काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित कमाइ गर्न नसकेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले यसबारे मुख खोलेका छन् ।
दशैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ को व्यापार अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उनले निर्माताको लगानी सुरक्षित गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्।
सञ्चारकर्मीसँगको कुराकानीमा दीपकराजले आफ्नो समूहले निर्माण गरेका फिल्मलाई दर्शकले राम्रो भन्ने गरे पनि त्यसअनुसारको कमाइ नहुने गरेको बताए ।
उनले ‘वडा नम्बर ६’ को उदाहरण दिँदै फिल्मलाई दर्शकले मन पराए पनि अन्य फिल्मको तुलनामा यसको कमाइ कम रहेको उल्लेख गरे।
‘छ माया छपक्कै २’ ले पनि सकारात्मक प्रतिक्रिया पाएको तर त्यसलाई बक्स अफिसको कमाइमा रूपान्तरण गर्न नसकेको उनको भनाइ छ।
दीपकराजका अनुसार आफ्नो समूहले फिल्म निर्माण गर्दा कथा र प्रस्तुतिमा विशेष ध्यान दिने गरेको छ।
तर, यस्तो निर्माण शैलीले बजेट बढाउने भएकाले लगानी सुरक्षित गर्नु चुनौतीपूर्ण हुने गरेको उनले बताए । अहिले ‘छ माया छपक्कै २’ को लगानी सुरक्षित हुने चरणमा रहेको उनको दाबी छ।
बक्स अफिस स्रोतका अनुसार फिल्मले हालसम्म घरेलु बजारमा तीन करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।
फिल्मका निर्माता रोहित अधिकारी हुन् भने दीपकराज र दीपाश्री अभिनय, लेखन तथा सिर्जनात्मक पक्षमा पनि जोडिएका छन्।
यसअघि प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ ले घरेलु बजारमा नौ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो।
पहिलो भागको सफलताले सिक्वेलप्रति दर्शकको अपेक्षा बढाएको थियो। तर, अहिलेसम्मको व्यापार हेर्दा ‘छ माया छपक्कै २’ ले अघिल्लो भागको कमाइलाई भेट्न सकेको छैन।
दर्शकको सकारात्मक प्रतिक्रियाका बाबजुद कमाइ अपेक्षाअनुसार नबढ्नु नेपाली फिल्म क्षेत्रका लागि पनि चासोको विषय बनेको छ।
अब फिल्मले प्रदर्शनका बाँकी दिनमा व्यापार बढाएर लगानी सुरक्षित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ।













प्रतिक्रिया