भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास « Khabarhub

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास



काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ ? के एउटा सामान्य संवादले रातारात देशभर चिनाउन सक्छ ? अनि, के सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा राज्यका सुविधा, अवसर र निर्णय आकर्षित हुन सक्छन् ? कुनै समय टेलिभिजन र पत्रपत्रिकाले मात्रै चिनाउने अनुहार आज एउटा मोबाइल क्यामेरा र केही सेकेन्डको भिडियोले देशभर परिचित बनाइदिन्छ ।

सामाजिक सञ्जालको यही शक्तिले धेरै सामान्य व्यक्तिलाई रातारात चर्चाको केन्द्रमा पुर्‍याएको छ । तर यो चर्चाले कसैलाई अवसर दिएको छ भने कसैलाई विवाद र कानुनी झमेलासमेत निम्त्याएको छ । पछिल्ला केही घटनाले सामाजिक सञ्जालको प्रभाव कति गहिरोसम्म पुगेको छ भन्ने स्पष्ट देखाएका छन् । चर्चा पाएका केही भिडियोको प्रसङ्ग :

रेनकोट ओढेका तीन बालिकाले तानेको ध्यान

तस्बिर : लोकेन पुन

केही दिनअघि रोल्पाका तीन साना बालिका सिमसिम पानीमा पहेँलो, हरियो र गुलाबी रेनकोट लगाएर विद्यालय जाँदै गरेको एउटा भिडियो फेसबुकमा सार्वजनिक भयो । भिडियोमा अपरिचित व्यक्तिले बोलाउँदा पनि उनीहरू नरोकी आफ्नै बाटो लागेका थिए । उनीहरूको अनुशासन, आत्मविश्वास र अपरिचितसँग नबोल्ने व्यवहारले लाखौँ मानिसको मन जित्यो ।

भिडियो केही घण्टामै सामाजिक सञ्जालभर फैलियो । त्यसपछि उनीहरूको अर्को भिडियो पनि सार्वजनिक गरियो, जहाँ चकलेटको प्रलोभन दिँदा समेत उनीहरू नजिक नगई दौडिएको देखियो । धेरैले यसलाई बालबालिकामा राम्रो संस्कार र सुरक्षाप्रतिको सचेतनाको उदाहरणका रूपमा व्याख्या गरे ।

भिडियो भाइरल भएको केही दिनमै रोल्पाको रुन्टीगढी गाउँपालिका र उनीहरू अध्ययनरत एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले तीनै बालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाउने घोषणा गरे । विद्यालयले कक्षा ६ सम्मको खर्च बेहोर्ने र गाउँपालिकाले कक्षा ७ देखि स्नातक तहसम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता जनायो ।

बालिकाहरूका लागि यो निसन्देह खुसीको खबर थियो । यही घोषणापछि सामाजिक सञ्जालमा एउटा गम्भीर प्रश्न उठ्यो– के अब राज्यको सेवा, सुविधा र छात्रवृत्ति पाउन भाइरल हुनैपर्ने हो ? भिडियोमा भाइरल हुनु कुनै योग्यता हो ? यस्ता दृश्यले समाजमा पुर्‍याउने योगदान के हो ?

धेरैले रोल्पासहित देशभर अझै पनि गरिबीका कारण विद्यालय जान नसकेका हजारौँ बालबालिका रहेको स्मरण गराए । उनीहरूको भनाइ थियो– राज्यका स्रोत सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, वास्तविक आवश्यकता, गरिबी र स्पष्ट मापदण्डका आधारमा वितरण हुनुपर्छ ।

नेपालमा भाइरल भएर चर्चामा आउने घटना नयाँ भने होइन । सङ्घीय चुनावताका झापाबाट बालेनले चुनाव जितेको खण्डमा ‘कान काटिदिन्छु’ भन्ने संवाद बोलेपछि एक महिला रातारात सामाजिक सञ्जालमा चर्चित बनिन् । त्यो एउटा छोटो क्लिप हजारौँ पटक सेयर भयो, मिम बन्यो, टिकटकमा पुनः प्रयोग भयो र उनी देशभर परिचित अनुहार बनिन् ।

