दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्याउँदै याङवरक « Khabarhub

दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्याउँदै याङवरक


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण गर्दै लगेको छ ।

सोही सिलसिलामा च्याङथापू  र ओयाममा भरखरै निर्माण सम्पन्न स्वास्थ्य चौकी पछिल्लो नमूनाका रुपमा रहेका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले वडा १ स्थित च्याङथापू स्वास्थ्य चौकी र वडा नं ३ स्थित ओयाम स्वास्थ्य चौकीको नवनिर्मित दुईतले भवनको केही दिनअघि मात्रै उद्घाटन गरेका हुन् ।

रु तीन करोड ६ लाख ९० हजार ५०० को लागतमा दुवै स्थानमा नौ/नौकोठे भवन निर्माण भएका हुन । निर्माणको ठेक्का लिएको कम्पनीले दुवै भौतिक पूर्वाधार तोकिएकै समयसीमाभित्र पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिए  । 

यसअघि  स्वास्थ्य चौकी च्याङथापू पुरानो र साँघुरो भवनबाट सञ्चालन हुँदा एकै ठाउँबाट प्रसूति केन्द्र र बहिरङ्ग सेवामा कठिनाइ परेको  थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए । यस्तै, २४सै घण्टा सेवा दिने स्वास्थ्यकर्मीलाई आवासको प्रबन्ध पनि हुँदा सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा स्थानीयवासीको छ ।

याङवरक–३ को ओयाम स्वास्थ्य चौकीमा दुई वर्षअघि मात्रै दुईतले १० कोठे भवन निर्माण भई सेवा प्रवाह भइरहेको थियो । तर बहिरङ्ग र प्रसूति सेवा सञ्चालन गर्नुपर्ने, कर्मचारी आवास पनि अत्यावश्यक भएपछि नयाँ भवन निर्माण थालिएको थियो । 

अहिले स्वास्थ्य चौकीले प्रवाह गर्न सक्ने सबै सेवा दिन पर्याप्त संरचना निर्माण हुँदा सेवाको गुणस्तरमा वृद्धि हुने र दूरदराजका नागरिकले सामान्य उपचारका लागि सदरमुकाम फिदिम र तराईसम्म झर्नुपर्ने बाध्यता हट्ने याङवरक–३ का वडाध्यक्ष बिमल राईको अपेक्षा छ । दुवै स्वास्थ्य चौकीमा चार/चार जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कार्यरत छन् । 

याङवरक–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज राई स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेको लगानीले पूर्वाधार निर्माण र सेवाको गुणस्तर सुधारमा धेरै मद्दत मिलेको बताउँछन् । 

‘यहाँ नाजुक अवस्थामा रहेका स्वास्थ्य संस्थालाई स्थानीय तह बनेपछि द्रुत गतिमा व्यवस्थित संरचनासहित स्तरोन्नति गरिएको छ,’राईले भने, ‘घर–घरमा गएर गर्भ परीक्षण, खोपलगायत अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाले असाध्यै मेहनत गर्नुभएको छ । तर, अझै पनि निजी संस्थामै आकर्षित हुने कुराप्रति चासो दिएर नागरिकको विश्वास जित्नुपर्छ ।’ 

गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले स्थानीय तहको भूमिकाको परिकल्पनाबमोजिम याङवरक गाउँपालिकाका हरेक वडामा प्रसूति सेवासहितको स्वास्थ्य चौकी स्थापना गरिएको बताए । 

‘गत वर्षमात्रै वडा नं २ को बेतेनीमा नयाँ भवन निर्माण भई स्वास्थ्य सेवा सुरुआत भएको छ । यस वर्ष वडा नं १ र ३ का स्वास्थ्य चौकीलाई आवश्यक संरचना बनाइसकेका छौँ’, अध्यक्ष योङ्याले भने, ‘वडा नं ६ को परेवाडाँडा स्वास्थ्य चौकीमा पनि यसै वर्ष नयाँ भवन निर्माण भइसक्छ ।’

यसैबीच, याङवरक–४ स्थित थर्पूमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य चाँडै पूरा गरी सेवा प्रवाह सुरुआत गर्ने लक्ष्यमा गाउँपालिका रहेको छ । यस्तै, गत वर्ष वडा नं २ को सेरेजामा प्राथमिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको र वडा नं ३ को चोथ्रोकमा समेत स्वास्थ्य इकाइ निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

पालिकाले स्वास्थ्य पूर्वाधार निर्माणसँगै यन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सक्दो लगानी गरिरहेको जनाएका छन् ।

याङवरक–२ का स्थानीय चन्द्रमान बेघा नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवा झनै प्रभावकारी हुनेमा आशावादी छन् । ‘अहिलेसम्म पनि ठीकै सेवा पाइएको छ,’बेघाले भने, ‘अब त झनै राम्रो होला भन्ने लागेको छ ।’

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १ : ०६ बजे

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

चितवन– तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच

बालुवा-गिट्टी कुटेर बिताएको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी

काठमाडौँ– बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएको महिला, बालबालिका,

दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्याउँदै याङवरक

पाँचथर– दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकारको धर्ना (तस्बिरहरू)

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता