एउटा पुस्तालाई पढ्न सिकाइयो, सपना देख्न सिकाइयो, सफल हुन सिकाइयो । तर पढिसकेपछि कहाँ जाने, के गर्ने र कसरी बाँच्ने भन्ने प्रश्नमा देश किन मौन छ ?
एउटा विद्यार्थीले आफ्नो जीवनका पन्ध्रौँ, सोह्रौँ, अठारौँ हुँदै बीसौँ वर्षसम्म के गरिरहेको हुन्छ ? किताबसँग संघर्ष, परीक्षासँग प्रतिस्पर्धा, नतिजासँग प्रतीक्षा र भविष्यसँग सम्झौता । उसलाई सानैदेखि एउटै कुरा सिकाइन्छ- पढ, राम्रो अंक ल्याऊ, डिग्री हासिल गर, आफ्नो खुट्टामा उभिऊ । किनकि शिक्षा नै भविष्य बदल्ने सबैभन्दा ठूलो हतियार हो ।
उसले विश्वास गर्छ । आमाबुबाले पनि विश्वास गर्छन् । समाजले पनि त्यही विश्वासको भाषण दिन्छ ।
तर जब त्यही विद्यार्थी हातमा प्रमाणपत्र बोकेर विश्वविद्यालयको ढोकाबाट बाहिर निस्कन्छ, उसको स्वागतमा एउटा प्रश्न उभिएको हुन्छ- ‘अब के ?’ त्यहीँबाट सुरु हुन्छ हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठूलो विडम्बना ।
जुन देशले उसलाई वर्षौँसम्म पढायो, त्यही देशले उसको योग्यताअनुसार काम दिने सुनिश्चितता गर्न सकेन । जुन समाजले उसलाई सफल हुन प्रेरित गर्यो, त्यही समाजले असफलताको पहिलो दोष उसैको टाउकोमा थोपर्छ । जुन व्यवस्थाले उसको भविष्य निर्माण गर्ने वाचा गर्यो, त्यही व्यवस्थासँग उसको भविष्यका लागि कुनै स्पष्ट जवाफ छैन ।
अन्ततः डिग्री हातमा हुन्छ, तर दिशा हुँदैन । योग्यता हुन्छ, तर अवसर हुँदैन । सपना हुन्छ, तर त्यसलाई बाँच्ने आधार हुँदैन ।
यो कस्तो विडम्बना हो, जहाँ विद्यार्थीले आफ्नो पढाइ पूरा गर्छ, तर देशले आफ्नो जिम्मेवारी पूरा गर्दैन ?
हामीकहाँ दीक्षान्त समारोह निकै भव्य हुन्छन् । विश्वविद्यालयका सभाहल सजिन्छन् । पदाधिकारीका भाषण गुञ्जिन्छन् । विद्यार्थीका टाउकामा कालो टोपी हुन्छ, हातमा प्रमाणपत्र हुन्छ र आँखामा हजारौँ सपना । तस्बिर सुन्दर देखिन्छन् । बधाईका शब्दहरू आकर्षक सुनिन्छन् ।
तर ती तस्बिरको फ्रेमबाहिर एउटा कठोर वास्तविकता पनि हुन्छ- भोलिपल्टदेखि त्यही प्रमाणपत्र बोकेर अवसरको खोजीमा भौँतारिने हजारौँ युवा ।
विश्वविद्यालयले दीक्षान्त समारोहमा कति विद्यार्थी दीक्षित भए भनेर गर्व गर्छ । तर तीमध्ये कति विद्यार्थीले आफ्नो अध्ययनसँग सम्बन्धित काम पाए ? कति जनाले सिकेको ज्ञान व्यवहारमा उतार्न पाए ? कति जना स्वरोजगार बने ? कति जनाले आफ्नो योग्यता प्रमाणित गर्ने अवसर पाए ? यी प्रश्नहरूको जवाफ दिने संस्कार हाम्रो शैक्षिक नेतृत्वमा कहिले विकास हुन्छ ?
विश्वविद्यालयको जिम्मेवारी परीक्षा लिएर नतिजा प्रकाशन गर्नु र प्रमाणपत्र वितरण गर्नु मात्रै हो ? विद्यार्थीको भविष्यसँग सम्बन्धित कुनै उत्तरदायित्व हुँदैन ? वर्षौँसम्म शुल्क उठाउने संस्थाले विद्यार्थीको अध्ययनपछिको अवस्थाबारे जवाफ दिनुपर्दैन ?
यदि एउटा विद्यार्थीले चार वर्ष पढेर पनि बजारमा आवश्यक पर्ने व्यावहारिक सीप सिकेको छैन भने दोष कसको ? यदि उसले पढेको विषयमा काम पाउने अवसर नै छैन भने जिम्मेवार को ? यदि उसले डिग्रीपछि फेरि अर्को महँगो तालिम किनेर आफूलाई योग्य बनाउनुपर्छ भने उसले विश्वविद्यालयमा तिरेको शुल्कले वास्तवमा के किनेको थियो ?
हामीले शिक्षालाई ज्ञानको माध्यम बनायौँ कि प्रमाणपत्रको व्यापार ?
अब सरकारको कुरा गरौँ ।
हरेक भाषणमा युवा राष्ट्रका मेरुदण्ड हुन्, देशको शक्ति हुन्, परिवर्तनका संवाहक हुन् र युवाबिना समृद्धि सम्भव छैन भन्ने गरिन्छ । यस्ता वाक्य सुन्दा लाग्छ, यो देशमा युवाको भविष्यभन्दा ठूलो राष्ट्रिय प्राथमिकता अरू केही छैन ।
तर भाषण सकिएपछि के हुन्छ ?
युवा फेरि उही बेरोजगारीको लाइनमा उभिन्छ । रोजगारीका लागि आवेदन दिन्छ । परीक्षाको तयारी गर्छ । ऋण खोज्छ । विदेश जाने प्रक्रिया बुझ्छ । अनि अन्ततः विमानस्थलमा परिवारसँग बिदाइको तस्बिर खिचाउँछ ।
सरकारलाई चाहिएको के हो- युवाको नाममा भाषण गर्ने अवसर कि उनीहरूको भविष्य ?
युवालाई देशको भविष्य भनिन्छ, तर उनीहरूको वर्तमान सुरक्षित गर्ने योजना कहाँ छ ? शिक्षित जनशक्ति उत्पादन गर्न बजेट छुट्याइन्छ, तर त्यो जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्ने रणनीति किन कमजोर छ ? विश्वविद्यालय खोलिन्छन्, तर ती विश्वविद्यालयबाट निस्कने जनशक्तिलाई समेट्ने अर्थतन्त्र निर्माण गर्ने जिम्मेवारी कसको हो ?
देशमा कति विद्यालय खुले, कति विश्वविद्यालय स्थापना भए, कति विद्यार्थीले डिग्री पाए भन्ने तथ्याङ्क सार्वजनिक गर्न सजिलो छ । तर कति युवाले आफ्नो योग्यताअनुसारको जीवन बाँच्न पाए भन्ने प्रश्नको जवाफ दिन किन कठिन छ ?
हामीलाई हरेक वर्ष नयाँ शैक्षिक सत्र चाहिन्छ, नयाँ विद्यार्थी भर्ना चाहिन्छ, नयाँ नतिजा चाहिन्छ । तर के हामीलाई नयाँ अवसर पनि चाहिन्छ भन्ने कुरा राज्यले बिर्सेको हो ?
अझै एउटा असहज प्रश्न- यदि देशले आफ्ना नागरिकलाई पढाउन सार्वजनिक तथा पारिवारिक स्रोत खर्च गर्छ, तर उनीहरूलाई आफ्नो सीप प्रयोग गर्ने वातावरण दिन सक्दैन भने त्यो लगानीको प्रतिफल कहाँ गइरहेको छ ?
युवा विदेशिन्छन् । उनीहरूको श्रमले अर्को देशको अर्थतन्त्र बलियो बनाउँछ । उनीहरूको ज्ञान, सीप र ऊर्जा अर्को समाजको विकासमा खर्च हुन्छ । यता उनीहरूका परिवारले पठाएको रेमिट्यान्समा हाम्रो अर्थतन्त्रले राहत महसुस गर्छ ।
हामी रेमिट्यान्सको तथ्याङ्कमा खुसी हुन्छौँ, तर त्यो रकम पठाउन बाध्य भएको पुस्ताको अधुरो जीवनबारे कति चिन्तित हुन्छौँ ?
विमानस्थलबाट बाहिरिने प्रत्येक युवा केवल एउटा यात्रु होइन । ऊसँग एउटा परिवारको आशा, आमाको प्रतीक्षा, बुबाको अधुरो सपना र कहिलेकाहीँ आफ्नै देशप्रति अन्तिमपटक बाँकी रहेको विश्वास पनि बिदा भइरहेको हुन्छ ।
वर्षौँको मिहिनेत, परीक्षाको दौड र अभिभावकको त्यागपछि हातमा प्रमाणपत्र त पर्छ; तर भोलिपल्टै ‘अब के गर्ने ?’ भन्ने प्रश्नले उभ्याउँछ । भाषणमा युवालाई देशको भविष्य भनिन्छ, व्यवहारमा अवसर र भरोसाको खाँचो देखिन्छ ।
उसलाई विदेश जान रहर छ भनेर व्याख्या गर्न सजिलो छ । तर उसलाई आफ्नै देशमा बस्न मन लाग्ने वातावरण किन दिन सकिएन भनेर जवाफ दिन गाह्रो छ ।
देशमै बस भन्नुअघि देशमै बाँच्न सकिने आधार त बनाऊ !
अब समाजतर्फ फर्कौँ ।
हामी युवालाई प्रश्न गर्न निकै सिपालु छौँ- ‘डिग्री सकियो, जागिर कहिले ?’, ‘अझै घरमै ?’, ‘विदेश जाने तयारी छैन ?’, ‘फलानोको छोराले त पढ्दापढ्दै जागिर पाइसक्यो ।’, ‘यत्रो पढेर पनि केही गर्न सकेनौ ?’
तर हामीले कहिल्यै सोधेका छौँ- त्यो युवाले अवसर खोज्दै कति ढोका ढकढक्यायो ? कति पटक अस्वीकृत भयो ? कति अन्तर्वार्ता दियो ? कति पटक आफ्नो आत्मसम्मानभन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य भयो ? कति रात आफ्नो भविष्य सम्झेर निदाउन सकेन ?
हामीलाई उसको बेरोजगारी देखिन्छ, संघर्ष देखिँदैन । खाली हात देखिन्छ, त्यसलाई भरिदिने अवसरको अभाव देखिँदैन ।
अझ समाजको अर्को चरित्र हेरौँ- हामी योग्यताभन्दा चिनजानलाई प्राथमिकता दिन्छौँ, क्षमताभन्दा पहुँचलाई महत्त्व दिन्छौँ, इमानदार श्रमभन्दा देखावटी प्रतिष्ठालाई सम्मान गर्छौँ । अनि त्यही समाजले युवालाई योग्य, इमानदार र आत्मनिर्भर बन्ने उपदेश दिन्छ । कस्तो दोहोरो चरित्र !
एउटा युवा काम खोज्दै जाँदा अनुभव मागिन्छ । अनुभव लिन खोज्दा अवसर मागिन्छ । अवसर खोज्दा पहुँच मागिन्छ । पहुँच नहुँदा ऊ फेरि सुरुवातमै फर्किन्छ । जागिर दिनेले भन्छ- अनुभव चाहिन्छ । जागिर खोज्नेले भन्छ- अनुभव दिने अवसर चाहिन्छ । तर यो चक्र तोड्ने जिम्मेवारी कसैले लिन चाहँदैन । आखिर नयाँ पुस्ताले पहिलो अवसर पाउने अधिकार पनि गुमाइसकेको हो ?
अभिभावकको पीडा झन् गहिरो छ । कसैले खेतको उत्पादन बेचेर छोराछोरी पढाउँछ । कसैले विदेशमा पसिना बगाएर शुल्क पठाउँछ । कसैले आफ्नो उपचार पछि सार्छ, कसैले आफ्ना रहर काट्छ । उनीहरूको सपना ठूलो हुँदैन- सन्तानले आफूले भोगेको अभाव नभोगोस् ।
तर वर्षौँको त्यागपछि सन्तानको हातमा प्रमाणपत्र आउँछ र त्यसपछि पनि उसले आमाबुबाको अनुहार हेरेर ‘अब के गर्ने ?’ भन्ने प्रश्न आफैँसँग लुकाउनुपर्छ । त्यो क्षण कति पीडादायी हुन्छ होला ?
आमाले छोराछोरीको डिग्री हेरेर गर्व त गर्छिन्, तर भोलिको खर्च कसरी जुट्छ भन्ने चिन्ता पनि सँगसँगै बोक्छिन् । बुबाले सन्तानलाई हौसला त दिन्छन्, तर मनभित्र आफ्नो जीवनभरको लगानीको प्रतिफलभन्दा पनि सन्तानको भविष्य सुरक्षित होस् भन्ने डर बोकेर बस्छन् ।
हामीले कहिल्यै हिसाब गरेका छौँ- बेरोजगार युवाको समय मात्रै खेर गएको छैन, एउटा परिवारको दशकौँ लामो त्याग पनि अनिश्चिततामा परेको छ ।
तर यसको अर्थ डिग्री निरर्थक छ भन्ने हो ?
युवाले आफूलाई सक्षम बनाउनुपर्छ । तर सरकारले अवसर निर्माण गर्नुपर्छ । विश्वविद्यालयले व्यावहारिक शिक्षा दिनुपर्छ । निजी क्षेत्रले नयाँ जनशक्तिलाई प्रवेशको बाटो दिनुपर्छ । समाजले बेरोजगारलाई अपमान होइन, सम्मान र साथ दिनुपर्छ ।
जिम्मेवारी सबैको छ । तर जवाफदेहिता विशेषगरी निर्णय गर्ने ठाउँमा बसेकाहरूको हुनुपर्छ ।
हामीलाई यस्तो शिक्षा चाहिएको छ, जसले विद्यार्थीलाई केवल परीक्षामा उत्तीर्ण नगराओस्, जीवनमा सक्षम बनाओस् । यस्तो विश्वविद्यालय चाहिएको छ, जसले प्रमाणपत्रसँगै व्यावहारिक सीप र अवसरको पुल निर्माण गरोस् । यस्तो सरकार चाहिएको छ, जसले युवालाई भाषणको विषय होइन, राष्ट्रिय विकासको वास्तविक साझेदार बनाओस् ।
हामीलाई युवालाई देशमै रोक्ने अभियानभन्दा पहिले उनीहरूलाई देशमै टिक्न सक्ने आधार चाहिएको छ । किनकि देशप्रेमको परीक्षा युवाले मात्रै दिनुपर्ने होइन । राज्यले पनि आफ्नो नागरिकप्रतिको जिम्मेवारी प्रमाणित गर्नुपर्छ ।
आजको सबैभन्दा ठूलो प्रश्न कुनै एक विद्यार्थीको भविष्य होइन । प्रश्न त हामी कस्तो राष्ट्र निर्माण गर्दैछौँ भन्ने हो । जहाँ पढ्नु एउटा सपना हो, पढाइसकेपछि काम पाउनु अर्को संघर्ष हो, काम पाएपछि सम्मानजनक पारिश्रमिक पाउनु तेस्रो संघर्ष हो ।
आजको सबैभन्दा ठूलो प्रश्न कुनै एक विद्यार्थीको भविष्य होइन । प्रश्न त हामी कस्तो राष्ट्र निर्माण गर्दैछौँ भन्ने हो । जहाँ पढ्नु एउटा सपना हो, पढाइसकेपछि काम पाउनु अर्को संघर्ष हो, काम पाएपछि सम्मानजनक पारिश्रमिक पाउनु तेस्रो संघर्ष हो र अन्ततः आफ्नो देशमै सुरक्षित भविष्य देख्नु सबैभन्दा ठूलो विलासिता हो- त्यस्तो समाजलाई हामीले सफल समाज कसरी भन्ने ?
हामीले कति डिग्रीधारी उत्पादन गर्यौँ भनेर गर्व गर्नुअघि उनीहरूलाई कति सम्भावना प्रदान गर्यौँ भनेर पनि हिसाब राख्नुपर्छ ।
दीक्षान्त समारोहमा टोपी उडाउने विद्यार्थीलाई अर्को दिन बेरोजगारीको भारी बोक्न बाध्य बनाउने व्यवस्था सफल हुन सक्दैन । युवाको नाममा भाषण गर्ने तर उनीहरूको भविष्यप्रति मौन रहने नेतृत्व उत्तरदायी हुन सक्दैन । शिक्षालाई अधिकार भन्ने तर त्यसबाट प्राप्त योग्यताको सम्मान गर्न नसक्ने समाज सभ्य हुन सक्दैन ।
र अन्त्यमा, यो प्रश्न फेरि सोध्नैपर्छ- ‘डिग्रीपछि के ?’
के फेरि अर्को डिग्री ? के फेरि अर्को परीक्षा ? के फेरि अर्को तालिम ? के फेरि वर्षौँको प्रतीक्षा ? के फेरि ऋण खोजेर विदेशको प्रक्रिया ? के फेरि परिवारसँग बिदाइ ? कि फेरि अर्को पुस्तालाई त्यही पुरानो वाचा- ‘राम्रोसँग पढ, भविष्य उज्ज्वल हुन्छ’ ?
कति पुस्ताले यही वाचा सुन्नुपर्ने हो ? कति युवाले आफ्नो योग्यताको प्रमाण बोकेर अवसरको भिख माग्नुपर्ने हो ? कति अभिभावकले सन्तानको भविष्यका लागि आफ्नो वर्तमान बेच्नुपर्ने हो ? र कति दीक्षान्त समारोहपछि एउटा देशले आफ्नै नागरिकलाई भन्नुपर्ने हो- तिम्रो पढाइ त सकियो, अब आफ्नो भविष्य आफैँ खोज ।
हामीलाई डिग्रीधारी युवाको भीड चाहिएको होइन, अवसर पाएका सक्षम नागरिक चाहिएका हुन् । हामीलाई प्रमाणपत्रको संख्या होइन, सम्मानजनक जीवनको सुनिश्चितता चाहिएको हो ।
एउटा राष्ट्रको वास्तविक विकास उसका विश्वविद्यालयका भवन, दीक्षान्त समारोहका तस्बिर वा नेताहरूका भाषणले मापन हुँदैन । त्यो त आफ्नो देशमा पढेको, सिकेको र योग्य बनेको एउटा युवाले आफ्नै देशमा सम्मानपूर्वक भविष्य निर्माण गर्न पाउँछ कि पाउँदैन भन्ने कुराले मापन हुन्छ ।
सायद हाम्रो देशको सबैभन्दा ठूलो शैक्षिक असफलता निरक्षरता होइन, शिक्षित नागरिकलाई पनि आफ्नो भविष्यप्रति विश्वस्त बनाउन नसक्नु हो ।
सबैभन्दा कठोर सत्य यही हो- हामीले युवालाई भविष्य बनाउन सिकायौँ, तर उनीहरूका लागि भविष्य भएको देश बनाउन सकेनौँ ।














प्रतिक्रिया