सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने « Khabarhub

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । 

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन थालिएको हो । 

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणका क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधि सेवन गराउन लागेको हो । 

परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपरी गाउँपालिका, पर्सा गाउँपालिका र  हरिपुर्वा नगरपालिकालाई एउटा समूहमा राखेर परीक्षण गरेको हो । 

टोलीका अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट लिएको ३०० नमूनामध्ये २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो । 

त्यसमध्ये पनि राति १२ बजे लिएको २८ जनाको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिए । जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको पाइएको छ । 

‘हात्तीपाइलेका नयाँ बिमारी फेला परेका पालिकामा विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीकै उपस्थितमा आम औषधि खुवाउने काम भइरहेको छ,’ संयोजक झाले भने ।

‘अभियानअन्तर्गत सुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई औषधि खुवाउने तौरतरिकाबारे प्रशिक्षण दिइनेछ, त्यसपछि उहाँहरूलाई घरघरमै पठाएर औषधि खुवाउन लगाउने गरिएको छ । मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन सुरु गरिसकिएको र अन्य पालिकाहरूमा तालिम चलिरहेको छ’, स्वास्थ्य कार्यालय प्रमुख झाले भने । हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षदेखि माथि उमेरका सबैलाई सेवन गराइने उनले बताए ।

बाह्र स्थानीय तहका ८० प्रतिशतले हुन आउने चार लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत बुधबार हात्तीपाइले रोग उन्मूलनसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा शशि बडेलका अनुसार  हात्तीपाइले रोगले शरीरमा गम्भीर क्षति पुर्याउने भए पनि समयमै र नियमित औषधि सेवनले यसको रोकथाम गर्न सकिने छ । 

डा बडेलका अनुसार एक प्रतिशतभन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ । हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भएपछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकको भनाइ छ । रासस
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : ४५ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा