झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता « Khabarhub

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता



काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापालाई यो निर्वाचनको इपिसेन्टर भनिएको छ।

खासगरी ओलीसँग झापा क्षेत्र नम्बर ५ मा भिड्न काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह पनि पुगेपछि माहोल तातेको हो ।

झापा ५ जस्तै माहोल अहिले झापा २ पनि छ । यो क्षेत्रमा पनि प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धा रोचक देखिएको छ।

यो क्षेत्रमा पनि चर्चित नेताबीच भिडन्त हुँदैछ। मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारहरूबीच यहाँ कडा टक्कर छ ।

पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट उठेकी रास्वपाकी इन्दिरा राना मगर र २०७९ को निर्वाचनका उपविजेता राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत)लाई मतदाताले चासोसाथ हेरेका छ्न् ।

इन्दिरा उठ्नुअघि यहाँ निशा डाँगीको चर्चामा थियो । तर उनले टिकट नपाएपछि रानामगरलाई पार्टीभित्रैबाट बलियो साथ मिल्नेमा आशंका छ । स्वतन्त्रदेखि दलका कार्यकर्तासम्म रानाको पक्षमा खुलेर लागे पनि डाँगीको असन्तुष्टिले असर गर्न सक्ने सम्भावना छ ।

एमाले उम्मेदवार तथा २०७९ का विजेता देवराज घिमिरे संगठित सदस्यबाटै अन्तरघात भोग्नुपर्ने अवस्थामा देखिन्छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण विवादित हुन पुगेका छन् । २०७४ र २०७९ को एमालेको साख फर्काउन उनलाई निकै चुनौती छ।

माओवादीको लहर चलेको बेला २०६४ को निर्वाचनमा विजयी नेकपाकी धर्मशीला चापागाईं र २०७९ को कांग्रेसबाट समानुपातिक सरिता प्रसाईंको चर्चा पनि राम्रै छ ।

तर नेकपाका पुराना नेताहरू धर्मशीलाको उम्मेदवारीप्रति असन्तुष्ट छन् । पार्टीभित्रबाटै उनलाई अन्तर्घात हुने सम्भावना छ। सरिता २०७० को नतिजा फर्काउने दाउमा छिन्।

यी सबै उम्मेदवारसँगै प्राध्यापक डाक्टर युवराज संग्रौला पनि मैदानमा छन् । झापालाई आर्थिक रूपमा सक्षम र सबल बनाउँदै उद्योगसँग जोड्ने योजनासहित उम्मेदवारी दर्ता गराए पनि उनलाई नेकपा एमालेकै डमी उम्मेदवार भनिँदैछ ।

एमालेका एक स्थानीय नेताका अनुसार उनलाई ओलीसँग असन्तुष्ट अग्नि खरेल लगायतले उम्मेदवार बनाएको हो। संग्रौलालाई पुराना कम्युनिस्ट तथा माओवादीकै नेताहरूको पनि साथ छ ।

काङ्ग्रेसका केही नेताहरूको पनि भोट संग्रौलाले काट्नेछन्। ‘एमाले हराऊ अभियान चलाउने योजनासहित संग्रौलालाई उठाइएको हो’, एमालेका ती स्थानीय नेता भन्छन्, ‘युवराजजीले नजिते पनि एमालेलाई पक्कै हराउनुहुन्छ ।’

तीन प्रभावशाली महिलाले तीन पुरुषसँग प्रतिस्पर्धा गर्दा यहाँका मतदाता पुरानाप्रति निराशा र नयाँप्रति भरोसा देखाइरहेका छ्न् । मतदाताले पटक-पटक पुराना दललाई हेरेकाले अब नयाँलाई हेर्ने उत्साह देखिएको छ । यसैकारण झापा २ को निर्वाचनमा कसको पल्लाभारी हुन्छ भन्ने विश्लेषण गर्न हतार हुन सक्छ।

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

के भन्छन् उम्मेदवार ?

सबै उम्मेदवार अहिले अभियानमा छन् । परीक्षणको कसीमा रहेकी पूर्वउपसभामुख रानामगरले आक्रमक शैलीमा प्रचार गरिरहेकी छन्। मगर आफ्नो भूगोल र जनताले विश्वास गरेकाले जित्ने दाबी गर्दै आएकी छन्।

‘प्रत्यक्ष राजनीतिमा न होमिए पनि यहाँका जनतासँग लामो समयदेखि परिचित छु। मेरा बच्चाको हकहित र अधिकारका लागि उहाँहरूले ठूलो सहयोग गर्दै आउनु भएको छ। पार्टीले नउठ्नु भने पनि मतदाता र शुभेच्छुकको माया लागेर आएँ, अहिले उम्मेदवार भएँ’, राना मगर भन्छिन, ‘यस क्षेत्रमा आर्थिक कमजोरदेखि आर्थिक हैसियत गतिलो भएका पनि बस्नुहुन्छ । उहाँहरूले मलाई सहयोग गर्नुभएको छ।’

उनले यो क्षेत्रमा मुआब्जा वितरण र निर्माण थालिएका सडकले पूर्णता दिन पटकपटक आवाज उठाएको बताइन् । ‘उहाँहरूले यसपटक मलाई चुनेर थप जिम्मेवारी दिनुहुनेछ भन्नेमा म ढुक्क छु । घरदैलोमा मप्रति उत्साहित हुनुभएको छ’, उनले भनिन्।

नेकपाकी उम्मेदवार धर्मशीला पनि इमान्दार कम्युनिस्ट भएकाले यहाँबाट जित्ने दाबी गर्छिन्। ‘मेरो उम्मेदवारीले यहाँ धेरै उत्साह आएको बुझेको छु। यहाँको स्थितिबारे जानकारी लिँदै नेतृत्वसम्म पुर्‍याएकी छु । सडक निर्माण, मुआब्जा, पुल लगायतको समस्याबारे काम गरेकै छु’, उनी भन्छिन्, ‘म निर्वाचित भए विकास निर्माणलाई गति दिन्छु । यसअघि पनि यहाँका जनतासँग रहेर गरेकाले मलाई विश्वास गर्नेमा ढुक्क छु। संविधान निर्माणमा लाग्दा त्यसबेला विकासका धेरै काम गर्न पाइनँ । यो कुरा बुझाएको छु ।’

उनीहरूसँगै कांग्रेस नेतृ प्रसाईं पनि उत्तिकै खटेकी छन् । कांग्रेसको गढ भए पनि एमालेले यहाँबाट फाइदा उठाउँदै आएको छ । तर यस पटक नयाँ नेतृत्वसहित कांग्रेस परिमार्जित भएकाले आफूले जित्ने प्रसाईंको भनाइ छ। २०७० को संविधानसभा चुनावमा जितेको कांग्रेसले ०७४ र ०७९ मा हार्नुपरेको थियो । तर दुई हारको पीडा यस पटक भुलाउने उनी बताउँछिन् ।

‘यहाँका मतदाता आदरणीय दाजुभाइ दिदीबहिनीले एकदमै धेरै माया गर्नुभएको छ। नजित्ने भन्ने कुरामा कुनै शंकै छैन । आफ्नै उम्मेदवार भएकाले उहाँहरू उत्साहित हुनुहुन्छ’, सरिता भन्छिन, ‘हाम्रो पार्टीका सभापति नै ऊर्जाशील र क्षमतावान व्यक्ति भएकाले यसपटक कांग्रेसलाई हेर्ने योजना बनाउनुभएको छ। झापा २ मा कांग्रेसका मतदाता मात्रै होइन, सबै मतदाताको मनमा गगन थापा र कांग्रेसपछि आशा देखिन्छ। हामीलाई जित्न कठिन छैन।’

यस क्षेत्रमा एमालेले मदन भण्डारी राजमार्ग बनाउन महत्वपूर्ण भूमिका खेलेको जस लिने गरेको छ। ०७९ मा निर्वाचित घिमिरे आफू इमान्दार नेता भएको र यहाँको विकासमा पहिलेबाटै निरन्तर खटिरहेकाले अरूलाई चुन्ने कुरामा आफू विश्वस्त नरहेको जानकारी बिहीबार झापाको बुद्ध शान्ति-१ स्थित मतदाता भेट्ने क्रममा गराएका थिए।

एमालेले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोप यहाँका स्थानीयले पनि लगाउँदै आएका छन्। । त्यसकारण यहाँका पुराना एमालेहरू पनि मत फेर्ने पक्षमा देखिन्छन्। यसैले घिमिरेलाई जोखिम छ ।

झापा-२ का मतदाता युवनाथ अधिकारी यसपटक मत बदल्ने सोचमा रहेको बताउँछन्। ‘पटकपटक एमाले-काङ्ग्रेसलाई हेरियो, यसपटक मत बदल्ने सोच गरिएको छ। नेताहरूको खिचातानीकै कारण नेपालीको जीवनस्तर उक्सिन सकेन। एकपटक अरुलाई हेरौँ’, एमालेका संगठित सदस्य अधिकारी भन्छन्, ‘३०-३५ वर्षसम्म पुराना दलले केही नगरेपछि आशै मरेको अवस्था छ। हाम्रा छोरा-नाति विदेश पलायन हुनुपर्ने अवस्था छ। नयाँले केही गर्ने आशमा यसपटक हेर्ने योजनामा छौँ। मत परिवर्तनपछि नयाँले राम्रो काम गरे पार्टी नै फेर्ने सोच बनाएको छु ।’

चर्चित दलबाहेक अन्यले पनि यहाँ उम्मेदवारी दिएका छन्। झापा २ मा ५ जना महिला उम्मेदवार हुँदा संघीय लोकतान्त्रिक मञ्चबाट अमृता लावती र नेमकिपाबाट चन्द्रकुमारी गेरू मैदानमा छिन्। यहाँ मिश्रित समुदायको बसोबास हुँदा साना दलले पनि भोट पाउने अवस्था छ। निर्णायक भिडन्त मुख्य चार दलबीचमै प्रतिस्पर्धा हुने आकलन गरिन्छ।

यता स्वतन्त्र उम्मेदवार संग्रौला देशमा रोजगारहीन अर्थतन्त्रलाई उत्पादनमूलक बनाउने अभियानसहित झापा २ बाट उम्मेदवारी दिएको दाबी गर्छन्।

‘देशको रोजगारहीन अर्थतन्त्रलाई उत्पादनमूलक बनाई विदेशिनुपर्ने बाध्यताविरूद्ध लड्छु। झापाबाट औद्योगीकरणको अभियान निर्माण गर्न चाहन्छु। म नागरिकको आवाज बन्न चाहन्छु’, उनले भने ।

संग्रौलाको उम्मेदवारीले एमालेसँगै, कांग्रेस, माओवादी र राप्रपालाई समेत तनाव दिएको देख्न सकिन्छ ।

मतदाताको अलमल, स्वागतलाई सहानुभूति

खुकुरी चुनाव चिह्न लिएर उम्मेदवार बन्दा स्वागतले ०७९ मा कांग्रेसको असन्तुष्ट पक्ष र एमालेको केही मत तानेका थिए । अर्कातिर स्वतन्त्र मत काटेर उनी दोस्रो भएका थिए।

त्यसबेला माओवादीका हरि रानालाई टिकट दिएको भन्दै कांग्रेसका संगठित सदस्यदेखि पुराना नेताहरूले स्वागतलाई मतदान गरे। यसपटक स्वागतलाई क्रस भोट आउने सम्भावना छैन । बरु एमाले र कांग्रेसको असन्तुष्ट पक्षले रास्वपा उम्मेदवार राना र स्वतन्त्र संग्रौलालाई मत हाल्ने देखिन्छ ।

तर स्वागत भने एक महिनाको तयारीमै ०७९ को निर्वाचनमा झन्डै आफू विजयी भएकाले यसपटक समस्या नभएको दाबी गर्छन्। संग्रौलाले सहयोग गरेमा रानाले झापा २ बाट जित्ने अड्कल स्थानीयले गरेका छन् ।

कांग्रेसका निष्क्रिय समर्थकको मत पाएर दोस्रो स्थान हासिल गरेका स्वागतलाई यसपटक चुनौती छ। स्थानीय मतदाता अर्विन योञ्जन भन्छन, ‘रास्वपाबाट उठेको भए स्वागतजीको जित सुनिश्चित थियो । राप्रपालाई पत्याउने अवस्था छैन।’

कांग्रेसले पनि लामो समय सक्रिय इमान्दार नेतृ सरिता प्रसाईंलाई उठाएको छ। माओवादीले आफ्नै उम्मेदवार अगाडि सार्दा एमालेको असन्तुष्ट मत युवराज र घण्टीमा जाने देखिन्छ । बालेनको प्रभाव देखिएकाले यहाँका मतदाताले मत बदल्न खोजिरहेका छन् ।

ग्रामीणसँगै सहरी क्षेत्रसमेत जोडिने झापा २ मा अहिलेसम्म बहु्मत मतदाता अलमलमा छन् । यहाँका व्यवसायीको अड्कल भने छुट्टै छ। ‘झापा २ मा मतदाता अलमलमा छैनन्। कांग्रेसका असन्तुष्टले रास्वपामा मतदान इन्दिराको जित निश्चित देखिन्छ। एमालेका असन्तुष्टले युवराज, स्वागत र इन्दिरालाई मतदान गर्ने देखिन्छ’, बुधबारे क्षेत्रका व्यवसायी रमन पौडेल भन्छन्, ‘एमालेको लहर छैन । कांग्रेस, रास्वपा र राप्रपामध्ये एउटाले दाउ मार्छ ।’

उनी नेकपाको संगठन राम्रो नभएकाले प्रतिस्पर्धामा आउन नसक्ने बताउँछन् । व्यक्तिगत मत स्वागतले काट्ने सम्भावना भए पनि राप्रपा रोजेकाले त्यो पनि कमजोर भएको उनको बुझाए ।

समानुपातिकमा मत परिवर्तन गरेर २०७९ मै रास्वपालाई यहाँका मतदाताले दोस्रो दल बनाएका थिए। त्यसबेला रास्वपाबाट चर्चित उम्मेदवार नहुँदा स्वागतले फाइदा लिएका थिए ।

०७९ को गणित

०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार स्वागत नेपाल झिनो मतले पराजित भए। उनी अहिले राप्रपा नेपालबाट उम्मेदवार छन्। यस पटक राप्रपालाई त्यति सजिलो छैन ।

यहाँका मतदाता स्वागतले राप्रपा गएर गल्ती गरेको बताउँछन् । ‘रास्वपा गएर या स्वतन्त्र उम्मेदवार दिनुभएको भए उहाँको जित हुने थियो । राप्रपा रोजेर उहाँले गल्ती गर्नुभयो’, अर्जुनधाराका सलिन मेचे भन्छिन, ‘उहाँले एमाले र कांग्रेसको भोट काट्न सकेमात्रै जित्न सक्नुहोला तर त्यो अवस्था देखिँदैन।’

२०७९ को निर्वाचनमा एमालेका घिमिरेले २६ हजार ७१६ मतसहित विजयी हुँदा स्वागतको मत २६ हजार ४५५ मत आएको थियो।

तेस्रो स्थानको माओवादी केन्द्रका हरिकुमार रानाको मत १३ हजार ९३० थियो। त्यसबेला रास्वपा रुद्रप्रसाद गिरी उठेका थिए। गिरीले ८७८१ मत पाएका थिए।

समानुपातिकमा एमालेले २६ हजार ४९० मत ल्याउँदा रास्वपा २२ हजार ७१७ मतसहित दोस्रो बनेको थियो। तत्कालीन अवस्थामा कांग्रेसको सहयोगले माओवादी तेस्रो भयो ।

झापा २ मा अहिले १३ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार यहाँका कूल मतदाता सङ्ख्या १ लाख ४७ हजार ५२२ छ ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेकी पवित्र निरौला खरेल विजयी भएकी थिइन्। त्यसबेला कांग्रेसका उम्मेदवार उद्धव थापा पराजित भए । खरेलले ४५ हजार ८१७ मत ल्याउँदा थापाले ३२ हजार ५० ल्याए।

त्यसबेला विवेकशील साझाका नवीन बास्तोलाले ११०५ मत पाए। ०७४ को निर्वाचनमा पवित्रा तत्कालीन नेकपा गठबन्धनकी उम्मेदवार थिइन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा यहाँबाट कांग्रेसका सुधीरकुमार शिवाकोटी जितेका थिए।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ८ : ०० बजे

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ

आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्रीको आह्वान

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको

एमालेसँगको तालमेल गल्ती थियो, यस पटक सबै ढोका बन्द गरिसकेँ : राजेन्द्र लिङ्देन (अन्तर्वार्ता)

काठमाडौं– फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र