फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै दलका अधिकांश उम्मेदवार प्रचारप्रसारका लागि गाउँ–गाउँ पुगिसकेका छन्। अन्य दलले निर्वाचन तयारी अघि बढाइसक्दा आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली कांग्रेस पनि निकाससहित चुनावी मैदानमा उत्रिएको छ।
नयाँ नेतृत्व, नीति र विचारसहित चुनावी प्रतिस्पर्धामा होमिएको कांग्रेसले यसपटक करिब ७८ प्रतिशत नयाँ अनुहारलाई अवसर दिएको दाबी छ। देश र जेन–जी पुस्ताले चाहेको पुस्तान्तरण र आफूलाई सुधारिएको दाबी गर्दै आएको कांग्रेसबाट उम्मेदवारी पाएका तिनै नयाँ अनुहारमध्ये एक हुन्– अजयबाबु शिवाकोटी।
शिवाकोटीको पेशागत पृष्ठभूमि पत्रकारिता हो। सम्पादकदेखि कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनको महासचिवसम्मको जिम्मेवारी सम्हालिसकेका उनी यतिबेला दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। दुई दशक बढी पत्रकारितामा सक्रिय रहँदै राजनीति प्रतिको चासो निरन्तर राख्दै आएका उनी २०७८ सालदेखि औपचारिक राजनीतिमा होमिएका हुन्। दोलखामै जन्मिएका शिवाकोटी कांग्रेसको १४औँ महाधिवेशनबाट त्यहीँबाट चुनिएर हालसम्म केन्द्रीय सदस्यकै भूमिकामा छन्।
२०६/२०६३ को जनआन्दोलनका क्रममा आन्दोलनका दृश्य सबैभन्दा पहिले कैद गर्ने पत्रकारका रूपमा चिनिएका शिवाकोटी अनुसन्धानमूलक र चुनौतीपूर्ण पत्रकारितामा रुचि राख्ने व्यक्तिका रूपमा परिचित छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा र एमाले नेता तथा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग जोडिएका समाचार ब्रेक गरेपछि उनी राष्ट्रिय बहसको केन्द्रमा आएका थिए। विशेषगरी बाँस्कोटासँग सम्बन्धित ७० करोड रुपैयाँ घोटालाको अडियो प्रकरण सार्वजनिक गर्ने पत्रकारका रूपमा उनको नाम स्थापित छ।
पत्रकारितामा सत्ता र शक्तिलाई प्रश्न गर्दै आएका शिवाकोटी अब जनताका मुद्दामा सरकारलाई प्रश्न गर्ने भूमिकासम्म पुग्ने प्रतिस्पर्धामा छन्। यही सन्दर्भमा खबरहबले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
टिकट हात परेको २४ घण्टाभित्रै मनोनयन गरेर मतदातासँग भेटघाट गरेर पनि आइसक्नु भयो। कस्तो अनुभूत गर्नुभएको छ ?
नेपाली कांग्रेसको विशेष महाधिवेसनपछि पार्टीले उम्मेदवारी तय गर्यो। नयाँ कार्यसमितिबाट करिब ७८ प्रतिशत नयाँ अनुहारलाई उम्मेदवारका रुपमा जनतामाझ पठायो। यसक्रममा दोलखाबाट मैले उम्मेदवारी दिएको छु।
दोलखा पुग्दै गर्दा पार्टीका तमाम नेता कार्यकर्ता, जो हिजो मसँगै प्रतिनिधि सभा सदस्यको प्रत्यासी हुनुहन्थ्यो, उहाँहरुले पनि मेरो उम्मेदवारी दर्तामा सहभागिता देखाएर राजनीतिक संस्कार देखाउनुभयो, त्यसले मलाई थप उत्साहित बनाएको छ। यो बीचमा दोलखा र काठमाडौंमा छरिएर रहेका कार्यकर्ताको पंक्तिलाई संगठित गर्ने र मैदानमा परिचालन गर्नका लागि छलफल र बैठकमा जुटेलगत्तै अहिले हामी मतदाताको माझमा छौं।
पत्रकारबाट राजनीतिज्ञ हुँदै जनप्रतिनिधिको दौडसम्म पुग्दा अवसर र चुनौती के को पल्ला भारी हुँदो रहेछ ?
पत्रकारितामा रहँदा हामी प्रश्न गर्ने ठाउँमा थियौं। राम्रा नराम्रा दुबै विषयमा प्रश्न गर्ने सन्दर्भमा हाम्रो उपस्थिति हुन्थ्यो। यतिबेला हामी त्यसको ठ्याक्कै उल्टो जवाफदेही हुनुपर्ने भूमिकामा छौं। प्रश्नको घेरामा पर्ने अवस्था छ। त्यसरी प्रश्नको घेरामा पर्दै गर्दा त्यसको उचित ढंगले आफूलाई उभ्याइरहनुपर्ने हाम्रो चुनौती छ। त्यसैले आफू ती प्रश्नको घेराबाट लखेटिने वा भाग्ने होइन कि त्यहाँ उभिएर जवाफ दिन सक्नुपर्दोरहेछ भन्ने देखिएको छ।

राजनीतिप्रति मान्छेको वितृष्णा जागिरहँदा राजनीतिज्ञमाथि आक्रोश बढिरहेका बेलामा हामी राजनीतिक मैदानमा होमिएका छौं। पत्रकारिताबाट यता आएको करिब चार वर्ष हुँदै गर्दाको दौरानमा जनताबाट आएको सुझावलाई हेर्दा प्रश्नबाट भाग्न त कोही पनि पाउँदैन, त्यही घेराभित्र उभिएर सही जवाफ दिने हैसियत बनाइराख्न पर्दोरहेछ।
त्यो भनेका,े जवाफदेहिता, पारदर्शिता, सुशासनमा ध्यान दिन सकियो भने यो प्रश्नको घेराबाट भाग्नुपर्ने अवस्था रहँदैन। म त्यही भाग्न नपर्ने अवस्थाका लागि काम गरिरहेको छु। जनता र मतदाताको बीचमा पुगिरहेको छु। उहाँहरुको भरोसा जित्ने प्रयास गरिरहेको छु।
दोलखामा कांग्रेसका धेरै आकांक्षी हुँदाहुँदै तपाईँले टिकट हात पार्नुभयो। आन्तरिक असहयोग सामना गर्नुपर्ने अवस्था कत्तिको छ ?
उम्मेदवारको प्रत्यासी हुनु एउटा विषय भयो। पार्टीले आन्तरिक रुपमा कुनै एक जनालाई उम्मेदवार बनाइसकेपछि त्यसलाई सहयोग गर्नु कांग्रेसको संस्कार नै हो। विगतदेखि नै चल्दै आएको यो कल्चरप्रति हामीलाई गर्व छ।
नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता आफू कुनै पदमा पुग्नका लागि आकाक्षा व्यक्त गर्नुहुन्छ, त्यो पाइन्छ पनि। अन्तिममा जसले आधिकारिकता पाउँछ, त्यसलाई सहयोग गर्ने हाम्रो परम्परा जुन छ त्यसले हामीलाई हालसम्म यहाँ ल्याइपुर्याएको पनि हो। त्यसैले जो जो अग्रज नेताहरु आकांक्षी हुनुहुन्थ्यो, उहाँहरुको समेत पूर्ण सर्मथन र सुझाव लिएर हामी अगाडि बढिरहेका छौं।
केही समयसम्म त्यसको असर देखिनु स्वाभाविक होला। व्यक्तिगत रुपमा केही मतभेद रहे पनि साङ्गठनिक रुपमा त्यसको प्रभाव रहन्न। अन्तमा सबै चारतारे झण्डा र रुखकै छहारीमा आएको अनुभव हिजो पनि थियो र आज पनि हुन्छ। त्यसैले चुनावी अभियानमा यसको असर पर्ने मलाई लाग्दैन।
प्रचारप्रसारको समय एकदम कम छ, यता उम्मेदवारको अनुहार नहेरी भोट नदिन अड्डी कस्ने आम मतदाताको मनोविज्ञान यहाँको क्षेत्रमा पनि हावी होला नै, दौड्नुपर्ने धेरै होला। कसरी संयोजन गर्नुहुन्छ ?
निर्वाचन आयोगले जुन कार्यतालिका बनाएको छ, त्यसले दल र उम्मेदवारले मतदातामाझ गर्नुपर्ने प्रचारका लागि तोकेको समयावधि पुग्दो त पक्कै पनि छैन। अहिले हामी सामान्य बैठक भेला मात्रै गरिरहेका छौं। सभा भेला गर्न पाइएको छैन।
मैदानमा जानका लागि वडादेखि जिल्ला, केन्द्रतहसम्मको बैठक गरेर पार्टीको प्रणालीगत मेसिनलाई ठीक बनाएपछि पार्टीको चुनावी अभियान दु्रत गतिमा गर्नेछौं।
आफूले मत हाल्ने उम्मेदवारलाई देख्न, भेट्न पाउनुपर्ने मतदाताको मनोविज्ञान छ। आयोगले तोकेको अहिलेको समय नै अपुग छ। यसरी आयोगले प्रचार गर्ने समय सीमा घटाउँदा थप समस्या छ। शहरी क्षेत्रमा त जनताको घरघर पुग्न सम्भव होला तर दोलखा लगायतका ग्रामीण क्षेत्रमा त एउटा वडाको सबै घरघर पुग्न पनि समास्या हुँदोरहेछ।
घरदैलो भन्ने आएँ आएँ भनेर नमस्कार मात्रै गरेर त भएन । २/मिनेट कुरा गर्नुपर्छ, चिया पिउनुपर्छ। ग्रामीण क्षेत्रमा घरदैलो भनेर हरेक मतदाता भेट्न, गफ गर्न उहाँहरुलाई आफ्नो मुद्दा बुझाएर त्यसमा सहमत गराउन त झण्डै ६ महिनै आवश्यक पर्दोरहेछ। अझ अहिले चिसोको समय छ दोलखाको हिमाली बेल्टमा मान्छे घरमा भेटिदैनन्। तल्लो क्षेत्रमा पनि एउटै वडा घुम्न ३÷४ दिन लाग्ने ठाउँहरु छन्। यस्तो समयले बाँधिएको बेला सम्भव भएसम्म मतदातामाझ पुग्ने अन्यथा व्यक्तिगत रुपमा फोन गर्ने, साथीभाइ तथा कार्यकर्ताको तर्फबाट पनि भोट माग्ने, सामाजिक सञ्जालको पनि प्रयोग गर्ने गरेका छौं। म यसै अन्तर्वातामार्फत पनि आग्रह गर्न चाहन्छु, सम्भव भएसम्म सबै मतदातालाई हामी भेट्न आउँछौं, जसजसलाई हामी भेट्न आउन सकेका छैनौं वा आउन नसकेको खण्डमा एकदम विनीत भएर क्षमायाचना गर्दै आएन भन्ने नठान्न र यसैलाई पनि मत मागेको रुपमा बुझिदिँदै प्रेम र स्नेह मतमार्फत प्रकट गरिदिनुहुन अनुरोध गर्दछु।

पुराना दलमाथि मासु र मदिरासँग भोट साट्ने गरेको आरोप पनि छ। त्यसलाई यहाँहरुले दाबी गर्दै आएको सुधारिएको कांग्रेसले कसरी चिर्छ ?
उम्मेदवारी दर्ता गर्न जिल्लामा पुग्दा हामी सर्ट नोटिसमा पुग्यौं। साथीहरु सबै स्वतस्फूर्त रुपमा त्यहाँ पुग्नुभएको थियो। तर त्यही ठाउँमा अन्य केही राजनीतिक दलले निर्वाचन आंचारसंहिता बाहिरका गतिविधि गरेका कारण आयोगले एक जना उम्मेदवारलाई स्पष्टिकरण सोधेको थियो। हिजो पुराना दल भनेर जसले यो आरोप लगाइरहेको थियो, त्यहाँ उहाँहरुबाट नै त्यस्तो भएको पाइयो। त्यसैले मेरो आग्रह छ कि जोकोहीले पनि काम गरिरहेको छ भने त्यसलाई नदोहोर्याउन आग्रह गर्दछु।
पार्टी रुपान्तरणपछि कम्तिमा उच्च शिर लिएर भोट माग्ने अवस्था बनेको हो ?
त्यो चाहिँ अनुभूत गरेको छु। महाधिवेसनबाट नेतृत्व बदलेर नगएको भए चुनावी मैदानमा हामीलाई प्रश्नले थिचेर जवाफ नै दिन नसकेर फर्किनुपर्ने अवस्था हुने रहेछ। त्यसैले पनि तुलनात्मक रुपमा हामी अरुभन्दा वेस्ट हौं, वेस्ट दिने प्रयास गछौं। सुधारिएको कांग्रेसको प्रतिनिधिका रुपमा ७८ प्रतिशत नयाँ उम्मेदवारको प्रतिनिधित्व गर्दै म दोलखामा जसरी उभिइरहेको छु, मतदाताले पनि जसरी मेरो उम्मेदवारीलाई अपनाउनु भएको छ। म त्यसबाट निकै उत्साहित छु। यो छोटो अवधिमा पनि आफ्नो कुरा राख्ने, भ्रम चिर्नेमा हामी लागिरहेका छौं।
नयाँ दलले समेत चुनौती दिइरहँदा उम्मेदवारलाई आफ्नो पक्षमा ल्याउन कत्तिको पापड बेल्नुपर्छ जस्तो लागेको छ ?
मतदातासँग धेरै पुग्न पाइएको छैन्। तर मतदाताको कुरा धेरै गुनासो प्रतिनिधिले काम गरेनन् भन्ने हो। अहिले उम्मेदवारले फेस गरिरहुनु पर्ने विषय योसँगै भ्रष्टाचार र अनियमितता पनि हो। त्यो आरोप सबै सत्य होइन्, गर्नेले राम्रो काम गरेर क्लिन हातसहित सरकारबाट बाहिरिएका पात्र पनि हामी माझ छन्। तर जस्ले पारदर्शी ढंगले काम गर्न सकेनन्, उनीहरुलाई कानूनी कठघरामा ल्याउनै पर्छ।
लामो समयदेखि त्यस्ता व्यक्तिलाई राजनीतिक दल तथा व्यक्तिसमेतको सहयोगमा कानूनको दायरामा नल्याउने, ढाकछोप गर्ने गैर फाइदा लिने गरेका अनियमितताका विषय जनतामाझ आउँदासमेत कारवाही नहुने कारण समस्या उब्जिएको हो। तर अहिले हामीले नागरिकलाई भरोसा दिलाउन सक्नुपर्छ। यतिबेला हामी त्यही प्रयासमा छौं।
हाम्रो प्रतिवद्धतालाई विश्वास गरेको खण्डमा भोलिका दिनमा उहाँहरुको भरोसा टिकाउन खरो उत्रिएर काम गर्नुपर्ने अवस्था छ। यसमा हामी सबै पार्टी पंक्ति नै मिहिनेत गरेर अघि बढिरहेका छौं। हामी रुपान्तरित कांग्रेसलाई आशा छ- उहाँहरुले हामीलाई खरो उतारिदिनुहुन्छ।
चुनौती सबै हिसाबले छ। राजनीतिक वृत्तमा खडा हुँदै गर्दा हरकोही उम्मेदवार चुनौतीको रुपमा आउँछन्। यतिबेला हामीसँग गत निर्वाचनबाट उदाएका लगायत अन्य केही नयाँ दलहरु पनि प्रतिस्पर्धामा छन्। केहीसँग राम्रै प्रतिस्पर्धा हुने देखिएको छ। जुनसुकै दलसँगको प्रतिस्पर्धाका लागि हाम्रा सबै मेसिनरी तयार छन्। स्वस्थ प्रतिपर्धाका लागि तयार छौं।
प्रतिनिधि सभाको लागि उत्रिएका उम्मेदवारले सांसदको टीओआर बाहिर गएर सबै माग पूरा गर्छु भनेको सुन्न देख्न पाइएको छ। यो स्टन्ट हो कि बाध्यता हो ?
हाम्रो बुझाइ के छ भने जनप्रतिनिधि भनेको विकासको लागि एउटा प्रतिनिधि हो भन्ने जस्तो बुझाइ छ। वास्तवमा त प्रतिनिधि सभा सदस्य त कानुन बनाउनका लागि चुनिने हो। तर त्यसमा मात्रै सीमित हुन मिल्दैन। हाम्रो राजनीतिक अभ्यास र जनमानसको बुझाइले पनि प्रतिनिधि सभा सदस्यलाई कानुन बनाउने प्रतिनिधि भन्ने बुझ्न दिएको छैन।
त्यसैले कानुन बनाउने ठाउँमा उसको भूमिका त हुन्छ हुन्छ, योसँगै विकास निर्माणका सन्दर्भमा नीति निर्माण गर्दै गर्दा आफूले बनाएको नीतिले आफ्नो ठाउँको विकास समेटिएको छ कि छैन, नीति निर्माण तहमा बजेट हाल्न लगाउने, कार्यपालिका माथि प्रश्न उठाउने लगायतका भूमिकाबाट पनि जनताको त्यो अपेक्षा पूरा गर्न सकिन्छ। वर्षौदेखि यो गर्दै आएको अभ्यास हो । सम्भव हुनेखालको प्रतिवद्धता गर्नुपर्ने पनि हुन्छ। तर महत्वाकांक्षी आश्वासन देखाएको खण्डमा भने प्रश्न गर्नुपर्छ।
जनताले तपाईंलाई मतदान गरेर जिताउनुपर्ने आधार के हो ?
२०७९ सालमा हामी माओवादीसँग गठबन्धन गरेका थियौं। त्यतिबेला माओवादीतर्फको उम्मेदवारले एउटा र अर्को क्षेत्रमा एमालेको प्रतिनिधि निर्वाचित हुनुभएको थियो। समानुपातिकमा त्यतिबेला कांग्रेसको २७ लाख मत थियो। अहिले पनि त्यति मत जोगाउन सकियो भने जित्ने अवस्थामा छौं। सकेसम्म त्यसलाई यथावत राख्ने प्रयास छ। तर केही तलमाथि हुनसक्छ। पार्टीभित्रको रुपान्तरणपछि सुधारिएको कांग्रेसको जुन सन्देश तलसम्म गइरहेको छ, त्यसले एउटा सुधारको सन्देश त दिएको छ, केही साथीहरु रुष्ट हुनुहुन्छ। केही यताउता लाग्नुभएको पनि हुनसक्छ। उहाँहरुलाई पनि पहिलेकै ठाउँमा उभिन यसले पक्कै वातावरण बनाएको अनुभूत गरेको छु।

दोलखाका जनताले तपाईंलाई भोट दिने आधार के तय गर्नुभएको छ ?
देशले नेतृत्वमा नयाँ अनुहार खोजिरहेका बेला कांग्रेस नयाँ बनेर आएको छ। मुख्य राजनीतिक दलमध्येका कांग्रेस, एमाले, नेकपा, रास्वपा हेर्ने हो भने ती दलका उम्मेदवार टेस्टेड भइसकेको उम्मेदवार हुनुहुन्छ। म मूलधारको राजनीतिमा आएको करिब चार वर्ष भयो। यो बीचमा म पार्टीको १४ औं महाधिवेसनमा प्रतिनिधि बने र हालै भएको विशेष महाधिवेसनबाट केन्द्रीय सदस्यमा चुनिएँ। तर हालसम्म जनताको मतबाट चुनिने अवसर पाएको थिइँन्।
पहिलोपटक उम्मेदवार बनेको म सुशासन र जवाफदेहितामा विश्वास राख्छु। हिजोको दिनमा सञ्चार कर्म गर्दै गर्दा पनि विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा भण्डाफोर गरेरै आएको हो। त्यसैले पनि आउने दिनमा मैले सुशासन, भ्रष्टाचार निराकरण, चुस्त सेवाप्रवाहलाई जोड दिनेछु। नयाँ अनुहार भएकाले कतिले नचिनेको पनि हुनसक्छ, सबै मतदातामाझ परिचय नभए पनि दोलखाको माटो, नागरिकको पुकार, अपेक्षा र भूगोललाई मैले चिनेको छु।
त्यसैले दोलखाको जनताको भावनालाई सम्बोधन गर्दै सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रणका लागि आवाज उठाउँदै विकासका लागि बजेट छुट्याउन लविङ गर्नेछु। पार्टीभित्रकै प्रकृयागत विमतिमा पनि लडेर आएका हामी जनताको मुद्दामा पनि प्रतिवद्ध भएर लड्ने छौं।













प्रतिक्रिया