काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको र कर्मचारीहरूमाथि अपमानजनक व्यवहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार प्रेस काउन्सिलका बोर्ड सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाको कडा शब्दमा भर्त्सना गरिएको छ।
काउन्सिलका अनुसार असोज १३ गते बिहान नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफल चलिरहेको थियो । सोही क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई “झ्यालबाट टिपेर फालिदिन्छु” लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
त्यसैगरी छापामध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीहरूबाट काउन्सिलका कर्मचारीहरूसमेतलाई अपमानजनक व्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ।
छलफल र असहमति हुनु स्वाभाविक भए पनि संवादका क्रममा यस्तो धम्कीपूर्ण भाषा र अमर्यादित व्यवहार स्वीकार्य हुन नसक्ने काउन्सिलले स्पष्ट पारेको छ। काउन्सिलले पेसागत माग राख्ने अधिकारको सधैँ सम्मान गर्ने तर संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा राखिने जनाएको छ।















प्रतिक्रिया