ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु) « Khabarhub

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको पाँचदिने प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा नेपालमा उत्पादित गोदावरीका विभिन्न जातका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

आयोजकका अनुसार प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एउटा प्लान्ट क्लिनिक, चारवटा अफिसियल, दुईवटा प्रतियोगितात्मक र एउटा फोटो सेल्फी स्टल रहेका छन् ।

प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्मबीच गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धा गराइएको छ । 

मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यसका साथै उत्कृष्ट स्टल र यस वर्ष थप गरिएको उत्कृष्ट पुष्प सजावट विधामा पनि प्रतिस्पर्धा गराइनेछ । 

विभिन्न विधामा उत्कृष्ट हुने सहभागीलाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तिहारमा घर, आँगन तथा कार्यालय सजाउन गोदावरी फूलको माग बढ्ने भएकाले प्रदर्शनीले फूलको व्यावसायिक उत्पादन, बजारीकरण र पुष्प व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी पुष्प उत्पादकलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बिक्री गर्ने अवसरसमेत प्रदान गर्नेछ ।

आयोजकले प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरेको छ । 

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा फूलप्रेमी, व्यवसायी तथा सर्वसाधारणले विभिन्न प्रजातिका गोदावरी फूलको अवलोकन गर्नुका साथै आफूलाई आवश्यक फूल तथा बिरुवा खरिद गर्न सक्नेछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : २१ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित