काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण वृद्धि भएको त्रिशुली नदीको बहाबले राजमार्गतर्फको जमिन कटान गर्दा गएको पहिरोले कृष्णभीरको सडक नै भासिएपछि यातायात पूर्ण अवरुद्ध बनेको हो ।
काठमाडौंदेखि पोखरा र नारायणगढ हुँदै देशको पश्चिम भागसँग जोड्ने मुख्य सडक अवरुद्ध भएपछि ठूलो संख्याका नेपालीको यात्रा र वस्तुको ओसारपसार नै प्रभावित हुने अवस्था देखिएको छ ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले अब तत्काल केही दिन पृथ्वी राजमार्गबाट यातायात सुचारु हुन सम्भव नरहेको बताएका छन् ।
खबरहबसँग कुरा गर्दै उनले कृष्णभीरमा सडक भासिएको ठाउँमा नदीतर्फबाट नै बनाउनुपर्ने हुँदा नबनाउने बेलासम्म सडक सुचारु नहुने बताए ।
‘अहिले पृथ्वी राजमार्गको मुख्य गरेर दुई ठाउँमा सम्पर्क टुटेको छ, एउटा कृष्णभीर र अर्को परेवा भीरमा’, उनले भने, ‘अहिले तत्काल कृष्णभीरमा त्रिशुली नदीको तल बेसमा गएर हामीले वाल उठाउनु पर्छ, तर, अहिले नै सम्भव छैन, स्थिरता भएपछि पानीले सतह हेरेर मात्रै गर्न सकिन्छ, त्यो काम गरेपछि मात्रै यातायात सुचारु सम्भव छ ।’
कृष्णभीरमा सडक भासिएको ठाउँमा माथि भीरतर्फको भाग कटान गरेर सडक बनाउन सम्भव नभएको उनले बताए । विगतमा कृष्णभीरमा निरन्तर पहिरो जाँदा धेरै लामो समयसम्म सडक अवरुद्ध हुने गरेको थियो । त्यसैले सो कमजोर भागलाई चलाउन नहुने उनको भनाइ छ ।
‘त्यसको माथितिर झन ‘फ्रेजाइल’ छ, पहिले खसिरहने भीर हो, हामीले धेरै कुरा राखेर स्थिर बनाएका छौँ, त्यहाँ खलबलियो भने त्यो पनि फेरि खस्न सुरु गर्छ’, उनले भने, ‘त्यो भएको कारणले हामीले आज र भोलिको अवस्था हेरेर नेपाल आर्मी, प्रहरी, सबै जनशक्ति लागेर ग्याबिन वाल भर्दै भर्दै माथिसम्म ल्याउन सक्ने विकल्प मात्रै छ, त्यसकारणले एक दुई दिन पृथ्वी राजमार्ग बन्द नै हुन्छ ।’
पृथ्वीराजमार्गको अवस्था बिग्रिएपछि पोखरा हुँदै आउने वा कृष्णभीरको खण्ड भएर आउने सवारी साधन अब नारायणगढ हेटौँडा हुँदै अन्य राजमार्गमार्फत आउनुपर्ने उनले बताए । त्यसका लागि आजदेखि नै गाडीहरूलाई डाइभर्ट गरिएको पनि महानिर्देशक डा जैसीको भनाइ छ ।
‘हेटौँडा हुँदै विपी राजमार्ग वा कान्तिपथ हुँदै आउन सकिन्छ, अहिले तत्काललाई यी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ’, अन्य राजमार्गबाट पनि ठूला सवारी साधन राजधानी आउन सक्ने भन्दै उनले भने, ‘त्रिभुवन राजपथ, कान्ति र विपी हाइवेबाट ग्यास बुलेट समेत आउन सक्छन्, तर, जति सक्दो छिटो चलाउँछौँ हामी ।’
साथै, उनले अहिले विभागले विपद्मा परेकालाई उद्दार गर्ने उद्देश्यले धुन्चे क्षेत्रको राजमार्ग खोल्नका लागि मुख्य शक्ति प्रयोग गरिरहेको पनि अब शक्ति बाँडफाँट गरेर काम गर्ने बताए ।















प्रतिक्रिया