खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ । सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन् ।
साल्पा-सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइराख्न, जैविक विविधताको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष सङ्गीता नाछिरिङ राईले जानकारी दिए।
‘डढेलोका कारण साल्पा–सिलिचुङ वरपरका मुन्दुमी वनस्पती नास हुँदै गएका छन् । यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न तथा प्राकृतिक सम्पदाको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो’, उनले भने, ‘यही जेठ १० गतेदेखि सुरु गरिएको वृक्षरोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । वृक्षरोपणले साल्पा पोखरीको पानी सुक्न नदिन र सौन्दर्यकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।’
केन्द्रको अन्तर्राष्ट्रिय समितिका आर्थिक सहसंयोजक जलवती राईको नेतृत्वमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता थियो । वृक्षरोपणमार्फत किरात ऐतिहासिकस्थल साल्पा पोखरीको मुहानलाई संरक्षण गर्दै साल्पा-सिलिचुङलाई हरियाली र सुन्दर बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा पर्ने मुन्दुमीस्थल साल्पा पोखरी र सिलिचुङलाई संरक्षण र संवर्द्धनका लागि विभिन्न संरचना पनि निर्माण भइरहेका छन् । पछिल्लो समय धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको साल्पा-सिलिचुङ क्षेत्रमा साल्पा-सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले किराती पुर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी)’को प्रतिमा स्थापना गरेको हो ।
साल्पा–सिलिचुङ क्षेत्रमा स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा देश तथा विदेशमा रहेका किराती तथा गैरकिरातीबाट आर्थिक सहयोग संकलन गरिएको रकमबाट निर्माण गरिएको आयोजकले जनाएको छ । औपचारिक कार्यक्रमसहित गत वर्ष स्थापना गरिएको सुम्निमा-पारुहाङ र नछुङको प्रतिमा सरकारका पूर्वमन्त्री सुदन किरातीले अनावरण गरेका हुन्।
साल्पा-सिलिचुङ किरातीको मुन्दुमीस्थल तथा किरात धार्मिक, सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न सुम्निमा(पारुहाङ तथा नछुङको प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए।
उनले भने, ‘किराती मुन्दुम अनुसार साल्पा(सिलिचुङ किरातीको सृष्टि र मुन्दुमको उत्पत्तिको केन्द्र भएको जनविश्वास छ । यसले किरातीलाई सांस्कृतिक रूपले एकतामा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
साल्पा-सिलिचुङको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको समितिले जनाएको छ । समितिले तयार पारेको डिपिआरअनुसार साल्पा–सिलिचुङ परिसरमा सुम्निमा(पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, बाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङखिम तथा मुन्दुम सङ्ग्रहालयलगायतका भौतिक संरचना निर्माण गरिनेछ ।
‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर छरिरहेका नेपाली जोडिएका समितिका अध्यक्ष खिम्बुले जानकारी दिए । उनका अनुसार बृहत् योनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ ।
साल्पा–सिलिचुङको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो । धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती बस्तीहरु प्रष्ट देख्न सकिन्छ ।
साल्पा पोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुन्द्री सतहबाट चार हजार १५५ मिटर अग्लो रहेको छ । सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गालगायतका डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रुपमा स्थापित छ ।
टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने, मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ । किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन् ।
साल्पा पोखरीमा हरेक वर्ष चार पटक (वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा) मेला लाग्दछ । बिना मुहान तथा बिना निकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् ।
साल्पा पोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्नेलगायत धार्मिक जनविश्वास रहिआएका छन् । कचौरा आकारमा फैलिएको साल्पा पोखरी समुद्री सतहबाट तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ ।
नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यही क्षेत्र (साल्पा-सिलिचुङ)सम्म विस्तार गरिएको छ । मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन् ।
प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवम् पर्यटकीयस्थल साल्पा-सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे ९घरबास०समेत विस्तार हुन थालेका छन् ।














प्रतिक्रिया