जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द  « Khabarhub

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलित बनेका छन् । 

सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयनको माग गर्दै गत भदौ २४ गतेदेखि मासिक ज्यालादारीअन्तर्गत कार्यरत कर्मचारी आन्दोलित छन् ।

यसरी आन्दोलित हुनेमा अधिकांश उत्पादन शाखाका कर्मचारी रहेकाले असोज ५ गतेदेखि उत्पादन नै बन्द भएको छ ।

उनीहरूले भदौ २४ गतेदेखि कालोपट्टि बाँधेर काम गरेका थिए । तर, अन्य कर्मचारीसरह सुविधा दिन व्यवस्थापनले आनाकानी गरेपछि करिब ३० जना कर्मचारीले असोज ५ गतेदेखि नियमित धर्ना बसिरहेका छन् ।  

२३ वर्षदेखि कम्पनीमा कार्यरत दोलखाकी सुस्मिता गौतमले सामाजिक सुरक्षाका सेवासुविधा नपाएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको सुनाइन् । 

‘२३ वर्षदेखि काम गर्दा पनि सेवासुविधा पाएका छैनौँ । नआएको दिनको पैसा काटिन्छ । हामीले राखेको माग सुनुवाई पनि भएको छैन । केही हुन्छ भनेर यसरी धर्ना बस्नुपरेको छ,’ उनले भनिन् । आफूहरूको काममा फर्कने चाहना भएपनि मागमा बेवास्ता गरिएको उनको भनाइ छ । आफूहरूको माग पूरा नहुँदासम्म धर्नालाई निरन्तरता दिने उनले बताइन् ।

सेवासुविधाको माग गर्दै कम्पनीमा कार्यरत गौतमसहित २२ जनाले २०७८ चैत १७ र २०७९ असार ८ गते श्रम तथा रोजगार कार्यालय काठमाडौँमा निवेदन दर्ता गराएका थिए । कार्यालयले २०८० जेठ ४ मा श्रमिकको पक्षमा निर्णय गरेको थियो । त्यसपछि जडीबुटी कम्पनी २२ जना कर्मचारीविरुद्ध पुनरावेदन लिएर श्रम अदालत भक्तपुर पुगेको थियो ।

अदालतले पनि मासिक न्यूनतम पारिश्रमिक, सञ्चयकोष, उपदान, बिरामी बिदालगायत सेवासुविधा प्राप्त गर्नुपर्ने भन्दै २०८१ जेठमा कर्मचारीको पक्षमा फैसला सुनाएको थियो । 

तर, अदालतको आदेश कार्यान्वयन नगरेको, मागमा बेवास्ता गरेको भन्दै कर्मचारी चाडपर्वको मुखमा धर्ना बसेका हुन् । उनीहरू बिहान १० बजे हाजिर गर्ने र कार्यालय समयमा धर्ना बस्ने गरेका छन् ।

उनीहरूले यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, टेकुस्थित श्रम तथा रोजगार कार्यालयलाई पनि जानकारी गराएका छन् । उनीहरूले माग पूरा गर्न र पूरा नभएमा आन्दोलन थाल्ने भन्दै कम्पनीका महाप्रबन्धकलाई गत भदौ १८ मा पत्रसमेत लेखेका थिए । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : २८ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर