कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो « Khabarhub

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो



संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन, देखिएन । जब निर्वाचनको घोषणा भयो, त्यसबेला धेरै जेन-जी समूहका युवा युवतीहरू र अरूले पनि सम्पर्क गरेका थिए । उनीहरूसँग संविधान र देशका बारेमा बुझाइ अत्यन्तै कमजोर देखिन्थ्यो ।

यो निर्वाचनले धेरै गर्न सक्छ भन्ने हाम्रो दृष्टिकोण थियो । निर्वाचनले धेरै कुरा गर्नका लागि पहिले त नेपालको राजनीतिक दलसम्बन्धी २०७२ सालको ऐनलाई संशोधन गर्नुपर्छ । अनि सँगसँगै हाम्रो निर्वाचनसम्बन्धी कानुनहरूलाई पनि संशोधन गर्नुपर्छ । ती दुवैका लागि अध्यादेश ल्याउनुपर्छ ।

अनि चार वटा विषयहरूमा हामीले तुरुन्तै काम गर्न सक्छौँ । हाम्रो जुन संवैधानिक मापदण्ड छ, त्यसलाई ऐनमा कार्यान्वयन गर्ने । पहिलो कुरा, संविधानले पार्टीको जुन आन्तरिक प्रजातन्त्रको कुरा गरेको छ, त्यसलाई ऐनमार्फत नै ग्यारेन्टी गर्ने ।

ऐनले आन्तरिक प्रजातन्त्रका लागि बाध्य गर्दैन । अहिले एमालेमा जे जति छ, त्यसको सोझो प्रभाव त्यही नै हो । आन्तरिक विपक्षी भन्ने, प्रदेश र स्थानीय भन्ने त्यो ऐनमा छैन ।

हामीकहाँ भएको राजनीतिक प्रणाली भनेको पार्टीको हाइकमाण्डले चलाउने हो, जो संघीयता विरोधी छ । कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडरलाइज्ड’ गर्नुपर्यो । आन्तरिक लोकतन्त्रलाई कसरी ग्यारेन्टी गर्ने लगायत जुन २/३ वटा दफाहरू छ, त्यसमा सामान्य संशोधन गरेर त्यो गर्न सकिन्छ र त्यसलाई गरौँ भन्ने थियो ।

अर्को, जुन पार्टीहरूको वित्तीय पारदर्शीताको कुरा छ, पार्टीहरूसँग पैसा कहाँबाट आउँछ ? दिने मान्छेले दिँदाखेरि उ पारदर्शी छ कि छैन ? कर तिरेको छ कि छैन ? जसले पनि लिन पाइने ।

जसरी अहिले क्यान्सरका बिमारी, मुटुरोग वा किड्नीका बिमारीहरूले क्यूआर राखेर नै पैसा उठाइरहेका छन् । पक्कै पनि क्यूआर त बैंकले नागरिकता नराखी बनाउँदैन । कुनै पनि मानिसले अप्ठ्यारो नपरिकन त आफ्नो व्यक्तित्वलाई त्यसरी सार्वजनिक गर्दैन होला । त्यसरी माग्नेलाई जति दिँदा पनि भयो तर, कर त तिरेको हुनुपर्यो नि ।

अहिले घुसको पैसा, भ्रष्टाचारको पैसा पार्टीमा लगायो, पछि असुल उपर गर्ने भएको हुनाले पार्टीहरू कहिल्यैपनि पारदर्शी रूपमा उभिएकै छैनन् । यसले गर्दा पार्टीको जुन सामाजिक आधार छ त्यो परिवर्तन भयो । अब सामाजिक रूपमा सामान्य कार्यकर्ता पार्टीमा टिक्न नै सक्दैन ।

किनभने उसँग पैसा हुँदैन । समाजसेवाले पैसा दिँदैन ।

तेस्रो, संघीयतालाई ग्यारेन्टी गर्नका लागि सबैभन्दा पहिले प्रदेश सरकार निर्माणको प्रक्रियाबाट पार्टीको हाइकमाण्डबाट अलग राख्नुपर्यो । जुनसुकै प्रदेशमा पनि प्रदेशले दिएको भोटअनुसार सरकार तबमात्र बन्न सक्छ जब हरेक पार्टीको प्रादेशिक च्याप्टरले स्वतन्त्र निर्णय गर्नसक्ने अवस्था हुन्छ, नेपालमा त्यो छँदै छैन ।

जसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ उसले सरकार बनाइरहेको छ, जो सरकार बनाउनुपर्ने पार्टी हो उ प्रतिपक्षमा बसेको छ । बहुमतको खेल होइन नि त संसदीय प्रणाली, त्यो म्यान्डेटको खेल हो । म्यान्डेटको ग्यारेन्टी गर्ने सुझबुझ हाम्रो प्रदेशका अध्यक्षसँग भएन । उहाँहरूले सरकार निर्माण गर्दा सबैभन्दा ठूलो पार्टीको नेतालाई बहुमत ल्याउनुस मैले तपाईंलाई नियुक्ति गर्छु भनेर भन्नुपर्थ्यो ।

यो धारा ७६ अन्तर्गत आ–आफ्नो दाबी गर भनेर एकैपटक भन्न सकिन्छ नि । ७६ (१), ७६ (२) यो पान पसल हो ? निर्वाचन त म्यान्डेटका लागि गर्ने हो । जनता को सँग छ ? जनता को सँग छ भनेर प्रमाणित भइसकेपछि त बोलाएर टिका लगाएर सरकार बनाउ भन्न पर्ने हो । त्यो नैतिकताको अभाव भएको कारणले गर्दा हरेक प्रदेशका जो अध्यक्ष छन् उनीहरूले संविधान डुबाएका छन् । त्यो संस्कार माथिबाट नै गयो ।

हाम्रा राष्ट्रध्यक्षप्रति इज्जत नआउने कारण त्यो हो । म्यान्डेटलाई स्वीकार गर्ने चलन भयो भने हरेक मान्छेले झुक्याएर, छिट्की हानेर, बिगारेर म देशको प्रधानमन्त्री बन्छु भनेर आँट गर्दैन । जो म्यान्डेटवालाले नेपालमा पाएन त्यसको केही पनि कारण होइन, पार्टी फेडरलाइज भएन ।

स्थानीय सरकारमा हामीलाई समस्या छैन, त्यो स्थिर सरकार छ । तर, प्रदेश स्थिर नभएको कारणले संघीयताको कार्यान्वयन हुन नसकेको हो । तल यदि काउन्टर बेलिङ पावर उपस्थित भएको भए माथिकोलाई बाँदर जसरी नचाउने थिए । हामीले देखेका छौँ नि संघीयतामा प्रदेशहरूले कसरी काम गर्छन् भन्ने कुरा ।

अन्त्यमा फेरि समावेशीकरणको कुरा छ । राज्य चाहिँ एकदमै गतिमा समावेशीकरण हुँदैछ, अर्को १० वर्षमा नेपाली राज्य पूर्णत समावेशीकरण हुन्छ । कम्तिमा पनि यो न्यायापालिका हुन्छ, निजामती क्षेत्र हुन्छ, सेना हुन्छ, पुलिस हुन्छ, तर, यी पार्टीहरू चाहिँ हुँदैनन् । किनभने संविधानको स्ट्याण्डर्ड सार्वजनिक संस्थाको रूपमा पार्टीमाथि प्रयोग गरिएको छैन । पार्टीलाई यदि समावेशीकरणको कुरामा कानुनले बाध्य गर्ने हो भने नेपाल दुईवटा निर्वाचनमा आमूल परिवर्तन हुन्छ । त्यो हामीले गराउन सकेका छैनौँ ।

पार्टीलाई अनुगमन कसले गर्ने ? निर्वाचन आयोगले गर्ने हो । आयोगलाई क्षमता दिनुपर्यो र तारिखमा राख्न सक्नुपर्यो र यी सम्पूर्ण विषयमा पार्टी पब्लिक इन्स्टिच्युसनको स्ट्याण्डर्डमा आयो कि आएन भनेर हेर्ने गरिदिएको भए सबै हिसाबले रूपान्तरण सम्भव हुन्थ्यो, यो संविधानले धान्दथ्यो ।

हामीले यी चारवटा कुरा भन्दा प्रधानमन्त्रीले यो अध्यादेशको कुरा त गर्दै नगरौँ भन्नुभयो । जेन-जी ताण्डव मच्चाएका बेला कार्यालयको इन्ट्रिगिटी राख्न पनि गाह्रो भइरहेको परिस्थितिमा यो गर्ने उहाँसँग आँट पनि भएन, विश्वास पनि भएन । अनि राजनीतिक दलहरूले पनि आफूलाई भाग्ने कुरा गर्ने भएनन् ।

कि साँच्चिकै हामी कति काँचो कचिलो वातावरणमा छौँ ? अब संविधानको पिर लाग्न छोड्यो, अब पिर लाग्ने भनेको राष्ट्रिय सुरक्षाको छ । अब यो देश कसले जोगाउने हो ? यी मान्छेले जोगाउँछन् ? जसले राजनीति सामाजिक क्षेत्रबाट सुरु गरेकै छैन ।

अहिले सयौँ मान्छे निर्वाचनमा उठेका छन्, जसले समाज देखेको छैन । जसको नाममा उनीहरूले भोट माग्दैछन्, उनीहरूको अनुहार चिनाउन समस्या छ ।

यहाँ पार्टीमा अति बद्नाम मान्छे पनि चिनिन्छ, किनकी उसले भुइँ तहको राजनीति गरेर आएको छ । अहिले जुन परिवर्तन हुँदैछ, माथिबाट हावादारी ल्याट्रल इन्ट्री भइरहेको छ । ग्रासरूटबाट अपग्रेड गरेर जाने चलन गयो ।

यसरी जो प्रधानमन्त्रीको कुरा गर्‍यौँ, यहाँ त कस्तोसम्म भइसक्यो भने किन बहस गर्ने ? अहिले जो भोलिको प्रधानमन्त्री भनेर घोषणा गरेका छन्, उनीहरूबीचमा बहस गराउने कुरामा नयाँको गराउने, किन पुरानोको गराउने भनेर तर्क गरेको पाइयो । मान्छेको सोचाइको स्तर यतिसम्मको छ ।

डिबेट भनेको फ्युचरस्टेक हुन्छ, डिबेटको उद्देश्य के हो भने हिजो के गरेँ भन्ने कुराको आज जवाफ दिने हो । केही समस्या छ भने हाम्रो संगठनात्मक रिमेडी भोलिका लागि के हुन्छ भन्ने हो ।

कतै डिबेट गरिहाल्यो भने मेरो क्यान्डिडेटले बोल्न सक्दैन कि ? पब्लिक विषयमा कमेन्ट गर्न सक्दैन कि ? पछाडि पर्छ कि ? यस्ता कारणहरूले गर्दाखेरि डिबेट पनि नगरौँ भन्छन् । पब्लिकले पनि चिनेको छैन ।

कहीँ बाजा बजाएर, कहीँ बाँसुरी बजाएर, कहीँ ढोल बजाएर भोट माग्ने तरिका त्यही हो ? आम मान्छेले जनताका प्रतिनिधिहरूसँग नृत्य हेर्न खोजेको हो ? होइन नि त ।

देशमा मध्यावधि गरिँदैछ, जुन सरकार थियो, जुन प्रतिनिधिसभा थियो, त्यो म्यान्डेटेड भएर पनि उसले आफ्नो पावर किन अभ्यास गर्न सकेन भने उ आफ्नो कार्यकाल हुँदाहुँदै आफ्नो वैधानिकता गुमाइसकेको परिस्थिति थियो । राष्ट्रिय सुरक्षाको विषय आयो, विदा भयो । त्यो कुराको सन्दर्भमा पो मध्यावधीमा जाँदैछौँ । देशमा स्न्यापपोल हुँदैछ । यो शब्द न कुनै मिडियामा छ ? न कुनै सार्वजनिक फोरममा आउँछ ?

विदेशी सम्बन्धको कुरा छ, निर्वाचनको कुरा आयो, प्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, पोटेन्सियल प्रधानमन्त्रीहरू विदेश जान सुरु भइहाल्यो । यी मान्छेको हातमा नेपाल कसरी सुरक्षित छ ? यी मान्छे देशका लागि त निकै खतरनाक भैसके । किनभने उनीहरूसँग कुनै प्रेस्किप्सन छैन नेपालका लागि ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्चले बुधबार आयोजना गरेको कार्यक्रममा अधिकारीले राखेको भनाइको सम्पादित अंश ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ६ : ४७ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको