ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ? « Khabarhub

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

ओलीलाई दुवै पक्षको एउटै चुनौती–‘प्रमाण देखाऊ’



काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सार्वजनिक मञ्चबाटै नेपाली कांग्रेस फुटिसकेको दाबी गरे । पुस मसान्तयता नेपाली कांग्रेस सानेपाको केन्द्रीय पार्टी कार्यालयको एउटै छानामुनि अटाएको छैन ।

यद्यपि हालसम्म सभापति गगन थापा र इतर समूहका नेता पूर्णबहादुर खड्का वा डा. शेखर कोइराला कसैले पनि पार्टी फुटेको औपचारिक घोषणा भने गरेका छैनन् । १५ औँ नियमित महाधिवेशनको तयारीमा रहेको पार्टीमा छलफल गर्न कार्यालय खोल्ने चर्चा भने चलिरहेको छ ।

एकताका लागि इतर र संस्थापन कांग्रेसमा असहमतिका बुँदा आदानप्रदान भएको विषय पनि सार्वजनिक नै छ । यसैबीच, १४ असारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिलाई मिल्न नदिने योजनाअन्तर्गत कांग्रेस फुटाइएको बताएपछि भने राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

‘लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत कांग्रेस फुटाइयो । अरूलाई पनि फुटाउने प्रयास हुनसक्छ,’ उनले भने, ‘एमालेलाई फुटाउन सकिन्छ भन्ने सोच सफल हुँदैन । एमाले एकताबद्ध छ र एकताबद्ध नै रहन्छ ।’ 

उनले उक्त अभिव्यक्ति पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल, झलनाथ खनाल तीन पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई साक्षी राख्दै भनेका थिए ।

शेरबहादुर देउवाको सभापतित्वमा २०८१ असार ३० मा कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सम्झौता भएको थियो । १ वर्ष २३ दिन  कांग्रेस सभापति देउवा निकट रहेर सत्ता सहकार्य गरिसकेका ओलीको यो अभिव्यक्ति राजनीतिक दाबी मात्रै थियो वा कांग्रेस इतर विशेषगरी देउवा पक्षीय स्रोतबाट प्राप्त कुनै सूचनाको संकेत ?

ओलीको कांग्रेस फुटको दाबीमा इतर पक्ष के भन्छ ?

ओलीले कांग्रेस फुटिसक्यो भन्नुको कुनै तुक नभएको १४ औँ महाधिवेशनका केन्द्रिय सदस्य गुरु बरालले बताए । बराल विशेष महाधिवेशन इतर समूहका नेता हुन् ।

‘उहाँले के आधारमा फुट्यो भन्नुभो, आधिकारिक रुपमा त्यस्तो कुनै विभाजन भएको छैन । अहिलेका संस्थापन पक्षले पार्टी एकता र पार्टी बलियो बनाउन भने उहाँहरु अनुच्छुक र अव्यवहारिक देखिएको छ,’ उनले भने ।

संस्थापनको कमजोर भूमिकाका कारण अन्य दललाई कांग्रेस विभाजन भयो भन्न लाग्नु अस्वभाविक नभएको उनले बताए । 

‘संस्थापन पक्षको ७ बुँदेमा हामीले धारणा पठाएका छौँ । तर उहाँहरूको प्रतिक्रिया आएको छैन,’ उनले थपे, ‘त्यसैमाथि गाडी छुटिसक्यो, सदस्यता अद्यावधिक नगर्नेलाई सम्मान मात्रै गर्न सक्छौँ भन्ने लगायतका अभिव्यक्तिले गर्दा लामो समय पार्टीमा काम गरेका साथीले निराश हुँदै पार्टी छोड्ने गतिविधि बढी राखेको छ ।’ 

पार्टी भन्दा पनि लोकतन्त्र र सार्वभौमिकता माथि सरकार लापरबाही ढंगमा अघि बढेकोमा समेत कांग्रेस मौन बसेकोमा उनले शंका व्यक्त गरे । 

‘सीमाना, संविधान, स्थानीय तह दलविहीन बनाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायत सरकारको अलोकतान्त्रिक गतिविधिमा गगन थापा नेतृत्वको कांग्रेस मूकदर्शक बनेको छ । कतै हाम्रो पार्टी यी सबै गतिविधिको हिस्सेदार त होइन भन्ने हामीलाई शंका लागेको छ,’ उनले भने ।

‘देशमा प्रजातन्त्र, संघियता ल्याउन संघर्ष गरेको ठुलो समूह अहिलेपनि पार्टी बाहिरै छ । त्यसलाई बाहिरै राखेर सरकारको सहयात्री बन्ने हो की भन्ने व्यापक चिन्ता छ,’ उनले भने । 

 संस्थापन पक्ष के भन्छ ?

‘न कांग्रेस फुटेको छ न फुट्छ,’ एमाले अध्यक्ष ओलीको टिप्पणीमा कांग्रेस महामन्त्री गुरु घिमिरेले दाबी गरे । ओलीले फुटेको भन्नुमा कुनै तर्क नरहेको उनले प्रष्ट पारे ।

‘महामन्त्रीको हैसियतले मैले आजसहित निरन्तर पार्टीको नेता शेखर कोइराला, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, अर्का नेता कृष्णप्रसाद सिटौलासँग लगातार छलफल गरिरहेको छु । सभापतिले पनि कुरा गर्नुभएको छ,’ महामन्त्री घिमिरेले जानकारी दिए । 

यस्तै, कोइराला पक्षले पठाएको ५ बुँदे र संस्थापनले पठाएको ७ बुँदे प्रस्तावसहित इतर समूहका असन्तुष्टिमाथि आफूले छलफल चलाइरहेको उनको भनाइ छ । 

‘इतर मतलाई कसरी सम्बोधन र समायोजन गर्ने, १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण कसरी बनाउने भन्नेमा हामी दिनरात काम गरिरहेका छौँ,’ उनले बताए । 

पार्टी एकतार्थ आफूहरू गम्भिर रहेकाले विभाजनको विषय तर्कहीन रहेको र त्यसको कुनै सम्भावना समेत नभएको महामन्त्री घिमिरेको दाबी छ ।

‘पूर्वप्रधानमन्त्रीज्यूले कांग्रेसको चरित्र बुझ्नुभएन होला । उहाँ ठूलो कम्युनिस्ट पार्टीको ठुलो नेता, उहाँले यस्ता कुरा बोलिदिँदा अलिकति होस् पुर्‍याएर बोलिदिनुपर्छ,’ उनले थपे, ‘८० वर्षदेखि कांग्रेस पार्टीभित्रका र बाहिरको लामो संघर्षबाट गुज्रिएर आएको छ,’ त्यसैले उतारचढाव र वादविवाद हुँदैमा पार्टी नफुट्ने उनले प्रष्ट्याए ।’

हाल उनले गरेका छलफलमा इतरतर्फबाट कस्ता विषय उठान भइरहेका छन् भन्ने खबरहबकर्मीको प्रश्नमा उनी भन्छन्, ‘तीनै ५ बुँदे र ७ बुँदेमाथि छलफल गर्न मैले शेखर कोइरालासँग भेट गरेपछि हिजोमात्रै पूर्णबहादुर खड्का र सिटौलासँग कुराकानी गरेँ ।’ उनले भने ।

उक्त छलफलले निष्कर्षसहित १५ औँ महाधिवेशनमा सबैलाई हार्दिकाताका साथ सहभागी गराउनेमा आफू ढुक्क रहेको उनले बताए । यतिबेला कांग्रेस संस्थापन र इतरबीच १४ औँ महाधिवेशन र विशेष महाधिवेशनको केन्द्रिय समिति समायोजन, क्रियाशील सदस्यता र १५ औँ महाधिवेशनका लागि अर्को संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।

क्रियाशील अद्यावधिक गर्ने विषय भने विधानतः नै भएकाले त्यसमा कसैलाई छुट नहुने उनले बताए । ‘यसमा मौका पनि दिएका छौँ । यो डिजिटलाइज्ड गर्ने मात्रै हो । यसमा पार्टीले कुनै पक्षधरता पार्टीले अवलम्बन गरेको छैन,’ उनले भने, ‘कार्यसमिति समायोजन, विषयगत समितिमा समावेश गर्नेमा कुरा मिल्नेबित्तिकै अद्यावधिकको विषय विधानको धारा (४), (१४) अनुरुपको निर्णय हो  यो सबैले मान्नुपर्छ ।’ 

यस्तै, सरकारका निर्णयमा कांग्रेसले दरिलो रुपमा सदनमा उठाएको उनले बताए । ‘कतै संसदीय दलका नेताले उठाउनुभएको छ, कतै प्रमुख सचेतक, सचेतक, कतै सांसदहरुले उठाउनुभएको छ । पार्टी बाहिरका फोरममा सभापति स्वयं पनि बोलनुभएको छ । पदाधिकारी साथीहरू बोल्नुभएको छ,’ महामन्त्री घिमिरेले प्रष्ट पारे ।

सरकारको सय दिनको कामबाट जनता उत्साहित नरहेको बताउँदै उनले सरकार प्रोपागाण्डा र स्टन्टबाजीमा लागेको आरोप लगाए । ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेखि हुनुपर्ने हो । संघीय लोकतान्त्रिक प्रणालीमा संसदले नै प्रधानमन्त्री बनाउँछ र खोस्छ । तर पनि उहाँले संसद छल्दै अपमान गर्ने गर्नुभएको छ, मन्त्रीका काम पनि जनताको दैनिक जीवनलाई सहज बनाउने भन्दा स्टन्टबाजी गर्नेमा केन्द्रित देखिन्छ,’ महामन्त्री घिमिरेले भने । 

उनका अनुसार बहुमतको सरकारले जनतालाई अनुभुति हुनेगरि काम गर्न गर्न सकेको छैन । 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ५४ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार