इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित « Khabarhub

इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने प्रयासहरू नयाँ मोडमा पुगेका बेला वासिङ्टनभित्रै अनिश्चितता गहिरिँदै गएको छ । 

इरानले अघि सारेको पछिल्लो प्रस्तावप्रति अमेरिकी नेतृत्व सशंकित देखिएको छ भने यही सन्दर्भमा पेन्टागन प्रमुख पीट हेग्सेथले बुधबार पहिलो पटक कांग्रेससमक्ष गवाही दिने तयारी गरेका छन् ।

दुई महिनादेखि जारी युद्धका कारण इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गरेको छ, जसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर पार्दै अन्तर्राष्ट्रिय अर्थतन्त्रमा तरङ्ग पैदा गरेको छ । यस्तो अवस्थामा युद्धविरामतर्फको कुनै पनि पहल निर्णायक बन्न सक्ने भए पनि वासिङ्टनले तेहरानको प्रस्तावलाई सहज रूपमा स्वीकार गर्ने संकेत देखिएको छैन ।

अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी प्रस्तावप्रति सन्तुष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका विवरणहरूलाई अस्वीकार गरेका छैनन् । यसैबीच, ह्वाइट हाउसमा आयोजित राजकीय भोजका क्रममा ट्रम्पले इरानलाई ‘सैन्य रूपमा पराजित’ भइसकेको दाबी गर्दै आफ्नो कडा धारणा सार्वजनिक गरे। उनले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने अडान दोहोर्‍याउँदै बेलायतका राजा चार्ल्स तृतीयसमेत यसमा सहमत रहेको दाबी गरे।

तर तेहरानको प्रतिक्रिया त्यसको ठीक विपरीत देखिएको छ । इरानी सेनाका प्रवक्ताले राज्य टेलिभिजनमार्फत अमेरिकाप्रति कुनै विश्वास नरहेको स्पष्ट पार्दै युद्ध समाप्त भएको नठानिएको बताए । उनले आवश्यक परेमा नयाँ रणनीति र प्रविधिको प्रयोग गरी अझ कडा जवाफ दिन सक्ने चेतावनी दिए ।

पछिल्ला दिनहरूमा वार्ताको प्रयासहरू प्रभावकारी हुन नसकेको देखिएको छ । उपराष्ट्रपति जेडी भान्स प्रस्तावित वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहनुभए पनि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो । इरानको फार्स समाचार एजेन्सीका अनुसार पाकिस्तानमार्फत आएको नयाँ प्रस्तावमा होर्मुज जलघाँटी लगायतका संवेदनशील विषयलाई ‘रेड लाइन’ का रूपमा प्रस्तुत गरिएको छ ।

उक्त प्रस्तावअनुसार इरानले जलमार्गमा आफ्नो नियन्त्रण केही खुकुलो बनाउने र त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सम्भावना उल्लेख गरिएको छ । यद्यपि, इरानको आणविक कार्यक्रमजस्तो जटिल विषयमा भने विस्तृत वार्ता जारी राख्ने प्रस्ताव गरिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रस्ताव अपेक्षाभन्दा ‘राम्रो’ भए पनि त्यसको विश्वसनीयतामाथि प्रश्न उठाए । विशेषगरी इजरायलले इरानी वरिष्ठ अधिकारीहरूको हत्या गरेपछि प्रस्ताव राख्ने पक्षसँग पर्याप्त अधिकार छ कि छैन भन्ने विषयमा उनले आशंका व्यक्त गरे। उनले अन्तिम सहमति भएमा त्यसले इरानलाई आणविक हतियार विकासतर्फ अघि बढ्न रोक्नुपर्ने स्पष्ट पारे।

यता इरानी रक्षा मन्त्रालयका प्रवक्ताले भने अमेरिकाले आफ्ना ‘अवैध र अव्यावहारिक मागहरू’ त्याग्नुपर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय राजनीति परिवर्तन भइसकेको भन्दै अमेरिकाले एकल रूपमा अन्य राष्ट्रहरूलाई निर्देशन दिने अवस्था समाप्त भएको दाबी गरे ।

मध्यस्थकर्ताको भूमिकामा देखिएको कतारले स्पष्ट समाधान ननिस्किए दीर्घकालीन गतिरोधपूर्ण अवस्था कायम रहन सक्ने चेतावनी दिएको छ । यही अनिश्चितताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लागेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य युद्धविरामअघि झरेको स्तरभन्दा माथि पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेटले पनि दुई हप्तापछि पुनः १०० डलर नाघेको छ ।

युद्ध लम्बिँदै जाँदा अमेरिकाभित्र पनि दबाब बढ्दै गएको छ । आगामी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वसाधारणबीच युद्धप्रति असन्तुष्टि बढ्दो देखिएको छ । यस्तो अवस्थामा ट्रम्पमाथि द्वन्द्वबाट बाहिरिने स्पष्ट मार्ग खोज्न दबाब परेको छ ।

अन्तर्राष्ट्रिय रूपमा समेत आलोचना बढ्दै गएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकासँग स्पष्ट रणनीति नभएको टिप्पणी गरेका थिए, जसको ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिए ।

यसैबीच, लेबनान क्षेत्रमा पनि तनाव कायम छ । इरान समर्थित हिजबुल्लाह र इजरायलबीच युद्धविराम विस्तार भए पनि छिटपुट हिंसा जारी छ । लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना दुई सैनिक घाइते भएको जनाएको छ । 

इजरायलले भने हिजबुल्लाहको गतिविधिलाई युद्धविराम उल्लङ्घन भन्दै विभिन्न क्षेत्र खाली गर्न चेतावनी दिएको छ र ठूलो सुरुङ सञ्जाल ध्वस्त पारिएको दाबी गरेको छ ।

इजरायली विदेशमन्त्री गिदोन सारले आफ्नो देशको लेबनानमा कुनै क्षेत्रीय महत्त्वाकांक्षा नभएको दोहोर्‍याउँदै सशस्त्र समूह निष्क्रिय भएपछि त्यहाँ उपस्थितिको आवश्यकता नपर्ने बताए । तर हिजबुल्लाहका नेता नईम कासिमले भने आफ्नो समूह पछि नहट्ने स्पष्ट संकेत दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ५३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर