नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने « Khabarhub

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन, अभिलेख व्यवस्थापन गर्न तथा नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाभन्दा अर्को जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ । 

सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरी प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

नियमावलीले नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर काम नलाग्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ ।

यसअघि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने अवस्थालाई सहज बनाउँदै नयाँ नियमावलीले अन्य जिल्लाबाट समेत सेवा लिन सक्ने बाटो खोलेको हो ।

त्यसैगरी, विवाह हुनुअघि नागरिकताको प्रमाणपत्र नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । पतिको मृत्यु भइसकेको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । यस्तो नागरिकता लिन पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जना उपस्थित भई सनाखत गर्नुपर्नेछ ।

नियमावलीले नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयले त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने र निवेदकले पेस गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा राख्नुपर्ने व्यवस्था पनि गरेको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार नागरिकता प्रमाणपत्रको अभिलेख तथा नम्बरलाई व्यवस्थित गर्न जिल्लागत र कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा नागरिकता नम्बर कायम गरिनेछ ।

त्यसैगरी, नाबालक परिचयपत्र हराएमा, च्यातिएमा वा आगलागी तथा पानीका कारण नष्ट भएमा प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि नाबालक वा निजका बाबु वा आमाले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछन् ।

नागरिकता प्रमाणपत्रसम्बन्धी कामका लागि स्थानीय तहले दिएको सिफारिस ३५ दिनसम्म मान्य हुने व्यवस्था पनि संशोधित नियमावलीमा छ । नेपाल नागरिकता ऐन, २०६३ को अधिकार प्रयोग गरी सरकारले जारी गरेको उक्त नियमावली तुरुन्त प्रारम्भ हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १० : ३३ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु