काठमाडौं– फिल्मको कथा कस्तो होला भन्ने कौतूहलसँगै अब ‘आबाट आमा २’ले गीतमार्फत पनि दर्शकको ध्यान तान्न थालेको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आबाट आमा २’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
निर्माण टिमले फिल्ममा समावेश ‘अचेल किन कान्छी’ बोलको गीतको भिडिओ सार्वजनिक गरेको हो। डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडिओमा अभिनेता पल शाह र अभिनेत्री मलिका महतलाई रमाइलो मुडमा नाचिरहेको देख्न सकिन्छ। उनीहरूसँगै अभिनेता आकाश श्रेष्ठलगायत कलाकार पनि भिडिओमा देखिएका छन् ।
गीतको भिडिओको अर्को रोचक पक्ष यसको परिवेश हो । सामूहिक विवाहको माहोलमा तयार पारिएको भिडिओमा दुलाहा–दुलहीसँगै अन्य पात्रहरू पनि नाचगानमा रमाइरहेका छन् ।
गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ । रवि ओड र गंगा सोनामले गीतमा स्वर दिएका छन् । उनीहरूलाई सामूहिक स्वरमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्। गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन् ।
चन्द्र पन्तको निर्देशनमा बनेको ‘आबाट आमा २’मा पल र मलिकासँगै विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडाललगायत कलाकारको अभिनय छ ।
फिल्मको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने साहिल खान र मिलन श्रेष्ठ सम्पादनमा छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा गीत सार्वजनिक गरेर निर्माण टिमले फिल्मको प्रचारलाई पनि गति दिएको छ ।
विशेषगरी पल शाह र मलिका महतको जोडी, सामूहिक विवाहको रमाइलो परिवेश र नृत्यप्रधान गीतले फिल्मप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया