काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान नभएको स्पष्ट पारेका छन् । विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा जोडिएका व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि किसिमको चिनजान, सम्पर्क र संलग्नता नरहेको तथा आफूले उनीहरूलाई कहिल्यै नभेटेको प्रस्ट पारेका छन् ।
साथै, उक्त प्रसंगमा उल्लेख गरिएको नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीश भइसकेको अवस्थासमेत नरहेको उनले औंल्याए । उनले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित भएका आधारहीन, झुटा र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !” लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफू आश्चर्यचकित र स्तब्ध भएको उनले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
जनतामा भ्रम छर्ने र दूषित उद्देश्यबाट प्रेरित भएर यस्ता आधारहीन तथा भ्रामक समाचार फैलाइएको भन्दै उनले भर्त्सना गरेका छन् । प्रधानन्यायाधीश शर्माले यस्ता कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा विशेष अनुरोधसमेत गरेका छन् ।















प्रतिक्रिया