बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै « Khabarhub

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गराउने पाइपलाइन मर्मत कार्यलाई तीव्र पारिएको छ ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइपलाइन बनाएर खानेपानी आपूर्ति गराउने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष रमेश गिरीले राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइपलाइन निर्माण भइरहेको जानकारी दिए । ‘राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको हो ।’

कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेको छ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट तिहारअघि नै पानी आपूर्ति गराउने तयारीमा जुटेको संस्थाका अध्यक्ष गिरीले बताए ।

बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।

खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायी पनि प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लब लगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए ।

अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।

सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारि खानेपानी तथा ढल ब्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ । (रासस)

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ११ : ४९ बजे

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा