हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ ।
संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार सम्मेलनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको सम्मेलन कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी छन् । उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी प्रस्तुति दिएका थिए ।
सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति, कुलपति तथा रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता छ ।
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका असल अभ्यास, उपलब्धि र चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । साथै, प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न छलफल गरिनेछ ।
सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, संघ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिलगायत विषयमा छलफल हुनेछ ।
त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई पनि प्राथमिकता दिइने जनाइएको छ ।
दुईदिने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया