जनकपुरको चमत्कार अर्थात् राहुल यादव « Khabarhub

जनकपुरको चमत्कार अर्थात् राहुल यादव


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा दुई विकेट, दुई क्याच। दोस्रो खेलमा चार विकेट, एउटा क्याच अनि प्लेयर अफ द म्याचको उपाधि। यसरी एनपीएल तेस्रो संस्करणमा चमत्कार गरिरहेका १६ वर्षीय क्रिकेटर हुन् रौतहटका राहुल यादव। जो जनकपुर बोल्ट्समा ट्यालेन्ट हन्टबाट आबद्ध भएर एनपीएल तेस्रो संस्करण खेल्न काठमाडौँ आएका हुन्।

कीर्तिपुर मैदानमा कात्तिक १० गते कर्णाली याक्सविरुद्ध जनकपुरबाट डेब्यु गरेका राहुलले खेलको पहिलो बलमा विकेट लिएर चमत्कार गरे। कर्णालीविरुद्ध तेस्रो ओभर बलिङ गर्न पाएका उनले पहिलो बलमा दीपक डुम्रेलाई आउट गर्दै एनपीएल डेब्युलाई यादगार मात्र बनाएनन्, मैदानमा सबैको आकर्षणको केन्द्रसमेत बने।

पहिलो खेलमा दोस्रो विकेटका रूपमा छैटौँ ओभरको तेस्रो बलमा उनले कर्णालीबाट खेलिरहेका पाकिस्तानका ब्याट्सम्यान हुसेन तलतलाई आउट गरे।

यी दुई विकेटमा मात्र उनी रोकिएनन्; १३ ओभरको पहिलो बलमा हरमित सिंहको बलमा बंगलादेशबाट नेपाल आएर कर्णालीबाट खेलिरहेका आरिफुल इस्लामलाई क्याच आउट गराए । मोइन अलीले फालेको खेलको पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर स्कटल्यान्डका मार्क वाटको प्रहार क्याच गर्न सफल भए ।

राहुलको यो गति दोस्रो खेलमा अझ आक्रामक बनेर आयो। काठमाडौँविरुद्ध बिहीबार (कात्तिक १२) गते दोस्रो ओभर बलिङ गरेका राहुलले पहिलो बलमै विकेट लिए। तीन बल खेलेर एक रन बनाएका काठमाडौँका ओपनर ब्याट्सम्यान अस्ट्रेलियन क्रिकेटर साम हेजलेटलाई मोइन अलीबाट क्याच आउट गराएर पेभिलियन फर्काए।

छैटौँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका राहुलले फेरि पहिलो बलमै काठमाडौँका स्मित पटेलको विकेट लिए। १३ बलमा १३ रन बनाएर खेलिरहेका अमेरिकन क्रिकेटर पटेललाई जनकपुरका कप्तान हरमित सिंहबाट क्याच आउट गराएका हुन्।

व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न १७ औँ ओभरमा बल बोकेका राहुलले पाँचौँ र छैटौँ बलमा लगातार करण केसी र मोहम्मद आदिल आलामको विकेट लिए। काठमाडौँका कप्तान करण केसी १८ बलमा ८ रन बनाएर संघर्ष गरिरहेको अवस्थामा अभिषेक तिवारीबाट क्याच आउट भए भने आदिल आलामलाई शून्यमै एलबिडब्लु धरापमा पारेका हुन्।

काठमाडौँविरुद्ध सनसनीपूर्ण बलिङ गरेका उनले आफ्नो अन्तिम ओभर र खेलको १९ औँ ओभरमा दुई चौकासहित १३ रन दिए। तर उनका अघिल्ला तीन ओभर सनसनीपूर्ण बन्दा उनले चार ओभर बलिङ गरेर चार विकेट लिँदै ३१ रन खर्चिए।

राहुलको यो सनसनीपूर्ण बलिङकै कारण काठमाडौँ १९ ओभर ३ बल खेल्दा सबै विकेट गुमाएर ११५ रनमा रोकियो। ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा पूरा गर्दा राहुल एनपीएलको दोस्रो खेलमै प्लेयर अफ द म्याच बनेका हुन्।

लगातार दुई खेलमा कुल ६ विकेट लिएका र दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेका राहुलले समग्र जनकपुर टिम र फ्यानलाई मात्र होइन, नेपाली क्रिकेटलाई नै खुसी दिएका छन्। युवा खेलाडीका रूपमा नेपाली क्रिकेटले राहुललाई पाएको छ। बिहीबार प्लेयर अफ द म्याच बनेपछि मिडियासँग कुरा गर्दै उनले लगातार विकेट लिन सफल भएको र जनकपुरका सिनियर खेलाडीसँग सिक्न पाउँदा खुसी लागेको बताएका छन्।

रौतहतको चन्द्रपुर क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका राहुल जनकपुर बोल्ट्सको आइकोनिक प्लेयर छनोट हुँदै एनपीएल खेल्न आइपुगेका हुन्। मधेश प्रदेशमा भएको छनोट प्रतियोगितामा सहभागी ४४६ खेलाडीलाई पछाडि पार्दै उनी एनपीएल खेल्न काठमाडौँ आएका हुन्।

यसअघि उनले विभिन्न स्थानीय क्रिकेट प्रतिस्पर्धामा पाएका ट्रफी र मेडल यत्तिबेला उनकी आमाले फिजाएर देखाएका तस्बिरसमेत सामाजिक सञ्जालमा चर्चित छन्।

रौतहतको बौधिमाई नगरपालिका घर भएका राहुल यादव, जसले पछिल्लो समय आफ्नो खेललाई लयमा ल्याउन चन्द्रपुर नगरपालिका-८ मा रहेको बेतौना क्रिकेट मैदानमा दिनरात नभनी अभ्यास गरेका थिए। जुन मिहिनेतले उनले एनपीएलका दुई खेलमा आफ्नो क्षमता देखाउन सफल भएका छन्।

मात्र कक्षा ९ मा अध्ययन गर्ने राहुलको खेलकाे एनपीएलमा सहभागी विदेशी खेलाडीलेसमेत प्रशंसा गरेका छन् । इंग्ल्यान्डका माेइन अलीले उनी नेपाली क्रिकेटको उदयमान खेलाडी भएको बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ८ : १६ बजे

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक