काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
शुक्रबार शहीद दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले सहिद स्मारक पुगेर देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
त्यस्तै प्रधानन्यायाधीश, मन्त्रीगण, काठमाडौं महानगरका कार्यवाहक प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।
शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइँदै आएको छ ।
माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका शहीदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने चार शहीद-धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ ।













प्रतिक्रिया