काठमाडाैं । बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका व्यक्तिहरूका शव व्यवस्थापन गर्न सुरू गरिएकाे छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल शवहरूलाई गाडिएको भए पनि डीएनए म्याच भएको खण्डमा आफन्तहरूले भविष्यमा पनि निकालेर लान सक्ने अवस्थामा राखिएको बताउँछन् । शव व्यवस्थापन निर्देशिका अनुसार काम गरिएको बताउँदै अर्यालले दुर्गन्धित भएर थप जटिलता निम्तिनुभन्दा शवलाई समयमै व्यवस्थापन गरेर नागरिकहरूलाई थप पीडा हुनबाट जोगाएको बताउँछन्। शव व्यवस्थापन कसरी भइरहेको छ, यसको प्रक्रियाको विषयमा अर्यालसँग खबरहबले गरेको कुराकानी ।
शव माटोमुनि गाडियो भनियो, यो कसरी गर्नुभयो ? यसको प्रक्रिया भनिदिनु न ?
हामीले शव व्यवस्थापन निर्देशिकाअनुसार काम गरेका छौँ। हामीले नोटिस पनि जारी गरेका छौँ । शवलाई गाडिएको भनेर माटोमुनि पुरिएको र त्यसलाई निकाल्नै नसक्ने अवस्थामा बनाइएको होइन ।
शवहरू आफन्तलाई नै नदिईकन गाडियो भन्ने बाहिर कुराहरू आइराखेका छन् । यो कसरी राखिएको हो ? आफन्तले चाहेको खण्डमा कसरी लिन सक्छन् ?
यसलाई सुरक्षित राखेको तरिकाले राखिएको हो । शवमा पनि हामीले स्टिलको छुट्टै नम्बर प्लेट दिएर छुट्टै कोडिङ गरेर राखेका छौँ । त्यसको माथिपट्टि कुन कोडमा राखिएको छ भनेर त्यसलाई बारेर राखेका छौँ । उहाँहरूको डीएनए स्याम्पल लिएका छौँ । भोलि डीएनए म्याच भएको खण्डमा शवका आफन्तहरू खोज्न आउँदा त्यो निकालेर लान सक्नुहुन्छ ।
सुरक्षित तरिकाले राखिएको हो । भोलि कसैले डीएनए टेस्ट गर्दा म्याच भएर ‘मेराे आफन्त शव म आफैँ लगेर व्यवस्थापन गर्छु’ भन्यो भने उहाँहरूले पाउनुहुन्छ । त्यो एकै ठाउँमा गाड्ने टाइपले कुखुरा, खसी, बाख्रालाई गाडेजस्तो तरिकाले गाड्ने भनेर नबुझ्नुहोस्। शवलाई सुरक्षित राखिएको हो। बाहिर आउँदा दुर्गन्ध फैलियो, व्यवस्थापन गर्न सकिएन भनेर शवहरूका बीचमा डिस्टेन्सहरू पनि राम्रोसँग मेन्टेन भएको छ। म्याच भएको खण्डमा हामी आफैँ आफन्तहरूलाई निकालेर दिन्छौँ।
यहाँले भने अनुसार डीएनए मिलेपछि ‘मेरो संस्कारअनुसार म दाहसंस्कार गर्छु’ भन्न पाइयो, होइन ?
हजुर हो । डीएनए टेस्ट गराउँछ, म्याचिङ भयो भने आफ्नो व्यक्ति चिनेर लान पाउनुहुन्छ । त्यसमा हामीले चिन्न सक्ने, बाहिरबाट चिन्ने गरी राखेका छौँ। अहिलेलाई सुरक्षित राखिएको हो। डीएनए म्याच भएको खण्डमा उहाँहरूले निकालेर लगेर आफ्नो तरिकाले दाहसंस्कार गर्न पाउनुहुन्छ । लास गन्हाएर दुर्गन्धित भएको कारणले यो अभ्यास गर्नुपर्यो ।
त्यो शव नकुहिने गरी राखिएको त होइन होला है ?
शव नकुहिने रोक्न सक्ने भए हामी बाहिर राखिहाल्थ्यौँ। अब भित्र जसरी हुन्छ, त्यसरी नै रहन्छ। हाडछालाजस्तो अवस्थामा भेटिन्छ, त्यसरी नै रहने हो। नकुहाई राख्न सक्ने किसिमको शवगृह भएको भए त हामी बाहिरै राख्ने थियौँ नि । त्यही कुहिने भयो र दुर्गन्धित हुने भयो र समाजलाई पनि थप त्रास र तनाव हुने भयो भन्ने हिसाबले नै यो अभ्यास गरिएको हो । डीएनए म्याचपछि जस्तो अवस्थामा बाँकी रहन्छ, त्यो आफन्तले लान सक्नुहुन्छ । योभन्दा अरू विकल्प अहिले तत्काल थिएन। हामीले सबै प्रक्रिया पूरा गरेर यो विकल्पलाई अगाडि ल्याएका हौँ।
आज कति जति त्यसरी व्यवस्थापन गर्नुभयो ?
आजको हामीले काम सक्यौँ। एक्ज्याक्ट डाटा चाहिँ जिल्ला प्रहरी कार्यालयसँग लिनुहोला, तर ७० भन्दा बढीलाई हामीले व्यवस्थापन गरेका छौँ। ७०–८० भन्दा बढी छ। हामीसँग २५० शव फेला परेका थिए। फेला पर्ने क्रम जारी छ। डीएनए स्याम्पल लिइसकेका शवहरूलाई व्यवस्थापन गरिएको हो। अरूको डीएनए टेस्ट लिएपछि क्रमिक रूपमा व्यवस्थापन हुन्छ। भोलि बिहानैबाट काम गर्छौँ। पहिचान हुनेले पहिचान गरेर लाँदै पनि गर्नुभएको छ












प्रतिक्रिया