त्यस्तै, विभिन्न सडक अन्तर्वार्ता, रमाइला संवाद, गीत, नाच वा सामान्य व्यवहारका कारण पनि धेरै नेपालीहरू एकै रातमा भाइरल भएका उदाहरण प्रशस्तै छन् । सामाजिक सञ्जालले उनीहरूलाई चर्चा त दियो, तर त्यो चर्चा कति समय टिक्यो र त्यसले जीवनमा कस्तो प्रभाव पार्‍यो भन्ने अर्को बहसको विषय हो ।

सामाजिक सञ्जालले अवसर मात्रै होइन, जोखिम पनि ल्याउँछ । यसको पछिल्लो उदाहरण हुन् वेदिका केसी । वेदिका केसी पछिल्लो समय सामाजिक सञ्जालमा धर्म, अन्धविश्वास र आफूलाई धार्मिक अगुवा बताउने व्यक्तिहरूमाथि खुलेर टिप्पणी गर्ने कन्टेन्ट क्रिएटरका रूपमा चर्चामा आएकी थिइन् । युट्युब र फेसबुकमार्फत उनले विभिन्न भिडियो सार्वजनिक गर्दै यस्ता विषयमा आफ्ना धारणा राख्दै आएकी थिइन् ।

यही क्रममा उनले कथावाचिका राधिका दासीलाई लक्षित गर्दै अन्तर्वार्तामा टीकाटिप्पणी गरिन् । त्यसपछि राधिका दासीले वेदिका केसीमाथि आफूविरुद्ध भ्रामक सूचना फैलाएको, आधारहीन आरोप लगाएको र आफ्नो चरित्रमा आँच पुर्‍याउने सामग्री प्रसारण गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी दिइन् । उक्त उजुरीपछि साइबर ब्युरोले वेदिका केसीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाए ।

अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्यादसमेत लिएपछि यो घटना सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । वेदिका केसीलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट एक दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको थियो । त्यसपछि सोही दिन प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो ।

यो घटनाले अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, डिजिटल चरित्रहत्या र साइबर कानुनबारे राष्ट्रिय बहस सुरु गरायो । यसले देखायो– सामाजिक सञ्जालले लोकप्रियता दिन सक्छ, तर त्यही लोकप्रियता गलत सूचना वा अपुष्ट दाबीका कारण कानुनी चुनौतीमा पनि बदलिन सक्छ ।

रोल्पाका तीन बालिकाको घटनाले अर्को संवेदनशील विषय पनि उठाएको छ । धेरैले बालबालिकाको भिडियो पटक-पटक सार्वजनिक गर्नु, उनीहरूको गोपनीयताको ख्याल नगर्नु र एआई प्रयोग गरेर नक्कली तस्बिर बनाउनु बालअधिकारको दृष्टिले चिनाजनक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गर्नु आफैँमा नराम्रो होइन । धेरै प्रतिभावान् व्यक्ति यही माध्यमबाट अवसरसम्म पुगेका छन् । तर लोकप्रियताकै आधारमा राज्यका निर्णय हुनु वा भाइरल हुनकै लागि व्यक्तिको गोपनीयता र अधिकारमाथि सम्झौता हुनु भने गम्भीर चिन्ताको विषय हो ।

आज एउटा साधारण भिडियोले छात्रवृत्ति दिलाउन सक्छ । एउटा संवादले देशभर चिनाउन सक्छ । एउटा पोस्टले ठूलो आन्दोलन पनि सुरु गराउन सक्छ, वा कानुनी अनुसन्धानसम्म पुर्‍याउन सक्छ । यही कारण अहिले एउटा प्रश्न झन् बलियो बनेर उभिएको छ। के हामी नीति, आवश्यकता र न्यायभन्दा बढी सामाजिक सञ्जालको भाइरल संस्कृतिबाट प्रभावित हुन थालेका त छैनौँ ?

सामाजिक सञ्जाल परिवर्तनको शक्तिशाली माध्यम हो । तर राज्यका निर्णय, अवसर र अधिकार भने भाइरल लहरले होइन, स्पष्ट, पारदर्शी र न्यायोचित मापदण्डले निर्धारण गर्नुपर्नेमा धेरैको जोड छ । अन्यथा भोलिका दिनमा न्याय र अवसर पाउन पनि मानिसहरू आफ्ना पीडा सामाजिक सञ्जालमा ‘भाइरल’ बनाउन बाध्य हुने अवस्था सिर्जना हुन सक्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ८ : ४३ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले