काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्ण रूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहलपहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति पुर्याएको छ ।
असोज ११ गते नारायणी नदीमा हालसम्म कै उच्च ११ दशमलव ९ मिटर पानीको बहाव आएको जलमापन केन्द्रले जनाएको छ ।
उक्त बाढीले नारायणगढमा रहेको नदी किनार नराम्रोसँग बिगारेको र हालसम्म यति धेरै पानी नारायणी नदीमा नदेखेको २०१९ साल देखि नारायणगढमा बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले बताए ।
नारायणी नदी किनारको यो अवस्था प्रकृतिमाथिको खेलबाड र मानिसले हारेको नजिता भएको जोशीले बताए । नारायणी नदी किनार विकासको नाममा धेरै खर्च भए पनि आगामी दिनमा विकास निर्माणको काम गर्दा दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने स्थानीयहरूले जनाएका छन् ।














प्रतिक्रिया