भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग « Khabarhub

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको बाढीपछि बेपत्ता भएका नागरिकको सम्बन्धित परिवार एवं आफन्तसँग विवरण माग गरेका छन् । 

जिल्लास्थित १३ स्थानीय तहले ‘रसुवा-भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार वडामार्फत बेपत्ता नागरिकको विवरण माग गरेका हुन् । 

यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा यही कात्तिक १८ गतेसम्म तोकेको छ । 

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागिएको हो । 

काभ्रेपलाञ्चोक प्रशासनको गत असोज २७ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीपछि काभ्रेपलाञ्चोकका ३७ जना बेपत्ता भएका छन् । कार्यालयका अनुसार बाढीमा परी चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए । 

आज खानीखोला गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पाँच दिनको समय दिएर उक्त बाढीमा आफ्ना नागरिक बेपत्ता भएकाको विवरण सम्बन्धित परिवार तथा आफन्तसँग मागेको छ । 

नाम-थर, उमेर लिङ्ग, अस्थायी तथा स्थायी ठेगाना, नागरिकताको प्रमाणपत्र नम्बर, बेपत्ता भएको मिति, स्थान र परिस्थिति तथा निवेदन दिनेको नाता र सम्पर्क नम्बर माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाले जानकारी दिए । 

प्राधिकरणका अनुसार स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ । 

गत असोज २९ गतेदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। 

उनका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । 

यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति यकिन गर्ने निर्णय गरिएको छ । 

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ ।

त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको छ । यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने जनाइएको छ ।

नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाइएको हो । 

त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ५५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित