काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघले जोडदार माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि भएको यस प्रकारको प्रेसविरोधी कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
तस्करीसम्बन्धी समाचार प्रकाशित भएपछि कार्यालय र घरमै पुगेर धम्की दिएपछि महासंघले आपत्ति जनाएको हो ।
समाचारमा चित्त नबुझे त्यसको विधिसम्मत समाधान खोज्ने वैधानिक बाटो हुँदाहुँदै पत्रकारलाई कार्यालय र घरमै गएर तर्साउनु र धम्क्याउनु अत्यन्तै निन्दनीय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ।
महासचिव दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिएका छन् ।
‘अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने ।
प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत छन्। उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।














प्रतिक्रिया