काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भन्दै झुटो प्रचार गरिएको आरोप लगाएका छन्।
महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले देउवा उद्घाटन सत्रमा सहभागी हुने भनेर झुटो प्रचार गरिरहेको दाबी गरेका हुन्।
उनले देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्न लागेको जानकारी दिँदै उक्त वडा अधिवेशन नै कांग्रेसको आधिकारिक अधिवेशन भएको दाबी गरे।
‘शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्नुहुन्छ भनेर झुटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झुट कुरा भन्न हिचकिचाउनुहुन्न,’ महतले भने।
महतले १५औँ महाधिवेशनबाट आउने नेतृत्व निष्पक्ष र पारदर्शी ढंगबाट चयन हुनुपर्ने तथा सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने आफूहरूको माग रहेको बताए।
‘हामीलाई अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढंगबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनका लागि गयौँ,’ उनले भने।
अदालतमा मुद्दा विचाराधीन रहेकाले आफूहरूले अझै न्याय पाउने आशा रहेको पनि महतले बताए।














प्रतिक्रिया