शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह « Khabarhub

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्गठनको दशौँ एकता जिल्ला अधिवेशनको आज चितवनमा उद्घाटन गर्दै उनले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताए । उनले योग्य र इमानदार शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्ति तथा राष्ट्रिय जिम्मेवारीमा अवसर दिनुपर्ने धारणा राखे ।

आफ्नो शिक्षण जीवन चितवनबाट सुरु भएको स्मरण गर्दै संयोजक दाहालले नवलपरासीको त्रिभुवनटार र गोरखाको आरुघाटमा  अध्यापन गरेको बताए ।

आरुघाटमा अध्यापनका क्रममा जिल्लाभरिकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएपछि आफ्नो राजनीतिक विचार र परिचय स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

शिक्षक जीवनका अनुभवले शिक्षा क्षेत्रका समस्या, शिक्षकको जिम्मेवारी र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका बुझ्न सहयोग पुगेको उनले बताए । यही अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

शिक्षक, प्राध्यापक तथा कर्मचारीको ज्ञान, अनुभव, इमानदारिता र क्षमतालाई देशको विकास तथा नीति निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा प्राथमिकता दिनुपर्ने बताए ।

‘आफ्नो इमानदारिता, निष्ठा र सक्रियताका कारण जनतामाझ लोकप्रिय भएका शिक्षक साथीलाई निर्वाचन तथा अन्य क्रियाकलापमा प्राथमिकता दिनुपर्छ भनेर मैले सबैतिर भन्दै आएको छु’, उनले भने ।

उनले शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकामा अवसर दिनुपर्ने उल्लेख गर्दै चितवनका वरिष्ठ शिक्षकलाई राष्ट्रिय तथा राजनीतिक जिम्मेवारी लिन तयार रहन आग्रह गरे । शिक्षकको अनुभव र क्षमताले देशको नेतृत्व तथा नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनसक्ने उनको विश्वास थियो ।

शिक्षकलाई आफ्नो अनुभव र क्षमताको सदुपयोग गर्दै सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : ५६ बजे

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई