बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन् « Khabarhub

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लगायत उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी–पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध सेवा र पुनःस्थापनाको प्रगतिबारे जानकारी लिँदै सेवा पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।

प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिकसँगै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय र अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले तत्काल सेवा सञ्चालनमा ल्याउन उनले निर्देशन दिएका छन्।

मन्त्री तिमिल्सिनाले विद्युत् आपूर्ति तत्काल पुर्‍याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन तथा आवश्यक परे हेलिकप्टरमार्फत जेनेरेटर, उपकरण र प्राविधिक जनशक्ति प्रभावित क्षेत्रमा पुर्‍याउन निर्देशन दिएका छन्।

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोका कारण विभिन्न साइटमा क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको जानकारी दिए। सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली र उपकरण पुर्‍याउन कठिनाइ भइरहेको उनले बताए।

नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्म आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा देशभरका १ हजार १३२ टेलिफोन साइट प्रभावित भएका थिए। तीमध्ये हालसम्म १ हजार २ वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन सकेका छैनन्।

हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीनवटा साइट सञ्चालनमा आउन बाँकी छन्।

त्यस्तै कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रूपन्देही, स्याङ्जालगायत जिल्लाका केही साइट पनि अझै सञ्चालनमा आउन सकेका छैनन्।

टेलिकमले प्रभावित साइटमा प्राविधिक टोली परिचालन गरी विद्युत् आपूर्ति, उपकरण र ढुवानीको वैकल्पिक व्यवस्था मिलाउँदै सेवा पुनःसञ्चालनको काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : २२ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय