हराभरा प्रकृति समृद्धिको आधार « Khabarhub

हराभरा प्रकृति समृद्धिको आधार


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता, धर्मको आस्था, इतिहासको गौरव र स्थानीय जीवनशैलीको सुगन्ध जोगाइरहेको नागार्जुन केवल एउटा नगरपालिका मात्र होइन, सम्भावनाहरूले भरिएको जीवित भूगोल पनि हो । यहाँका डाँडाकाँडा, वनजङ्गल, धार्मिक स्थल, सांस्कृतिक सम्पदा र मानवीय पुँजीले विकासका अनेकौँ ढोका खोल्न सक्छन् । तर प्रश्न उठ्छ— के हामीले यी सम्भावनालाई गम्भीरताका साथ पहिचान गरेका छौँ ? के हामीसँग यिनलाई स्थानीय रोजगारी, उद्यमशीलता र समृद्धिमा रूपान्तरण गर्ने स्पष्ट दृष्टि, दृढ इच्छाशक्ति र कार्यान्वयनयोग्य योजना छ ?

विकासको बहस गर्दा हामी प्रायः अग्ला भवन, फराकिला सडक, कालोपत्रे मार्ग र ठूला भौतिक संरचनालाई समृद्धिको मापदण्ड मान्छौँ। तर समृद्धिको वास्तविक अर्थ भौतिक संरचनाको उचाइमा मात्र सीमित हुँदैन । नागरिकले आफ्नै ठाउँमा सम्मानजनक रोजगारी पाउनु, युवाले आफ्नो भविष्य आफ्नै माटोमा देख्नु, व्यवसायीले लगानीको सुरक्षित वातावरण पाउनु, किसानले उत्पादनको उचित मूल्य पाउनु, पर्यटक केही घण्टाका लागि होइन, केही दिन बिताउने गरी आकर्षित हुनु र नागरिकले पारदर्शी तथा प्रभावकारी सार्वजनिक सेवा प्राप्त गर्नु नै समृद्धिका वास्तविक सूचक हुन्।

विकासको प्रश्न अब कति संरचना बने भन्ने मात्र होइन, ती संरचनाले कति अवसर सिर्जना गरे, कति जीवन बदले र स्थानीय अर्थतन्त्रलाई कति गतिशील बनाए भन्ने पनि हो।

त्यसैले अब नागार्जुनको विकासलाई सडक र भवन निर्माणको सीमित घेराबाट बाहिर निकालेर स्थानीय अर्थतन्त्र, सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र नागरिकको जीवनस्तरसँग जोड्न आवश्यक छ। विकासको प्रश्न अब कति संरचना बने भन्ने मात्र होइन, ती संरचनाले कति अवसर सिर्जना गरे, कति जीवन बदले र स्थानीय अर्थतन्त्रलाई कति गतिशील बनाए भन्ने पनि हो।

पर्यटन : घुमफिरको गन्तव्यबाट अर्थतन्त्रको आधारसम्म
पर्यटन भन्नु कुनै पर्यटकीय स्थलमा स्वागतद्वार वा सूचना बोर्ड राख्नु, त्यहाँ पुग्ने सडक निर्माण गर्नु अथवा वर्षमा एकपटक महोत्सव आयोजना गर्नु मात्र होइन। पर्यटन त स्थानीय उत्पादन, रोजगारी, होटल, रेस्टुरेन्ट, होमस्टे, यातायात, हस्तकला, कृषि, संस्कृति र सेवासँग जोडिएर एउटा जीवन्त आर्थिक चक्र निर्माण गर्ने माध्यम हो।

नागार्जुनसँग यस्तो आर्थिक चक्र निर्माण गर्न सक्ने पर्याप्त आधार छन्। ईचङ्गुनारायणदेखि हल्चोक आकाश भैरवसम्म, रानीवनदेखि नागार्जुन र जामाचोसम्म, ह्वाइट गुम्बादेखि बद्रीनारायणधामसम्म, गणेशमान स्मृति पार्कदेखि सहिद पार्कसम्म, भीमसेनस्थानदेखि विभिन्न होमस्टेसम्म तथा आदेश्वरदेखि हरिसिद्धिसम्मका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदालाई परस्पर जोडेर आकर्षक पर्यटकीय अनुभव निर्माण गर्न सकिन्छ ।

यी सम्पदाहरू अलगअलग स्थलका रूपमा मात्र परिचित रहिरहने कि तिनलाई एउटै व्यवस्थित पर्यटन सर्किटमा आबद्ध गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसमक्ष प्रस्तुत गर्ने ? यो प्रश्न अब नीतिनिर्माता, स्थानीय सरकार, पर्यटन व्यवसायी र निजी क्षेत्रले गम्भीरतापूर्वक लिनुपर्ने बेला आएको छ।

जब पर्यटकको बसाइ लम्बिन्छ, तब उसको खर्च पनि स्थानीय अर्थतन्त्रमा बढी प्रवाहित हुन्छ। यहीँबाट पर्यटन वास्तविक आम्दानी र रोजगारीको माध्यम बन्न सक्छ।

एउटा पर्यटक नागार्जुन आउँदा उसले केवल एउटा धार्मिक स्थलको दर्शन गरेर फर्कनु नपरोस् । उसले यहाँको प्राकृतिक सौन्दर्य अनुभव गर्न सकोस्, स्थानीय परिकारको स्वाद लिन सकोस्, मौलिक संस्कृतिसँग परिचित हुन सकोस्, स्थानीय उत्पादन खरिद गर्न सकोस् र सम्भव भएसम्म स्थानीय होमस्टेमा बसेर यहाँको जीवनशैली बुझ्न सकोस् । जब पर्यटकको बसाइ लम्बिन्छ, तब उसको खर्च पनि स्थानीय अर्थतन्त्रमा बढी प्रवाहित हुन्छ। यहीँबाट पर्यटन वास्तविक आम्दानी र रोजगारीको माध्यम बन्न सक्छ।

यसका लागि नगरपालिकाले पर्यटकीय स्थलहरूको सम्भाव्यता अध्ययन, पहुँचमार्गको सुधार, पदमार्गको व्यवस्थापन, सूचना प्रणाली, सरसफाइ, सुरक्षा, डिजिटल प्रचारप्रसार र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्छ। सम्भावना पहिचान गर्नु पहिलो खुड्किलो होस् त्यसलाई योजनाबद्ध ढङ्गले कार्यान्वयन गर्नु वास्तविक नेतृत्वको परीक्षा हो।

नागार्जुनलाई ‘विकेन्ड डेस्टिनेसन’ बनाउने अवसर
काठमाडौँ उपत्यका विशाल जनघनत्व, व्यस्त दिनचर्या र निरन्तर फैलिँदो सहरी जीवनको केन्द्र हो। हप्ताभरि कामको चापमा बिताउने मानिसहरू सप्ताहान्तमा केही समय प्रकृति, शान्ति, आध्यात्मिकता र नयाँ अनुभवको खोजीमा हुन्छन्। राजधानीसँगको भौगोलिक निकटता नागार्जुनका लागि यही अर्थमा ठूलो आर्थिक अवसर हो ।

नागार्जुनलाई व्यवस्थित ‘विकेन्ड डेस्टिनेसन’ अर्थात् सप्ताहान्तमा घुम्न र समय बिताउन उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। तर यसका लागि प्रचारप्रसार मात्र पर्याप्त हुँदैन । पर्यटकले यहाँ आएर के गर्ने, कहाँ जाने, के खाने, कहाँ बस्ने र कसरी फरक अनुभव लिएर फर्कने भन्ने प्रश्नको स्पष्ट उत्तर दिन सक्नुपर्छ।

पदयात्रा, साइक्लिङ, प्राकृतिक दृश्यावलोकन, धार्मिक भ्रमण, पारिवारिक मनोरञ्जन, स्थानीय खानाका परिकार, होमस्टे, सांस्कृतिक कार्यक्रम र वातावरणमैत्री साहसिक पर्यटनलाई समेटेर विभिन्न अवधिका पर्यटकीय प्याकेज विकास गर्न सकिन्छ।

पर्यटनको सफलता पर्यटकको सङ्ख्या गन्नुमा मात्र हुँदैन, त्यसबाट स्थानीय समुदायले कति आम्दानी गर्‍यो, कति रोजगारी सिर्जना भयो र स्थानीय उत्पादनको बजार कति विस्तार भयो भन्ने कुराले यसको वास्तविक उपलब्धि निर्धारण गर्छ।

यस्तो पहलले विशेषगरी युवाका लागि रोजगारी र उद्यमशीलताको ढोका खोल्न सक्छ । स्थानीय युवाले पर्यटक गाइड, चालक, होटल तथा रेस्टुरेन्ट सञ्चालक, कुक, होमस्टे व्यवस्थापक, फोटोग्राफर, डिजिटल कन्टेन्ट निर्माता वा हस्तकला व्यवसायीका रूपमा अवसर पाउन सक्छन् । किसानले स्थानीय उत्पादनको बजार पाउन सक्छन् भने साना उद्यमीले आफ्ना वस्तु तथा सेवा पर्यटकसमक्ष पुर्‍याउन सक्छन्।

पर्यटनको सफलता पर्यटकको सङ्ख्या गन्नुमा मात्र हुँदैन, त्यसबाट स्थानीय समुदायले कति आम्दानी गर्‍यो, कति रोजगारी सिर्जना भयो र स्थानीय उत्पादनको बजार कति विस्तार भयो भन्ने कुराले यसको वास्तविक उपलब्धि निर्धारण गर्छ।

संस्कृति जोगाएर पर्यटन बढाऔँ
विकासका नाममा आफ्नो पहिचान गुमाउनु समृद्धि होइन। आफ्नो माटोको मौलिकता मेटाएर गरिने विकासले बाहिरी स्वरूप त बदल्न सक्छ, तर समाजको आत्मालाई समृद्ध बनाउन सक्दैन।

नागार्जुनको वास्तविक शक्ति यहाँको माटो, संस्कृति, परम्परा, जातीय विविधता, धार्मिक आस्था र स्थानीय जीवनशैलीमा निहित छ। त्यसैले यहाँको सांस्कृतिक सम्पदाको संरक्षणलाई पर्यटन विकासको अभिन्न अङ्ग बनाउनुपर्छ।

जुन समाजले आफ्नो इतिहास बिर्सन्छ, उसले भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण आधार गुमाउँछ ।

स्थानीय पर्व, जात्रा, मौलिक खानपान, लोककला, संगीत, परम्परागत वास्तुकला, धार्मिक विश्वास र स्थानीय इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी पर्यटनसँग जोड्न सकिन्छ । यसले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्ने आधार पनि प्रदान गर्छ।

जुन समाजले आफ्नो इतिहास बिर्सन्छ, उसले भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण आधार गुमाउँछ । त्यसैले विद्यालय तहदेखि नै स्थानीय इतिहास र सम्पदाबारे अध्ययन गराउने, ज्येष्ठ नागरिकसँग रहेका ऐतिहासिक स्मृति सङ्कलन गर्ने, पुराना अभिलेख संरक्षण गर्ने र स्थानीय सम्पदाको डिजिटल अभिलेख तयार गर्ने कामलाई नगरपालिकाले प्राथमिकतामा राख्नुपर्छ।

सांस्कृतिक सम्पदा संरक्षण कुनै औपचारिक कार्यक्रमको विषय मात्र होइन, यो भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हो।

डिजिटल नागार्जुन : नागरिकको सेवा, नागरिककै पहुँचमा
समृद्ध र सुशासित नगरपालिकाको अर्को महत्त्वपूर्ण पहिचान प्रभावकारी सार्वजनिक सेवा प्रवाह हो। नागरिकले सामान्य सिफारिस, सूचना वा प्रशासनिक कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घटाउँदै लैजानुपर्छ।

आजको प्रविधिको युगमा कर, सिफारिस, गुनासो, सूचना, योजना, बजेट र सार्वजनिक सेवासँग सम्बन्धित धेरै काम डिजिटल प्रणालीमार्फत गर्न सकिन्छ। नागरिकले आफ्नो मोबाइल वा कम्प्युटरबाटै आवश्यक सूचना प्राप्त गर्न सक्ने, गुनासो दर्ता गर्न सक्ने र सेवाको अवस्थाबारे जानकारी लिन सक्ने प्रणाली निर्माण गर्नु अब विलासिता होइन, सुशासनको आवश्यकता हो।

नगरपालिकाले कुन योजनामा कति बजेट विनियोजन भयो, कति खर्च भयो, कामको प्रगति कस्तो छ र निर्धारित लक्ष्यअनुसार काम भइरहेको छ कि छैन भन्ने जानकारी नागरिकले सहजै हेर्न सक्ने सार्वजनिक डिजिटल प्रणाली विकास गर्न सक्छ ।

पर्यटन, पार्क, पार्किङ, मनोरञ्जन, होटल, कृषि बजार, सांस्कृतिक केन्द्र र खेलकुद पूर्वाधारजस्ता क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको सम्भावना खोजिनुपर्छ।

यस्तो प्रणालीले पारदर्शिता बढाउन, अनियमितताको सम्भावना घटाउन, नागरिकको विश्वास अभिवृद्धि गर्न र जनप्रतिनिधिलाई थप जवाफदेही बनाउन मद्दत गर्छ। प्रविधिको प्रयोगको वास्तविक उपलब्धि वेबसाइट वा एप बनाउनुमा होइन, त्यसले नागरिकको समय, खर्च र झन्झट कति घटायो भन्नेमा देखिनुपर्छ ।

सार्वजनिक–निजी साझेदारी : सम्भावनालाई लगानीमा बदल्ने बाटो
नगरपालिकाले सबै काम आफ्नै सीमित स्रोतबाट सम्पन्न गर्नुपर्छ भन्ने सोचबाट अब बाहिर निस्कन आवश्यक छ। सार्वजनिक हित सुनिश्चित गर्दै निजी क्षेत्रको पुँजी, सीप, प्रविधि र व्यवस्थापकीय क्षमतालाई विकाससँग जोड्न सकिन्छ।

पर्यटन, पार्क, पार्किङ, मनोरञ्जन, होटल, कृषि बजार, सांस्कृतिक केन्द्र र खेलकुद पूर्वाधारजस्ता क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको सम्भावना खोजिनुपर्छ। नगरपालिकाले आवश्यक नीति, पूर्वाधार र नियमनको आधार तयार गर्ने तथा निजी क्षेत्रले कानुनी र पारदर्शी प्रक्रियामार्फत लगानी र व्यवस्थापनमा भूमिका निर्वाह गर्ने वातावरण बनाउन सकिन्छ।

यसका लागि सम्भावित आयोजनाको अध्ययन, लगानीको स्पष्ट ढाँचा, वातावरणीय प्रभावको मूल्याङ्कन, पारदर्शी छनोट प्रक्रिया र स्थानीय समुदायको हित सुनिश्चित गर्ने व्यवस्था आवश्यक हुन्छ।

सार्वजनिक–निजी साझेदारीको उद्देश्य निजी क्षेत्रलाई मात्र लाभ पुर्‍याउनु होइन। यसबाट नगरपालिकाको स्रोतको प्रभावकारी उपयोग, स्थानीय रोजगारीको सिर्जना, गुणस्तरीय सेवा र दीर्घकालीन सार्वजनिक लाभ सुनिश्चित हुनुपर्छ।

सीमित स्रोत हुनु विकासको अन्तिम सीमा होइन, उपलब्ध स्रोतलाई कति दूरदर्शी ढङ्गले परिचालन गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो।

नागार्जुनको अर्को स्रोत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
नागार्जुनको विकास सम्भावनाको चर्चा गर्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई अलग राख्न सकिँदैन। काठमाडौँ उपत्यकाको बढ्दो सहरीकरण र कङ्क्रिटका संरचनाबीच यस निकुञ्जको वनक्षेत्र प्राकृतिक सन्तुलन, जैविक विविधता र स्वच्छ वातावरणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ।

यसको आसपास रहेको प्राकृतिक भूगोलले पदयात्रा, साइक्लिङ र प्रकृतिमा आधारित पर्यटनका सम्भावना प्रस्तुत गर्छ। नागार्जुन नगरपालिकाका वडा नम्बर १, २, ३, ६ र ८ लाई छोएर धादिङतर्फ फैलिएको यस क्षेत्रलाई वातावरणीय संवेदनशीलता र संरक्षणको आवश्यकतालाई केन्द्रमा राखेर पर्यटनसँग जोड्न सकिन्छ।

प्रकृतिको संरक्षणलाई कमजोर बनाएर गरिने पर्यटन विकास अन्ततः आफ्नै आधार नष्ट गर्नु हो।

निकुञ्जको परिधिमा ‘मिनी ग्रेटवाल’ जस्तो पदमार्ग वा दृश्यावलोकनको संरचना विकास गर्ने परिकल्पनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। तर यस्तो अवधारणालाई अघि बढाउँदा यसको सम्भाव्यता, वातावरणीय प्रभाव, जैविक विविधतामा पर्न सक्ने असर, कानुनी प्रावधान र सम्बन्धित निकायको स्वीकृतिलाई प्राथमिकतामा राख्नुपर्छ।

प्रकृतिको संरक्षणलाई कमजोर बनाएर गरिने पर्यटन विकास अन्ततः आफ्नै आधार नष्ट गर्नु हो। त्यसैले यहाँको प्राकृतिक सम्पदालाई उपभोग गर्ने स्रोतका रूपमा मात्र होइन, भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने साझा सम्पत्तिका रूपमा बुझ्न आवश्यक छ।

निकुञ्जलाई संरक्षण गर्दै त्यसको छेउछाउमा व्यवस्थित पैदलमार्ग र साइकल मार्ग विकास गर्ने सम्भावनाबारे स्थानीय तहबाट भएका पहललाई समन्वित र योजनाबद्ध ढङ्गले अघि बढाउन सकिन्छ। यसका लागि नगरपालिका, सम्बन्धित वडा, निकुञ्ज प्रशासन, वन तथा वातावरणसम्बन्धी निकाय, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य हुन्छ।

यस क्षेत्रमा कुनै पनि संरचना निर्माण वा गतिविधि सञ्चालन गर्नुअघि आवश्यक कानुनी स्वीकृति र वातावरणीय मापदण्ड पूरा गर्नुपर्छ। प्रकृतिको विनाश गरेर पर्यटनको विस्तार गर्ने होइन, प्रकृतिको संरक्षणलाई नै पर्यटनको विशिष्ट पहिचान बनाउने दृष्टिकोण आवश्यक छ।

(लेखक हाल नागार्जुन नगरपालिका–२ को वडाध्यक्षका साथै त्रिभुवन विश्वविद्यालयको Rural Development मा M. Phill हुन् ।)

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ११ : ५६ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित