काठमाडौँ– नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह प्रथम ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’को ‘आधिकारिक मिडिया पार्टनर’ को रूपमा ‘खबरहब मिडिया’ रहने भएको छ ।
बुधबार खबरहबको कार्यालयमा आयोजित एक समारोहकाबीच काठमाडौँ जलवायु कार्य सप्ताहको तर्फबाट प्रतिनिधित्व गर्ने संस्था ‘इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन’, ‘खबरहब मिडिया’ बीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीको मुख्य उद्देश्य र सहकार्यका क्षेत्रहरू
सम्पन्न समझदारीअनुसार आगामी मंसिर ७ गते (सन् २०२६ नोभेम्बर २३) देखि सुरु हुने प्रथम ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ का सम्पूर्ण गतिविधि, नीतिगत संवाद, वैज्ञानिक तथ्य र जनचेतनामूलक सन्देशहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवाह गर्न खबरहबले मुख्य सञ्चार साझेदारको भूमिका निर्वाह गर्नेछ ।
समझदारीपत्रमा उल्लेख भएअनुसार दुवै संस्थाबीच निम्न मुख्य क्षेत्रहरूमा सहकार्य हुनेछ :
विशेष समाचार तथा सामग्री प्रकाशन: जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरणीय न्याय र सहरी उत्थानशीलता सम्बन्धी समाचार, खोजमूलक रिपोर्ट र आलेखहरूलाई खबरहबले उच्च प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्नेछ।
नीतिगत बहस र विशेष अन्तर्वार्ता: जलवायु विज्ञ, नीति निर्माता, स्थानीय सरकारका प्रतिनिधि, युवा तथा समुदायका आवाजलाई समेटेर विशेष संवाद, फिचर र अडियो–भिडियो अन्तर्वार्ताहरू तयार पारिनेछ।
मल्टिमिडिया कभरेज: सप्ताहव्यापी रूपमा सञ्चालन हुने प्रमुख सम्मेलन, कार्यशाला तथा जनसहभागितामूलक कार्यक्रमहरूको विशेष डिजिटल सामग्री उत्पादनमार्फत आम नागरिकसम्म प्रत्यक्ष पहुँच पुर्याइनेछ।
सचेतना र नागरिक सहभागिता अभिवृद्धि: जलवायु संकटको समाधानका लागि स्थानीय तथा परम्परागत ज्ञान, नवीन प्रविधि र नागरिक दायित्वबारे डिजिटल अभियानमार्फत जनचेतना जगाइनेछ।
सञ्चार र विज्ञानको सहकार्यले जलवायु अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास
समझदारीपत्रमा हस्ताक्षर भएसँगै दुवै संस्थाका प्रतिनिधिहरूले जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अनुसन्धान र सशक्त सञ्चारमाध्यमबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (IHRR) , नेपाल का अनुसार वैज्ञानिक तथ्य, नीतिगत बहस र स्थानीय समुदायका भोगाइलाई आम नागरिक तथा निर्णयकर्तासम्म पुर्याउन खबरहबजस्तो प्रभावशाली र विश्वसनीय मिडियासँगको साझेदारीले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ लाई ऐतिहासिक रूपमा सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
त्यस्तै, खबरहब मिडियाले सामाजिक उत्तरदायित्व र वातावरणीय संवेदनशीलतालाई आत्मसात् गर्दै नेपालको जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकासका एजेन्डालाई मूलधारको पत्रकारितामार्फत निरन्तर आवाज उठाउँदै आएको र यस सहकार्यले सो अभियानलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ ।
के हो ‘काठमाडौँ जलवायु कार्य सप्ताह ) २०२६’ ?
नेपालको राष्ट्रिय जलवायु सप्ताहको रूपमा आयोजना हुन लागेको ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ को आधिकारिक आयोजक सहर काठमाडौँ महानगरपालिका रहेको छ भने इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, नेपाल ले प्रमुख साझेदार तथा सचिवालयको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। यसअघि गत असोज १६ गते (२ अक्टोबर २०२६) काठमाडौँ महानगरपालिका र आईएचआरआरबीच जलवायु सप्ताह आयोजना गर्नेसम्बन्धी औपचारिक सम्झौता भइसकेको छ।
आगामी मंसिर ७ गते (नोभेम्बर २३) देखि एक सातासम्म चल्ने यस बृहत् महाअभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाका सभाहल, विद्यालय, खुला स्थान तथा ऐतिहासिक सम्पदा क्षेत्रहरूमा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, हरित पूर्वाधार र सहरी उत्थानशीलतासम्बन्धी विविध कार्यशाला, प्रदर्शनी, युवा सम्मेलन र सामुदायिक अन्तरक्रियाहरू सञ्चालन गरिनेछन्।
स्वच्छ, स्वस्थ, हरियाली र जलवायु–उत्थानशील काठमाडौँ निर्माणका लागि सरकारी निकाय, विज्ञ, निजी क्षेत्र, सञ्चारजगत् र आम नागरिकलाई एउटै मञ्चमा जोड्नु यस सप्ताहको मूल ध्येय रहेको छ।














प्रतिक्रिया