नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि मिथक र किंवदन्तीको रूपमा मात्र रहेका छन् । खास गरेर लिच्छविकाल अघिका नेपालका इतिहास अस्पष्ट देखिन्छ । लिच्छविकालपूर्व किरातीले लामो समयसम्म शासन गरेका कुरा त्यही कालअवधिमा अर्थात् किरात कालमा लेखिएका लिखित सामग्री पाइदैंन यद्यपि विभिन्न वंशावली,अभिलेख, पुराण आदि प्राचीन अभिलेख तथा ग्रन्थमा प्राप्त विवरणको आधारमा गोपाल , महिषपाल र किरातकाल बारेमा पहिल्याउनु पर्ने बाध्यता छ ।
लिच्छपिपूर्वका शासकसङ्ग सम्बन्धित ऐतिहासिक विवरण अझैसम्म इतिहासकै गर्भभित्र लुकेको छ । किरातकालीन शासनका बारेमा पनि वैज्ञानिक ढङगले खोज अनुसन्धान हुन सकेको छैन । प्रथम किराती शासक यलम्बर र किरात शासनबारे नेपालको सबैभन्दा पुरानो गोपालराज वंशावलीमा उल्लेख गरिएको पाइन्छ । गोपालराज वंशावली लगभग ६५० वर्ष अगाडि तयार पारिएको देखिन्छ । गोपालराज वंशावली १९ ख, पत्र पेज नम्बर २७ मा यस्तो लेखिएको छ :
सुर्यवम्सप्रभावात् नेपाले किरात राजा निर्ज्जित्य ।।
लिच्छविवम्स प्रवर्तते ।
यसरी नै “द गोपालराज वंशावली”कै पृष्ठ ७५ मा “अनि सूर्यवंशीको प्रभावले नेपालका किरात राजालाई जितेर लिच्छवि वङ्श चल्यो” भन्ने उल्लेख गरिएको पाइन्छ । किराती राजा यलम्बरको बारेमा नेपालको इतिहासका गम्भीर अध्येता विद्वान् प्राध्यापक दिनेशराज पन्तले नेपाल प्रज्ञाप्रतिष्ठानबाट २०६९ मा “प्रथम किरात राजा यलम्बरको समय ” नामक खोजमूलक ग्रन्थ प्रकाशन गरेका छन् । उनका अनुसार(पुराणमध्ये पशुपति पुराणको आफ्नै ढ्ङगको महत्त्व छ । त्यस पुराणमा एक ठाउँमा यस्तो लेखिएको छ ।
जित्वा कैरातराजानं वाक्येन प्रत्ययेन च
करिष्यति तदा राज्यं वैशाल्यधिपतिर्बली।।१२।।
लिच्छविनां नरेन्द्राणां राज्यमूमिमिमां शुभाम् ।
प्रजाश्चाप्याश्रयिश्यन्ति बहिर्देशागतास्तदा।।१५।।
पशुपतिपुराण अध्याय १८०
अर्थ : वैशालीका बलवान् राजाले किराती राजालाई जिती बोलीबचनले विश्वास दिलाएर राज्य गर्नेछन् । लिच्छवि राजाको यो राम्रो राज्यमा बाहिरबाट पनि दुनियाँहरु आउछन् ।
हिमवतखण्ड नामक पुस्तकमा यस्तो लेखिएको छ
त्रिसहस्रसमान्ते च किरातैर्भुज्यते पुनः ।
क्षत्रियैस्तान्निहत्याज तद् राज्यं च तथा पुनः ।।२७।।
हिमवत् खण्ड ८३ अध्याय १८१ पृ
अर्थ : तीन हजार वर्ष बितेपछि फेरि यहाँ किरातीले राज्य गर्नेछन् । क्षेत्रीयले किरातीलाई जितेर फेरि त्यो राज्य भोग गर्नेछन् ।
यसरी यी वंशावली, अभिलेख र ग्रन्थबाट के पुष्टि हुन्छ भने लिच्छविकालभन्दा पहिले किरात काल थियो । किरातकालबारे लिच्छविकालीन अभिलेखमा पनि प्रशस्त मात्रामा चर्चा गरिएका छन् । दुई सय भन्दा बढी लिच्छविकालिन अभिलेख पाइएका छन् । ती अभिलेख संस्कृत र संस्कृतेत्तर भाषामा लेखिएको पाइन्छ ।
लिच्छविकालभन्दा पहिले किरात काल थियो । किरातकालबारे लिच्छविकालीन अभिलेखमा पनि प्रशस्त मात्रामा चर्चा गरिएका छन् । दुई सय भन्दा बढी लिच्छविकालिन अभिलेख पाइएका छन् । ती अभिलेख संस्कृत र संस्कृतेत्तर भाषामा लेखिएको पाइन्छ ।
किरातकाल बारेमा विभिन्न स्वदेशी– विदेशी अभिमत
विद्वानले विभिन्न समयमा विभिन्न प्रकारको खोज अनुसन्धान गर्दै आएको पाइन्छ । ती अनुसन्धानमध्ये इतिहासकार प्राध्यापक दिनेशराज पन्तले केही विवरण देहायानुसार उल्लेख गरेका छन् – संस्कृत र तत्कालीन नेवारी भुजिमोल लिपिमा ताडपत्रमा लेखिएको पुस्तकलाई बेलायती विद्वान् सेसिल बेन्डलले पहिलो, दोस्रो र तेस्रो खण्ड बनाए ।
उनले यसरी तयार पारेको नेपालको इतिहासलाई वि.सं. १९६० मा बङगालको एसियाटिक सोसाइटीको पत्रिकामा प्रकाशन गरे । त्यो उनले गोपालराज वंशावलीको आधारमा तयार पारेका थिए । त्यहाँ महिषपाल राजा भुवनसिंहलाई जितेर किरातले राज्य गरे।
पहिलो किरात राजा एलम हुन् , उनले ९० वर्ष राज्य गरे । ३२ जना किरात राजा भए । बत्तीसौं किराती राजा खिगुलाई जितेर सूर्यवंशीले शासन गरे, ती किराती तामाकोशी र अरुणको बीचको भागमा बस्छन् भनेर लेखिएको छ ।
यसरी नै नेपाल राष्ट्रिय पुस्तकालय हस्तलिखित ७३८० सङ्ख्यामा रहेको भाषावंशावलीमा पनि यो प्रसङ्ग लेखिएको छ । ती दुबैको आधारमा नयनाथ पौडेलद्वारा भाषावंशावली र देवीप्रसाद लम्सालद्वारा भाषावंशावली द्धितीय भाग प्रकाशन गरिएको छ ।
त्यसमा महिषपाल राजालाई हराइ किरातीले शासन गरे, पहिलो किराती राजा यलम्बरले ९० वर्ष राज्य गरे, अठ्ठाइसौँ किराती राजा गलिजको पालामा क्षेत्रीय राजाले जिती शासन गरे । कलिगत वर्ष १५१६ जाँदा किरात राजाले जम्मा १४७१ वर्ष राज्य गरे भनी लेखिएको छ ।
वि.सं. १८४९ मा नेपाल–चीन युद्ध भएपछि इस्ट इन्डिया कम्पनीको दूतको रूपमा आएका कर्णेल विलियम कर्कप्याट्टिकले “एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल” नामक पुस्तक लेखेका छन् । त्यसमा महिषपाल, गोपाल राजा भवानीसिंहलाई जितेर किरातीले शासन गरे, पहिलो किराती राजा यल्लुङ हुन् , यल्लुङले ९० वर्ष ३ महिना राज्य गरे ।
अन्तिम किराती राजा गुल्लीजङ हुन् । २७ किराती राजाले १६३० वर्ष राज्य गरे । गुल्लीजङलाई जितेर सूर्यवंशीहरुले शासन गरे भन्ने उल्लेख गरिएको छ । यसरी नै वि.सं. १८५८ मा इस्ट इन्डिया कम्पनीको दूत भएर नेपाल आएका डा.फ्रान्सिस बुच्नान हेमिल्टनले पनि काठमाडौँ बस्दा नेपालको इतिहासको खोज अनुसन्धान गरे ।
उनले “एन अकाउन्ट अफ द किङडम अफ नेपाल” नामक पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा महिष गोपाल राजालाई जितेर किराती राजा भए । २७ किराती राजाले १६३० वर्ष राज्य गरे तिनीलाई सूर्यवंशी क्षेत्रीयले हराए भन्ने उल्लेख गरिएको छ ।
यसरी नै सुगौली सन्धिपछि अङ्ग्रेजी दूतावासमा सामान्य कर्मचारीको रूपमा वि.सं. १८७७ मा नेपाल आएका ब्रायन हगटन हडसन पछि राजदूतसम्म भए । उनले “हिस्ट्री अफ नेपाल” पुस्तक प्रकाशन गरे । त्यहाँ उनले पूर्वबाट आएका किरातीहरुले अहिरराजा भुवनसिंहलाई हराएर शासन गरे । पहिलो किरात राजा यलम्ब हुन् । उनले ५० वर्ष राज्य गरे । २२ औँ किराती राजा गस्तीको पालामा कलिगत संवत् १११८ वर्ष बित्दा सूर्यवंशीले किरातलाई हराएर शासन गरे भन्ने उल्लेख गरिएको छ ।
पहिलो किरात राजा यलम्ब हुन् । उनले ५० वर्ष राज्य गरे । २२ औँ किराती राजा गस्तीको पालामा कलिगत संवत् १११८ वर्ष बित्दा सूर्यवंशीले किरातलाई हराएर शासन गरे भन्ने उल्लेख गरिएको छ ।
यसैगरी श्री ३ जङगबहादुरको पालामा औषधी उपचार गर्ने डाक्टरको रूपमा नेपाल आएका डेनियल राइटले नेपालको इतिहासबारेमा खोज अनुसन्धान गरे । उनले विक्रम संवत १९३३ मा क्याम्ब्रिजबाट “हिस्ट्री अफ नेपाल” नामक ग्रन्थ प्रकाशन गरे । त्यस वंशावलीमा पूर्वबाट आएका किरातीले अहिरवंशका तेस्रा राजा भुवनसिंहलाई हराए । यलम्बर पहिलो राजा भए ।
किरातवंशका २९ औं राजा गस्तिलाई सोमवंशीले हराए । शासन गरे भनी लेखिएको छ । (स्रोत : दिनेशराज पन्त, प्रथम किरात राजा यलम्बरको समय (२०६९०) । यसरी हेर्दा के देखिन्छ भने वंशावली, पुराण, अभिलेख, प्राचीन ग्रन्थ तथा विभिन्न समयमा विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरुको खोज अनुसन्धानको आधारमा नेपालमा लिच्छविकालपूर्व किरातकाल थियो भन्ने कुरा स्वतः पुष्टि हुन्छ । प्रथम किराती राजा यलम्बर हुन् भन्ने कुरा पनि त्यतिकै प्रष्ट छ । यद्यपि उनको नाम भने केही फरकफरक पाइन्छ ।
प्रथम किराती राजाको नामहरु यलम्बर, एलम, इलम्ब, यलम्ब, यलिम्ब, यलुङ आदि उल्लेख भएको पाइन्छ । यी नामको आधारमा के भन्न सकिन्छ भने यो एउटै व्यक्तिको नाम हो । उच्चारण गर्ने र लेख्ने क्रममा सामान्य फरक देखिए तापनि यिनी एउटै व्यक्ति हुन् भन्नेमा कुनै विवाद छैन ।
यसरी नेपालको इतिहासमा लिच्छविकालपूर्वका शासक किराती हुन भन्ने विषयमा कुनै दुई मत पाइँदैन । किरातीको शासनकाल र समयमा भने फरकफरक विचार र खोज अनुसन्धान भएको पाइन्छ । दिनेशराज पन्तका अनुसार – भगवानलाल इन्द्रजीले सङग्रह गरेको वंशावलीको पृ.१९४ मा किरात वंशको राजधानी गोकर्णमा थियो । यिनीहरुको १११८ वर्षसम्म राज्य रह्यो।
नेपालको इतिहासमा लिच्छविकालपूर्वका शासक किराती हुन भन्ने विषयमा कुनै दुई मत पाइँदैन । किरातीको शासनकाल र समयमा भने फरकफरक विचार र खोज अनुसन्धान भएको पाइन्छ ।
यलम्बर द्वापरयुगका १२ वर्ष बाँकी रहँदा आए भनी उल्लेख गरेका छन् । जसअनुसार कलिगत वर्ष ३०४४ मा विक्रम संवत् सुरु भएको हो । यताबाट ३०४४ं१२.३०५६ विक्रम संवत् पूर्व यलम्बर राजा भएको देखिन्छ । यसैगरी कर्कप्याट्रीकले प्रयोग गरेको वंशावलीमा पनि यलम्बरको राज्यकाल कलियुग लाग्नुभन्दा ८० वर्ष अगाडि राजा अर्थात् ३०४४:८०.३१२४ वि.पू.मा यलम्बर राजा भएको देखिन्छ ।
यसरी नै भाषावंशावलीको पृ. ४६९४८ मा कलियुग लाग्नुभन्दा २२४ वर्षअघि अर्थात् ३०४४:२२४. ३२६८ वर्षअघि यलम्बर राजा भएको विवरण पाइन्छ । यसरी हेर्दा यलम्बरले शासन गरेको अर्थात् किरात शासन सुरु भएको मिति सम्बन्धमा यस्ता फरकफरक विभिन्न विवरण पाइन्छन् । यस्ता विभिन्न मितिमा ( वि.पू.) विक्रम संम्वत् पूर्व ३००४,३०३८,३०३९, ३०५६,३१२४,२३६४,३२६८ आदि मिति विशेष उल्लेख्य छन् । हाल वि.सं. २०८३ साल चलिरहेको छ । यसमा ३००० मात्र जोड्ने हो भने पनि ५०८३ हुन्छ । तर किरातीहरुले वि.सं.पूर्व ३००४ देखि यलम्बरले शासन सुरु गरेको हो भन्नेमा पुगेको देखिन्छ । त्यसैले किरातीहरुले हाल यले संम्वत् ५०८६ मान्दै आएका छन् ।
निष्कर्ष तथा सुझाव
नेपालको इतिहासमा यलम्बर र किरातकालबारे ठ्याक्कै मितिगत रूपमा भन्न नसकिए तापनि लिच्छविकालपूर्व किरातकाल थियो भन्ने कुरामा कुनै विवाद र बहसको खाँचो छैन । त्यो घामजतिकै छर्लङ्ग छ । तर किरातीले यलम्बर संवतलाई वर्षमा एकदिन चर्चा, शुभकामना र सम्झना गरे तापनि त्यही संवतको आधारमा सम्पूर्ण किराती सांस्कृतिक जीवनयापन वा जीवनशैली अपनाउन सकेका छैनन् ।
उधौली, उभौली होस वा अन्य सम्पूर्ण सांस्कृतिक चाडपर्व सम्पन्न गर्नका लागि किरातीले कहिले यले संवतको आधारमा गरेको देखिदैन । आजभन्दा २०८२ वर्षअघि विक्रमादित्यले प्रारम्भ गरेको विक्रम संवत् , हिन्दू धर्म अनुसारको मिति र साइतमा किरातीहरुले आफ्ना सांस्कृतिक कर्महरु गरेको देखिन्छ ।
विक्रम संम्वत् अनुसार मङसिरे पूर्णिमा र वैशाखे पूर्णिमाको दिन उधौली उभौली मनाउनु, हिन्दू पञ्चाङग अनुसार बार, तिथि, घडी, पला आदिको आधारमा घर निर्माण गर्ने, घर सर्ने, न्वारान, छेवर, गुन्युचोली, विवाह, अन्त्यष्टि आदि सम्पूर्ण शुभ, अशुभ कार्य गर्ने गरेको देखिन्छ ।
यसका लागि किरातीले मुन्दुम र मुन्धुमको गहन अध्ययन अनुसन्धान गरेर त्यसको आधारमा वार्षिक पात्रो निर्माण गर्ने, त्यही मुन्दुमी र मुन्धुमी संस्कृति र दर्शनको आधारमा सम्पूर्ण सांस्कृतिक अवयवहरुको प्रयोग र अभ्यास गर्न सके मात्र किरातीहरुले आफ्नो परम्परागत जीवनपद्धतिको उपयोग र संरक्षण गरेको देखिनेछ ।
किरातीले गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम भनेको यलम्बरको खोजअनुसन्धान गरी त्यसको वास्तविकता पत्ता लाउनु र त्यसलाई आफ्नो बनाउनु । वास्तवमा किरातीहरुले यलम्बरलाई आफ्नो बनाउन सकेको छैन । बरु उपत्यकामा बस्ने नेवारको सांस्कृतिक आधार यलम्बर बनेको देखिन्छ तर किरातीहरुको सांस्कृतिक आधार यलम्बर बन्न सकेको छैन ।
काठमाडौ उपत्यकाका नेवारहरुले मनाउने जात्रा, उत्सव चाडपर्व यलम्बरसङ्ग जोडिएका वा सम्बन्धित छन् । तर पूर्वमा बस्ने किरातीहरुको कुनैपनि सांस्कृतिक अनुष्ठान, उत्सव वा चाडपर्वमा यलम्बर जोडिएका छैनन् । काठमाडौ उपत्यकाको नेवारहरुले मनाउने इन्द्रजात्राको रथको मुकुट यलम्बरको शिर वा टाउको हो ।
उनीहरूको देवता आकाशभैरव जो महाभारतको युद्धमा कौरब पक्षलाई सघाउन जाँदा यलम्बरको टाउको त्यही युद्धभूमिमै काटिएको तर उक्त टाउको उडेर उपत्यकामै आइपुगेको भन्ने विश्वास गरिन्छ । उनीहरु यलम्बरकै टाउको मानेर पूजाअर्चना गर्दछन् । जुन आकाशभैरव अर्थात् यलम्बरको टाउको नेपाल वायुसेवा निगमले लोगोको रूपमा प्रयोग गरेको छ ।
यसरी हेर्दा के देखिन्छ भने सम्पूर्ण किरातीहरुले आफूलाई यलम्बरको सन्तात ठान्ने हो भने उनीसंगको सामिप्य र निकटताको आधार खोज्न जरुरी छ । हुँदा हुँदै किरातीहरुले केसम्म गल्ती गर्न थालेका छन् भने यलम्बरले हालको काठमाडौ उपत्यकामा शासन गरेको यथार्थ घाम जतिकै छर्लङ्ग हुदाहुदै यलम्बरको शालिकहरु खोटाङ, भोजपुर, सुनसरी आदि पूर्वी इलाकामा बनाउने काम र योजना बुन्न थालेका छन् । जुन ठाँउमा यलम्बरको न त कुनै इतिहास छ, न त कुनै साइनो सम्बन्ध नै छ ।
त्यसैले किरातीहरुको प्रमुख दायित्व भनेको उपत्यकामा यलम्बरले शासन गरेको क्षेत्रको पहिचान गरी त्यही स्थानमा राज्यसंग जग्गा लिएर शालिक, सङ्ग्रहालय, पुस्तकालय, अनुसन्धान केन्द्र आदि केके बनाउने हो सम्बन्धित ठाँउमै बनाउनु पर्छ । उपत्यका बाहिर यलम्बरको शालिक बनाउँदा भोलिका सन्ततिहरुले त्यही ठाउँमा उनको इतिहास खोज्न थाल्यो भने के हुन्छ ? त्यहाँ त तायामा खियामा, रैछाकुले ( नाम फरक फरक ) होलेसुङ, बुद्धिकर्ण, अटलसिंह, युमा, फाल्गुनन्द आदिको शालिक बनाउने हो ।
कुनै खोज, अन्वेषण बिना, ठोस प्रमाण र सबुत बिना दाबी गरेको छ, मनलाग्दो ढङ्गले मूर्ति निर्माण गरेको छ, अनि मूर्तिपिच्छे फरकफरक मुहार बनाएको छ । इतिहास र सभ्यतामाथि यसरी गम्भीर गल्ती गर्न पाइन्छ ?
निष्कर्ष के हो भने हामीले हाम्रो वास्तविक इतिहासको पहिचान गरौँ । पहिचान गर्न सकेका छैनौं भने खोज अनुसन्धान गरौँ । तर हाम्रा भावीपुस्ताहरुलाई गलत इतिहास घोक्न र बोक्न बाध्य नपाराैँ । यतिबेला आफू किरातीका सन्तान हुँ र यलम्बर हाम्रो राजा हो भन्ने विभिन्न समुदाय खास गरेर राई समुदायले यलम्बरको मूर्ति बनाउने कार्यमा होडबाजी गरेको देखिन्छ । तर उनीहरुले न त किरात को हो भन्ने विषयमा गहन ढङ्गले खोज अनुसन्धान गरेको छ न त यलम्बर को हो ? भन्ने बारेमा नै गम्भीर रुपमा खोज, अनुसन्धान गरेको छ ।
कुनै खोज, अन्वेषण बिना, ठोस प्रमाण र सबुत बिना दाबी गरेको छ, मनलाग्दो ढङ्गले मूर्ति निर्माण गरेको छ, अनि मूर्तिपिच्छे फरकफरक मुहार बनाएको छ । इतिहास र सभ्यतामाथि यसरी गम्भीर गल्ती गर्न पाइन्छ ? इतिहास र संस्कृतिलाई तोडमोड गर्न पाइन्छ ? सकिन्छ गम्भीर ढङ्गले खोज, अनुसन्धान गरेर वास्तविक इतिहास भावी सन्ततिलाई सुम्पिउँ होइन सकिन्न भने जस्ताको तस्तै छाडिदिउँ । पछिल्ला पुस्ताले खोज्दै जानेछ तर आफ्नै इतिहास र सभ्यताबारे यस्तो गम्भीर त्रुटि नगरौं ।
लेखक संस्कृतिविद्













प्रतिक्रिया