एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल « Khabarhub

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सियोल– कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ । 

कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो करिब एक हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो ।

यद्यपि वित्तीय नतिजा अत्यन्त बलियो देखिए पनि एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालसम्म टिकाउ हुने वा नहुने भन्ने चिन्ताका कारण दक्षिण कोरियाको सेयर बजारमा भने ठूलो उतारचढाव देखिएको छ । यही कारण सामसुङ तथा प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको सेयरमा तीव्र गिरावट आएको छ ।

सामसुङले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल–जुन अवधिमा कम्पनीको राजस्व एक हजार ७१५ खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १३० प्रतिशत बढी हो । 

यस अवधिमा कम्पनीको शुद्ध नाफा पनि करिब एक हजार ३०० प्रतिशतले वृद्धि भई ७१६ खर्ब वोन पुगेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले वित्तीय तथ्याङ्क उद्धृत गर्दै यी नतिजाले बजारको अपेक्षा पूरा गरेको जनाएको छ ।

वित्तीय उपलब्धिका बाबजुद बुधबार दक्षिण कोरियाको सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा व्यापक बिक्री दबाब देखिएको थियो । 

सामसुङको सेयर १२ प्रतिशतभन्दा बढी घट्दा यसको प्रमुख प्रतिस्पर्धी एसके हाइनिक्सको सेयर पनि अघिल्लो दिनको १४ प्रतिशत गिरावटपछि थप करिब २० प्रतिशतले ओरालो लागेको थियो । पछिल्लो एक महिनामा रेकर्ड उचाइमा पुगेको एसके हाइनिक्सको बजार मूल्य झन्डै आधामा झरेको छ ।

एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी राजस्व र परिचालन मुनाफा कमाएको भए पनि त्यो विश्लेषकहरूको अपेक्षाभन्दा कम रहेको जनाइएको छ ।

सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन विश्वका प्रमुख उच्च–ब्यान्डविड्थ मेमोरी (एचबिएम) चिप उत्पादकमध्ये पर्छन् । यी चिपहरू एआई प्रोसेसरमा च्याटबोट सञ्चालन, जटिल गणना तथा यथार्थपरक तस्बिर निर्माणजस्ता कार्यका लागि अत्यावश्यक मानिन्छन् ।

सामसुङले आफ्नो मेमोरी व्यवसायले सर्भर उत्पादनलाई प्राथमिकता दिँदै हालसम्मकै उत्कृष्ट त्रैमासिक प्रदर्शन गरेको जनाएको छ । लगातार दुई दिनको गिरावटपछि बिहीबार बिहान कम्पनीको सेयर करिब तीन प्रतिशतले सुधारिएको थियो ।

कम्पनीले वर्षको दोस्रो छ महिनामा पनि सर्भरसम्बन्धी उत्पादनको माग बलियो रहने विश्वास व्यक्त गरेको छ । पूर्वाधार विस्तार, एआईमा बढ्दो लगानी तथा प्रयोगकर्ताका लागि स्वतन्त्र रूपमा कार्य सम्पन्न गर्न सक्ने ‘एजेन्ट एआई’ प्रविधिको विस्तारले बजारलाई थप चलायमान बनाउने कम्पनीको अपेक्षा छ ।

कम्पनीका प्रमुख वित्तीय अधिकारी पार्क सून–चोलका अनुसार विश्वव्यापी मेमोरी चिपको अभाव सन् २०२७ मा अझ गहिरिने र त्यसको प्रभाव सन् २०२८ सम्म कायम रहने अनुमान गरिएको छ ।

सामसुङले अमेरिकाको टेक्सास राज्यस्थित टेलरमा निर्माणाधीन पहिलो चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दोस्रो उत्पादन केन्द्रको निर्माण यसै वर्षपछि सुरु हुने र सन् २०३० सम्म पूर्ण व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य राखिएको छ ।

विश्लेषकहरूका अनुसार एआईको तीव्र विस्तारले उच्चस्तरीय एचबिएम चिपमात्र नभई, परम्परागत न्यान्ड र ड्राम मेमोरी चिपको मूल्य तथा ढुवानीमा समेत उल्लेखनीय वृद्धि गराएको छ ।

बजार अनुसन्धान संस्था काउन्टरपोइन्टका विश्लेषक एमएस ह्वाङका अनुसार सामसुङले मेमोरी क्षेत्रमा रहेको आफ्नो बलियो आधारको उपयोग गर्दै विभिन्न व्यापारिक क्षेत्रमा आक्रामक रूपमा बजार हिस्सा विस्तार गरिरहेको छ ।

हालै सामसुङले अमेरिकी चिप निर्माता ब्रोडकमसँग रणनीतिक सहकार्य गरी एचबिएमसहित उन्नत मेमोरी समाधान उपलब्ध गराउने घोषणा गरेको थियो । यो साझेदारीको कुल मूल्य सन् २०३० सम्म दुई खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ ।

ह्युन्डाई रिसर्च इन्स्टिच्युटका आर्थिक अनुसन्धान प्रमुख जो वोनका अनुसार यो सहकार्यलाई सामसुङले एनभिडियामा सीमित ग्राहक आधार विस्तार गर्दै अन्य एआई चिप उत्पादकसँग दीर्घकालीन सम्बन्ध मजबुत बनाउने रणनीतिका रूपमा लिन सकिन्छ ।

यसैबीच, सामसुङले अमेरिकी सेयर बजारमा सूचीकृत हुने सम्भावनाबारे चलेका अड्कलबाजीलाई पनि अस्वीकार गरेको छ । कम्पनीका वित्तीय अधिकारी पार्कले बलियो नगद प्रवाह रहेकाले तत्काल पूँजी सङ्कलनको आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।

दक्षिण कोरियामा बढ्दो सेमिकन्डक्टर उद्योगले सरकारी राजस्वसमेत उल्लेखनीय रूपमा बढाएको छ । राष्ट्रपति ली जे म्युङले यस अवस्थालाई नयाँ लगानीका लागि ‘सुनौलो अवसर’ को संज्ञा दिएका छन् ।

सरकारले सामसुङ र एसके हाइनिक्सले ग्वाङ्जुको पूर्व सैन्य विमानस्थल क्षेत्रमा चारवटा अत्याधुनिक चिप उत्पादन केन्द्र स्थापना गर्न संयुक्त रूपमा आठ हजार खर्ब वोन लगानी गर्ने योजनालाई पनि पुष्टि गरेको छ ।

यद्यपि विश्लेषक जो वोनले उक्त परियोजना दीर्घकालीन भएकाले त्यसको प्रतिफल आउन समय लाग्ने बताउँदै अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको विश्वव्यापी सेमिकन्डक्टर ‘सुपरसाइकल’ अपेक्षाभन्दा चाँडै समाप्त हुन सक्ने जोखिम रहेको उल्लेख गरेका छन् । रासस

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : १७ बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले