्टुन सनफ्लावर तेल सहयोग गर्नुभएको छ। काठमाडौं फन भ्याली प्रालि र भेरिएबल सोलुसन्स प्रालिले जिरा मसिनो चामल २२/२२ बोरा उपलब्ध गराएका छन्।

जीवन कावाङ र युवराज थापाले ५/५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सले २ बोरा जिरा मसिनो चामल सहयोग गरेका छन्।

हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराएका छन्।

त्यस्तै रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ।

राहत अभियानका लागि भक्तपुरका सहयोगीबाट ३४ हजार रुपैयाँ नगदसमेत सङ्कलन गरी पठाइएको छ।

भक्तपुर इँटा तथा टायल कारखानाबाट ठूलो राहत

भक्तपुर इँटा तथा टायल कारखानाले पनि रसुवाका बाढी प्रभावितका लागि ठूलो परिमाणमा खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको छ।

कारखानाबाट ८० बोरा जिरा मसिनो चामल, १५ कार्टुन सनफ्लावर तेल, पाँच बोरा ज्ञान चक्की आटा, ५०/५० केजी कालो र रातो दाल, ७० प्याकेट भिटामिन मिल्क बिस्कुट, २५ कार्टुन रियल जुस, १५ बोरा चिउरा, पाँच बोरा दालमोठ, ४० कार्टुन वाईवाई र १५ बोरा भुजिया प्राप्त *भएको छ।

यी सामग्री शनिबार नै रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइएको र आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ

राहत ढुवानीमा तीन सवारीसाधन

राहत सामग्री ढुवानीका लागि विभिन्न संस्थाले सवारीसाधनसमेत उपलब्ध गराएका थिए।

आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो।

यसरी एक टिपर र दुई निसान गरी तीनवटा सवारीसाधनमार्फत राहत सामग्री रसुवा पुर्‍याइएको हो।

सडक मर्मतसँगै राहत अभियान

बाढी र पहिरोका कारण रसुवासहितका पहाडी जिल्लामा सडक संरचनामा व्यापक क्षति पुगेपछि उद्धार तथा राहत कार्य प्रभावित भएको छ। यस्तो अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानकै हिस्सा बनाएर अघि बढाएको जनाएको छ।

मुख्यमन्त्री थापा मगरका अनुसार क्षतिग्रस्त सडक तत्काल मर्मत गर्ने र सम्भव भएका स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरी राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउने काम भइरहेको छ।

सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा वैकल्पिक बाटो खोलिएपछि अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्‍याउन सहज भएको प्रदेश सरकारको दाबी छ।

अलपत्र पर्यटकलाई निःशुल्क काठमाडौं पठाइँदै

बागमती प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था गरी काठमाडौं पठाइरहेको जनाएको छ।

मुख्यमन्त्री थापा मगरका अनुसार धुन्चे र बीच बाटोमा पर्यटकलाई खाना खुवाएर सुरक्षित रूपमा काठमाडौं पठाउने कामसमेत भइरहेको छ।

प्रदेश सरकारको सम्पूर्ण संयन्त्र प्रभावित क्षेत्रमा परिचालन भएर उद्धार तथा राहतमा खटिएको दाबी गरिरहँदा संघीय सरकारको उद्धार तथा राहत कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै पीडित र स्थानीय तहबाट भने असन्तुष्टि व्यक्त भइरहेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ९ : २९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