राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष « Khabarhub

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्षखेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब एक अर्बबराबरको रुद्राक्षको कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने उनले जानकारी दिए । एउटै दानाबाट किसानले लाखौँ आम्दानी लिने गरेको उनको भनाइ छ ।

कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने भएकाले रुद्राक्ष किसानको रोजाइको बाली बन्दै गएको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षबाट वार्षिक रूपमा राम्रो आम्दानी हुन थालेपछि युवापुस्ता यसको खेती तथा व्यवसायमा आकर्षित हुने क्रम बढेको उनले बताए ।

‘राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्’, उनले भने, ‘त्यसैले पछिल्लो समय रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढेको छ ।’

भोजपुरको षडानन्द नगरपालिकमा पर्ने दिङ्ला क्षेत्रका अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम बनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । व्यवसायी सङ्घका अनुसार जिल्लाका ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्षखेतीमा आबद्ध छन् ।

षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने बताए । गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम प्राप्त हुने उनको भनाइ छ । रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ ।

षडानन्दका किसान पुष्पबहादुर तामाङले एउटै बोटमा उत्पादन भएका सबै रुद्राक्षका दानाको मूल्य समान नहुने बताए । उनका अनुसार दानाको मुख, आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताका आधारमा मूल्य निर्धारण हुने गरेको छ । ‘बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन’, उनले भने, ‘स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।’

धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रका एक किसानले रुद्राक्षबाट वार्षिक न्यूनतम एक लाखदेखि अधिकतम ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेपछि किसानले नयाँ बिरुवा लगाउने तथा पुराना बगान संरक्षण गर्ने क्रम बढाएका छन् । व्यावसायिक रूपमा यसको खेती विस्तार हुँदा गाउँमै रोजगारी तथा आम्दानीको अवसर सृजना भएको स्थानीय किसानको भनाइ छ ।

दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् ।

खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ हुँदै चीन र भारतसम्म पुग्ने गरेको छ । भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मुलपानी, केउरेनीपानी, झ्याउपोखरी, साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिको प्याउली, जरायोटार, सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा खेती विस्तार हुने क्रम जारी छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभागमा रुद्राक्षखेती राम्रो हुने बताइन्छ । भोजपुरको भौगोलिक अवस्था तथा हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल रहेकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै धेरै रहेको जानकारहरूको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : २९ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व