गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे ।
गत असोस २५ गते चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ । जसका कारण आवतजावतमा समस्या भएको हो ।
बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।
गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन् । उनी भन्छन्, ‘गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।’
लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गरेका छन् । इन गोरखा प्रोडक्ट प्रालि नामक उनको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उनी बताउँछन् ।
गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ ।
‘फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके’, उनले भने, ‘भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन । त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन ।’ यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उनले गुनासो गरे ।
मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पु¥याउन करिब एकहप्ता लाग्छ । यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ । साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन् ।
हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलार्ई । ‘आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामी साह्रै मर्कामा छौँ’, व्यवसायी लाक्पा डुन्डुप भन्छन् ।
सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन । (रासस)














प्रतिक्रिया