काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र पार्टी नीतिविपरीत गतिविधि स्वीकार्य नहुने बताएका छन्।
पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति र अनुशासनविपरीत जाने जोकोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका हुन्।
उनले विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने वा पार्टीभित्र अराजकता फैलाउने गतिविधि नगर्न नेताकार्यकर्तालाई निर्देशन दिए। एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको थियो।
अध्यक्ष ओलीले अब पार्टीको मुख्य ध्यान लोकतन्त्रको रक्षा र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताए। उनले निर्धारित लक्ष्य हासिल गर्न ‘अर्जुनदृष्टि’का साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गरे।
उनले तत्काल अन्य कुनै दलसँग पार्टी एकता नहुने स्पष्ट पार्दै आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुनसक्ने बताए।
जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी लिएका नेताहरू राजधानी वा सुविधायुक्त स्थानमा बसेर मात्र काम गर्न नसक्ने उल्लेख गर्दै ओलीले कार्यक्षेत्रमै पुगेर योजना बनाउन निर्देशन दिए।
भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र रघुजी पन्त तथा महासचिव शङ्कर पोखरेललगायत नेताको उपस्थिति थियो।














प्रतिक्रिया